काठमाडौं। नेपाल राष्ट्र बैंकले सेयर, घरजग्गा र सवारी कर्जा जोखिम भारसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ।
राष्ट्र बैंकले शुक्रबार ‘क’, ‘ख’ र ‘ग’ वर्गका लागि जारी गरिएको ‘एकीकृत निर्देशन, २०७९’ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो।
चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति जारी गर्दै राष्ट्र बैंकले सेयर धितो कर्जा, रियलइस्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख थियो। मौद्रिक नीतिको सोही व्यवस्थाअनुसार निर्देशिका संशोधन गरिएको हो।
यसअघि सेयर धितोको २५ लाख रुपैयाँभन्दा माथिको कर्जामा १ सय ५० प्रतिशत जोखिम भार रहेकोमा त्यसलाई संशोधन गरी ५० लाखभन्दा माथिको सेयर धितोमा १ सय ५० प्रतिशत जोखिम भार रहने व्यवस्था गरिएको छ।
त्यस्तै यसअघि २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १ सय प्रतिशतसम्म जोखिम भार गणना हुने व्यवस्था रहेकोमा त्यसलाई बढाएर ५० लाखसम्मको सेयर धितो कर्जामा सय प्रतिशतसम्म जोखिम भार गणना गर्ने व्यवस्था गरिएको हो।
नयाँ व्यवस्थाअनुसार सवारी खरिद गर्न बैंक तथा वित्त कम्पनीबाट २५ लाखसम्मको व्यक्तिगत कर्जा लिँदा त्यसको जोखिम सय प्रतिशत कायम गरिएको हो भने २५ लाखभन्दा माथिको सवारी कर्जा लिँदा १ सय ५० प्रतिशत कायम गरिएको छ।
यसैगरी विभिन्न संस्था तथा विकास आयोजनाको जग्गा प्राप्तिका लागि जग्गा धितो कर्जामा सय प्रतिशत जोखिम भार कायम गरिएको छ।
त्यस्तै २ करोड रुपैयाँसम्मका आवासीय घरजग्गा कर्जाको जोखिम भार १ सय ५० र त्यसभन्दा माथिका व्यावसायिक आवासीय घर कर्जालाई सय प्रतिशत जोखिम भार निर्धारण गरिएको छ।