गोरखा। गोरखा सदरमुकामस्थित गोरखा नगरपालिका–७ नयाँबजारमा निर्माणाधीन सिटीहलको काम झन्डै सात वर्ष बितिसक्दासमेत अझै अपूरो छ।
निर्माण कम्पनीले विसं २०७४ माघमा तीन वर्षभित्रमा सम्पन्न गर्ने ठेक्का सम्झौता गरेको सिटीहल निर्माणको काम अहिलेसम्म ६० प्रतिशतमात्र सम्पन्न भएको संघीय आयोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख सुरज पौडेलले बताए।
ठेक्का सम्झौताको चौथोपटक थपिएको म्यादसमेत सकिनै लागेको छ। यसका लागि कार्यालयले कम्पनीसँग ३० करोड ८० लाख ९० हजार ९ सय ३२ रुपैयाँमा काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार कम्पनीले २०७७ माघ १० गतेभित्र कम्पनी काम सम्पन्न गर्नुपर्ने थियो।
‘बेसमेन्ट, फाउन्डेसन निर्माणमा भिरालो जमिनका कारण कठिनाइ भएकाले तोकेको भन्दा बढी समय लागेको र काममा ढिलाइ भएको भएको हो,’ उनले भने, ‘कोरोना संक्रमण र त्यसपछि आर्थिक मन्दीसँगै सभाहलमा ट्रष्टको डिजाइन सुरुभन्दा पछि फरक पर्न जाँदा र डिजाइन परिवर्तन गर्नुपरेकाले ढिलाइ हुन पुगेको हो।’
चौथोपटक थपिएको म्याद सकिन लागेकाले अब अन्तिम पटक म्याद थपका लागि मन्त्रालयमा पठाइएको उनले जानकारी दिए। ‘यदि म्याद थपिएको एक वर्षभित्रमा पूरा हुनुपर्छ,’ एकाइ पौडेलले भने, ‘सबै काम सम्पन्न गर्नका लागि निर्माण कम्पनीले थप एक वर्ष समय मागेको छ।’ गोरखा सदरमुकामको नयाँ बसपार्कमा झन्डै १२ रोपनी जग्गामा सिटीहल निर्माण भइरहेको छ।
उक्त सिटीहल ७ सय ६२ अट्न सक्ने क्षमताको छ। ‘बालकुनेमा २ सय जनाको क्षमता हो भने मुख्य हलमा ५ सय ६२ जनाको क्षमता भएको हल निर्माण गर्न लागिएको छ,’ उनले भने, ‘त्यस हलमा मल्टिप्रपोज हल, बालकुने, इलोक्टोनिक रुम, गार्डरुम र शौचालय बनिसकेको छ।’
अबको एक वर्षभित्रमा सबै निर्माणको काम सम्पन्न गरी सिटीहल गोरखा नगरपालिकालाई हस्तान्तरण गर्ने गरी काम अघि बढाइएको उनले जानकारी दिए। निर्माण कम्पनीलाई पेश्कीस्वरूप झन्डै २२ करोड रुपैयाँ भुक्तानी भइसकेको संघीय आयोजन कार्यान्वयन एकाइ कास्कीले जनाएको छ।
निर्माण कम्पनीका व्यवस्थापक श्रवणकुमार कुशवाहले सबै काम लगभग अन्तिम चरणमा रहेको र बाँकी ‘स्टक्चर’अनुसार काम भइरहेको जानकारी दिए। ‘बेस्टमेन्ट’ र ‘फाउन्डेसन’का कारण ६–७ महिनासम्म पनि काममा गति दिन नसक्दा निर्माणमा ढिलाइ भएको उनको भनाइ छ।