काठमाडौं। व्यावसायिक घराना गोल्छा परिवार र विशाल ग्रुपको स्वामित्वमा रहेको श्रीराम सुगर मिल्स लिमिटेड लिलामी भएको छ। श्रीराम सुगर मिल्सको मेसिनरी उपकरण शिवशक्ति ग्रुपले सकारेको हो।
ग्रुपले शिवशक्ति सुगर मिल्स सञ्चालनमा ल्याउन लागेको छ। श्रीरामको उपकरण किनेर नयाँ मिल्समा जडान गर्न लागेको हो। शिवशक्ति र त्रिवेणी ग्रुपको संयुक्त लगानीमा बारामा रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज लिमिटेड सञ्चालनमा छ।
शिवशक्तिका सञ्चालक राजकुमार अग्रवालले ४३ करोड ६० लाख रुपैयाँमा श्रीराम सुगरका सबै उपकरण सकारेका हुन्। ठेक्का अवार्ड भइसकेको छ। सामान लैजान ३५ दिनको समय दिएको र रकम भुक्तानी दिएर लैजान बाँकी रहेको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले बताए।
शिवशक्ति ग्रुपले न्यूनतमभन्दा बढी प्रस्ताव पेस गरेको छ। ऋण नतिरेपछि नेपाल बैंकले गत जेठ ३२ मा उद्योग लिलामी प्रक्रिया अघि बढाएको थियो। बैंकले साउन ४ मा बोलपत्र पेस गर्न अन्ति दिन तोकेको थियो।
बैंकले लिलाम गर्न लागेको मिल मेसिनरीको न्यूनतम मूल्य ३८ करोड ११ हजार ७ सय ५५ रुपैयाँ तोकेको थियो। श्रीराम सुगरमा नेपाल बैकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चय कोष, हिमालयन बैक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १७ करोड रुपैयाँ ऋण लगानी गरेका थिए। ब्याजसमेत जोड्दा अहिले २६ करोड रुपैयाँ पुगेको छ। उद्योगले बैंकहरूलाई २६ करोड रुपैयाँ ऋण तिर्न बाँकी थियो।
२०४९ साउन १३ गते तत्कालीन गोल्छा अर्गनाइजेसनले स्थापना गरेको श्रीराम सुगर मिल्स २०७७ साउन १२ देखि पूर्णरूपमा बन्द छ।
लगातार नोक्सानमा गएपछि गोल्छा समूहले श्रीराम सुगर बन्द गराएको हो। उद्योग बन्द हुँदा २ अर्ब १७ करोड ७५ लाख रुपैयाँ सञ्चित नोक्सान थियो। उद्योग स्थायीरूपमा बन्द भएको व्यवस्थापनले जानकारी गराएको थियो। सञ्चालन प्रयास भइरहंँदा पनि नोक्सान बढेपछि बन्द गर्नुपरेको उद्योगले जनाएको थियो।
पछि श्रीराममा विशाल ग्रुपले लगानी गरेको थियो। चालु पुँजी जुटाउन उद्योगले १ बराबर ३ अनुपातमा ८९ करोड रुपैयाँबराबरको हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो। हकप्रद सेयर निष्कासन गर्न नपाएपछि अन्त्यमा गोल्छा र विशाल समूहले उद्योग बन्दको निर्णय गरेका थिए।
श्रीरामले सर्वसाधारणलाई सेयर निष्कासन गरेको थियो। श्रीराम नेप्सेमा सूचीकृत उद्योग हो। नेप्सेमा सूचिकृत कम्पनी भए पनि श्रीरामले हालसम्म कुनै पनि त्रैमासिक विवरण सार्वजनिक गरेको थिएन।
उद्योगको ३० लाख ४५ हजार ९ सय ९० कित्ता सेयर नेप्सेमा सूचीकृत छ। कम्पनीको चुक्ता पुँजी ३० करोड ४५ लाख ९९ हजार रुपैयाँ छ। मिल बन्द भएपछि सर्वसाधारणको लगानी जोखिममा छ।
मिलमा सर्वसाधारणको ९ र बाँकी ९१ प्रतिशत संस्थापक लगानीकर्ता गोल्छा परिवारको सेयर छ। कूल ३० लाख ४५ हजार ९ सय ९० कित्ता सेयर छ। जसमध्ये सर्वसाधारणको २ लाख ७४ हजार १ सय ३९ कित्ता छ।
उद्योग रौतहट गरुडा नगरपालिका-६ महम्मदपुरमा छ। उद्योगको नाममा ८० बिघा जग्गा छ।