काठमाडौं। सिटिजन्स बैंकको खुदनाफा १०.४१ प्रतिशत बढेको छ। गत आर्थिक वर्षमा बैंकले २ अर्ब २१ करोड ४४ लाख रुपैयाँ खुदनाफा गरेको छ।
अघिल्लो आर्थिक वर्षमा बैंकको खुदनाफा २ अर्ब रुपैयाँ थियो। एक वर्षको अवधिमा बैंकले २१ करोड रुपैयाँ नाफा बढाएको छ। बैंकको वितरणयोग्य नाफा ९८ करोड ६० लाख रुपैयाँ छ। गत वर्ष १ अर्ब २९ करोड ३८ लाख रुपैयाँ थियो।
गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा यस बैंकको खुद ब्याज आम्दानी १७.३० र सञ्चालन नाफा १३.४२ प्रतिशत सुधार हुँदा खुद नाफा पनि सामान्य बढेको हो।
अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा घटेको छ। बैंकले समीक्षा अवधिमा ५ अर्ब ८५ करोड ७२ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ।
यसबीचमा बैंकले ७३ करोड रुपैयाँ प्रोभिजन गरेको छ। बैंकको खराब कर्जा बढेर ३.१९ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष बैंकको खराब कर्जा २.२२ प्रतिशत मात्र थियो।
बैंकको प्रतिसेयर आम्दानी १५.५९ र र प्रतिसेयर नेटवर्थ १ सय ५० रुपैयाँ छ।
बैंकको निक्षेप लागत ८.३४, आधारदर १०.५१ र ब्याजदर अन्तर ४ प्रतिशत छ। बैंकको सञ्चित कोषको आकार बढेर ६ अर्ब ७ करोड ४७ लाख रुपैयाँ छ। अघिल्लो वर्ष ४ अर्ब ८७ करोड रुपैयाँ थियो।
बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँ छ। सिटिजन्सको निक्षेप बढेर १ खर्ब ६८ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। यस्तै कर्जा प्रवाह पनि बढेर १ खर्ब ४० अर्ब ४० करोड रुपैयाँ पुगेको बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।