काठमाडौं। चालू आर्थिक वर्ष सुरु भएपछि बैंकिङ प्रणालीबाट १ खर्ब २३ अर्ब ९८ करोड रुपैयाँ बाहिरिएको छ। आर्थिक वर्ष सुरु भएको साउनको नौ दिनमै बैंक तथा वित्तीय संस्थाबाट सो निक्षेप बाहिरिएको हो।
साउन २ मा स्थानीयतहको पौने खर्ब बढी रकम सरकारले फिर्ता लिएपछि बैंकिङ प्रणालीबाट ठूलो परिमाणमा निक्षेप घटेको देखिन्छ।
गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले ५७ खर्ब ४० अर्ब २९ करोड निक्षेप परिचालन गरी ४८ खर्ब ५४ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
साउनको ९ गतेसम्म आइपुग्दा निक्षेप संकलन २.४१ प्रतिशतले घटेर ५६ खर्ब १६ अर्ब ३१ करोड रुपैयाँ कायम भएको छ। उक्त अवधिमा कर्जा प्रवाहसमेत ०.०१ प्रतिशतले घटेर ४८ खर्ब ५४ अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ।
त्यस्तै उक्त अवधिमा वाणिज्य बैंकहरूको मात्रै निक्षेप २.६९ प्रतिशत अर्थात १ खर्ब २२ अर्ब २८ करोड रुपैयाँले घटेर ४९ खर्ब ४४ अर्ब १३ करोड रुपैयाँ कायम भएको छ। गत असार मसान्तमा वाणिज्य बैंकहरूमा कूल ५० खर्ब ६६ अर्ब ४१ करोड रुपैयाँ निक्षेप मौज्दात थियो।
त्यस अवधिमा वाणिज्य बैंकहरूको ०.०१ प्रतिशतले कर्जा घटेको छ। असार मसान्तमा वाणिज्य बैंकहरुले ४२ खर्ब ९४ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा साउन ९ सम्म आइपुग्दा घटेर ४२ खर्ब ९४ अर्ब ३९ करोड रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
त्यसैगरी साउनको नौ दिनमा विकास बैंकहरूको निक्षेप संकलन १ अर्ब ८१ करोड रुपैयाँ घटेर ५ खर्ब ६१ अर्ब ४७ करोड रुपैयाँ र कर्जा प्रवाह ५४ करोड रुपैयाँले घटेर ४ खर्ब ६७ अर्ब ९० करोड रुपैयाँ कायम भएको छ।
गत असार मसान्तसम्म विकास बैंकहरूले ५ खर्ब ६३ अर्ब २८ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ६८ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
यस्तै असार मसान्तसम्म वित्त कम्पनीहरूले कूल १ खर्ब १० अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
साउन ९ सम्म आइपुग्दा वित्त कम्पनीहरूको निक्षेप संकलन १ खर्ब १० अर्ब ७१ करोड रुपैयाँ र कर्जा प्रवाह ९१ अर्ब ८५ करोड रुपैयाँ छ। उक्त अवधिमा वित्त कम्पनीहरूको ११ करोड रुपैयाँ निक्षेप थप हुँदा २३ करोड रुपैयाँ कर्जा प्रवाह घटेको छ।