काठमाडाैं। सभामुख देवराज घिमिरेले सामुदायिक विद्युतका अभियानकर्मीहरूलाई स्थानीय तहमा विद्युत खपत हुने उद्योग स्थापना गर्ने काममा लाग्न आग्रह गरेका छन्।
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १९औं स्थापना दिवसका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा उनले समुदायलाई संगिठत गरेर दूरदराजलाई उज्यालो बनाउन गरेको भूमिकाको प्रशंसा गरे।
'दुई वर्षभित्र सबैलाई विद्युत् सेवा पुर्याउने सरकारी नारालाई सार्थक बनाउन महत्त्वपूर्ण काम गर्ने अभियानमा महासंघ क्रियाशील होस्, उत्साहका साथ ग्रामीण जनताका बीचमा उज्यालो छर्नेमा मात्रै होइन, स्थानीय तहमा उद्योग स्थापना गर्ने काममा लाग्नुस्, त्यसका लागि आउने अप्ठ्यारो आफ्नो ठाउँबाट समाधान गर्न लागि पर्नेछु,' सभामुख घिमिरेले भने, 'सामुदायिक हितमा ऐन बनाउने कुरा विधेयकलाई अगाडि बढाउने क्रममा बहस तथा छलफल गर्ने, सरोकारवालासँग आवश्यक समन्वय गर्ने काममा प्रभावकारी भूमिका निर्वाह गर्नेछु।'
पूर्वऊर्जामन्त्री दीपक ज्ञवालीले नेपाल विद्युत प्राधिकरणले गरेको कामभन्दा सामुदायिक विद्युतले गरेको काम सस्तो रहेको बताए। 'आफूसँग भएको विद्युत् सस्तोमा भारतलाई बेचेर महँगोमा किन्ने सरकारी नीति छ, यसले हामीलाई परनिर्भर बनाउँछ। जसले सामुदायिक विद्युतीकरण मासिन्छ,' उनले भने।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री उमेश श्रेष्ठले नेपालको समृद्धिको आधार विद्युत भएको बताए। 'ऊर्जा क्षेत्रको पहिलो आधार विद्युत हो। विद्युतीकरणमा प्राधिकरणले मात्रै सबै काम गर्न सहज छैन, अर्कोतिर नीति नै अप्ठ्यारो छ। यसले समस्या पारिरहेको छ। विद्युतीकरणमा निजी क्षेत्र र समुदायलाई पनि सहभागी गराउनुपर्छ, एक मेगावाटसम्म स्थानीय समुदायलाई दिनुपर्छ,' उनले भने।
उनले पेट्रोल र ग्यास खरिदमा वार्षिक रु तीन खर्ब र कृषिजन्य सामग्री खरिदमा ४ खर्ब रुपैयाँ बाहिरिने उल्लेख गर्दै साना आयोजना सामुदायिक विद्युत संस्थाहरूले बनाउनुपर्ने बताए।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सामुदायिक अभियानले ग्रामीण विद्युतीकरणमा सराहनीय काम गरेको बताए। उनले दुई वर्षभित्र सबैलाई विद्युत् पुर्याउने नेपाल सरकारको उद्देश्यअनुरूप नेपाल विद्युत प्राधिकरणले काम गर्न नसकेको स्थानमा लघुविद्युतका कार्यहरू वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले गरिरहेको जानकारी दिए।
नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक रामजी भण्डारीले विद्युतीकरणमा सामुदायिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको भन्दै सामुदायिक संस्थाले नगरेको भए हालसम्म यति धेरै प्रगति हुँदैनथ्यो भन्ने धारणा राखे। उनले विद्युत खपत बढाउनुका साथसाथै निर्यातमा पनि ध्यान दिनुपर्ने अवस्था रहेको बताउँदै सामुदायिक विद्युत संस्थामार्फत भरपर्दो सेवा दिने प्रयत्न गर्न आग्रह गरे।