काठमाडाैं। गत आर्थिक वर्ष २०७९/८० मा १६ अर्ब रुपैयाँभन्दा बढीको फलफूल आयात भएको छ।
कूल गार्हस्थ उत्पादन (जिडिपी) मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १६ अर्ब ८ करोड रुपैयाँभन्दा बढी रकम फलफूल आयातका लागि बाहिरिएको छ।
७ अर्ब ९ करोडकाे स्याउ आयात
विभागका अनुसार गत आर्थिक वर्षमा ७ अर्ब ९ करोड ४४ लाख ७७ हजार रुपैयाँ मूल्य बराबरको ८ करोड ३२ लाख ७४ हजार ३ सय ३१ केजी स्याउ आयात भएको छ। त्यसबाट सरकारले ८६ करोड ८३ लाख ८९ हजार रुपैयाँबराबरको राजस्व संकलन गरेको छ।
सार्वजनिक विवरणानुसार चीनबाट सबैभन्दा धेरै स्याउ आयात भएको देखिन्छ। चीनबाट मात्र ५ अर्ब १५ करोड ५८ लाख ४५ हजार रुपैयाँबराबरको स्याउ आयात भएको छ। त्यस्तै भारतबाट १ अर्ब ९३ करोड ८ लाख ७८ हजार, अमेरिकाबाट ५० लाख ३४ हजार, स्विजरल्यान्डबाट२७ लाख २० हजार रुपैयाँबराबरको स्याउ आयात भएको विवरण छ।
२ अर्बको अंगुर आयात
गत आर्थिक वर्षमा मुलुकमा २ अर्ब १५ करोड ८८ लाख ७६ हजार रुपैयाँबराबरका ३ करोड ९ लाख ८ हजार १ सय ७२ केजी ताजा अंगुर आयात भएको छ।
त्यसबाट सरकारले ११ करोड १ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरेको छ। ताजा अंगुर सबैभन्दा धेरै भारतबाट २ अर्ब १३ करोड ७६ लाख ६५ हजार रुपैयाँबराबर तथा चीनबाट २ करोड १२ लाख ३ हजार रुपैयाँ बराबरको आयात भएको छ।
केरा आयातबाट एक अर्ब ६२ करोड बाहिरियो
विभागका अनुसार गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ७३ लाख ९९ हजार रुपैयाँबराबरको केरा आयात भएको छ। कूल ५ करोड ३३ लाख ९४ हजार ७ सय ९५ केजी केरा भारतबाट आयात भएको र त्यसबापत सरकारले २९ करोड ४३ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको सार्वजनिक विवरणमा उल्लेख छ।
विभागका अनुसार गत आर्थिक वर्षमा ८९ लाख ४ हजार १ सय २७ केजी अनार आयातमा ९३ करोड ४९ लाख ३५ हजार रुपैयाँ रकम बाहिरिएको छ। जसबाट सरकारले ९ करोड ४९ लाख ९० हजार रुपैयाँ राजस्व उठाएको छ।
सार्वजनिक विवरणानुसार गत आर्थिक वर्षमा ८८ करोड १८ लाख ८४ हजार रुपैयाँबराबरको १ करोड ५४ लाख ८७ हजार ८ सय ८१ केजी सुन्तला आयात भएको छ। त्यस्तै एक करोड ५५ लाख ५१ हजार ३ सय ६८ केजी अम्बा २ सय ८६ केजी खरबुजा आयातका लागि ६८ करोड ९५ लाख ४० हजार रुपैयाँबराबर रकम बाहिरिएको छ ।
नेपालको हावापानी सुहाउँदो फलका रूपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ। विभागका अनुसार गत आर्थिक वर्षमा ८८ लाख ३५ हजार ३ सय ८ केजी मेवा आयात भएको देखिन्छ। मेवाको आयात मूल्य ३० करोड ९० लाख ८१ हजार रुपैयाँबराबर छ।
यस अवधिमा १३ करोड ६२ लाख ५८ हजार रुपैयाँबराबरको ३० लाख ५० हजार आठ सय ९० केजी भुइँकटहर आयात भएको छ भने १५ लाख ६२ हजार ७ सय ३८ किलो नास्पाती आयातमा १२ करोड ३६ लाख २६ हजार रुपैयाँ खर्च बाहिरिएको छ।
त्यस्तै ९ करोड ४५ लाख ७८ हजार रुपैयाँबराबरको २ लाख ५८ हजार ६ सय २८ किलो एभोगाडो आयात भएको छ भने ७ करोड ५२ लाख २१ हजार रुपैयाँबराबरको ४ लाख १० हजार ३ सय २२ किलो किबी आयात भएको छ।