काठमाडौं । गत अक्टोबर ४ मा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्याज नखाने मिडियामार्फत उद्घोष गरिन् । नेपालमा भने कतिपयको भान्सामा त्यसअघि नै ब्याज गायब भैसकेको थियो । जब भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गर्यो । त्यसयता प्याज भान्साको बहुमूल्य खाद्य बस्तु बनेको छ ।
सामान्यतया प्रतिकिलो ४० देखि ५० रुपैयाँको दरमा पाइने प्याजको मूल्य अहिले नेपाली बजारमा मात्र होइन पुरै दक्षिण एशिायली क्षेत्रमा नै आकासिएको छ । कालिमाटी तरकारी बजारमै प्याजको खुद्रा मूल्य २२० र अधिकतम २३० रुपैयाँ पुगेको छ । कालीमाटी बजार बाहिरका खुद्रा पसलमा प्रतिकिलो मूल्य साढे दुई सय हाराहारी पुगेको विकास समितिले जनाएको छ ।
दक्षिण एशियाका मुलुकहरु विशेषगरी नेपाल, बंगलादेश, भारत आफै प्याजको अभावबाट ग्रसित भएका छन् । बाली लगाउने समयमा मनसुन ढिलो सुरु भयो र बाली भित्राउने समयमा अस्वभाविक वर्षा भएपछि दक्षिण एशिया क्षेत्रको प्रमुख प्याज निर्यात गर्ने मुलुक भारतको एक तिहाई उत्पादित नयाँ प्याज ध्वस्त भयो । भारतको सर्वाधिक प्याज उत्पादन राज्यहरु महाराष्ट्र, कर्नाटक र तेलंगानामा प्याजको बाली उठाउने समयमा भारी तथा असामयिक वर्षा भएपछि प्याज उत्पादन प्रभावित भएको हो ।
अक्टोबर १ देखि नोभेम्बर ६ सम्म महाराष्ट्रमा स्वभाविकभन्दा डेढ गुणा बढिले वर्षा भएको थियो भने कर्नाटकमा अघिल्लो वर्षको भन्दा दुईगुणा र तेलंगानामा ६५ प्रतिशत बढि वर्षा भएको थियो । त्यस्तो बेमौसमी बाढिले महाराष्ट्रको प्याज उत्पादन क्षेत्रको एक तिहाई उत्पादित प्याजलाई ध्वस्त बनाएको थियो । भारतको महाराष्ट्र, कर्नाटक, गुजरात, मध्यप्रदेश, राजस्थान, विहार, उत्तर प्रदेश र पश्चिम बंगाल मुलुकले भारतको समग्र प्याज उत्पादनको ९० प्रतिशत हिस्सा ओगेटका छन् ।
गत अक्टोबर महिनाको सुरुवातमा भारतमा प्याजको खुद्रा मूल्य प्रति किलो ६० देखि ८० रुपैयाँसम्म रहेको थियो । ती राज्यका प्याज उत्पादित क्षेत्रहरु वर्षाको पानीका कारण डुबानमा परेपछि किसानहरुले बाली भित्राउन सकेनन् । त्यसपश्चान नासिक जिल्लाको लासानगाउँमा प्याजको होलसेल मूल्य नै १५ दिनमै १२० प्रतिशतले बढ्यो । १९ अक्टोबरमा प्रति किलो २५ रुपैयाँबाट ४ नोभेम्बरमा मूल्य बढेर प्रति किलो ५५ रुपैयाँ पुगेको थियो । लेसलगाउँको होलसेल बजार मूल्यले देशभरीको प्याजको मूल्य मानक हो ।
नयाँ बाली ध्वस्त भएर आन्तरिक अभाव नै देखा पर्ने स्थिति आएपछि भारत सरकारले गत सेप्टेम्बर ३० मा प्याज तथा प्याजजन्य सम्पूर्ण खाद्य पदार्थको निर्यातमा प्रतिबन्ध लगाएको थियो । त्यसयता पुरै दक्षिण एशियाली मुलुक जो प्याज उपभोगिताको लागि भारतसँग निर्भर थियो ती मुलुकहरुले अहिले प्याज अभाव र महंगाईसँग जुधिरहेका छन् ।
कीर्तिपुरमा अध्ययनका लागि बस्दै आएकी सिता भट्टराई प्याजको मूल्य आकासिएसँगै तिहार यता प्याज आफूले प्रयोग नै नगरेको बताउँछिन् । ‘प्याजको खुद्रा मूल्य अहिले २ सय भन्दा बढी छ कीर्तिपुरमा, महंगाईका कारणले मैले त प्याज नै खान छोडेकी छु ।’ सिता भन्छिन् । प्याजको अभाव अहिले नेपाल एक्लैले मात्र खेपिरहेको छैन । दक्षिण एशियाकै अर्को मुलुक बंगलादेश पनि यो अभावबाट ग्रसित छ । सामान्य समय प्रति किलो ३० टाकामा पाइने प्याजको मूल्य भारतले निर्यात बन्द गरे यता बंगलादेशमा प्रति किलो २६० टाका पुगेको छ ।
प्याज माग र मूल्य आकासिएपछि माग धान्नलाई बंगलादेशले टर्की, म्यानमार, चीन र इजिप्टबाट विमान नै प्रयोग गरी प्याज आयात गरेको छ । प्रधानमन्त्री शेख हसिनाकी सहायक प्रेस सल्लाहकार हसन जाहिदले एएफपीसँग कुरा गर्दै प्याजलाई हवाई माध्यमबाट ढुवानी गरिरहेको बताएका छन् । प्याजको मूल्य महँगीएसँगै प्रधानमन्त्तीले आफ्नो खानामा प्याजको प्रयोग नै गर्न छोडेकी छिन् । उनको अनुसार अहिले ढाकास्थित प्रधानमन्त्रीको निवासमा कुनैमा पनि खानामा प्याजको प्रयोग गरिएको छैन ।
बंगलादेशी मिडियाहरुको अनुसार सरकारले म्यानमार, टर्की, चीन र इजिप्टबाट प्याज निर्यात गरेपछि चित्तागोङ शहरस्थित प्रमुख बन्दरगाहमा प्याज आईपुगेको छ । अहिले बंगलादेशको राज्य संचालित ट्रेडिङ कर्पोरेसन अफ बंगलादेश टीसीबीमा २५० टाका मूल्यको प्याजको सट्टा सस्तो प्याज लिनका लागि सरकारी अनुदानको प्याज लिनेको भीड देखिन थालेको छ ।
युएई पनि भारतको निर्यातित प्याजको प्रमुख खपतकर्ता हो । युएई पनि अहिले यो अभाव र महंगाईबाट जुधिरहेको छ । अरु समय ३० दिराम पर्ने २० किलो प्याजलाई अहिले ७० दिराम पर्ने त्यहाँका उपभोक्तालाई उद्धित गर्दै स्थानीय मिडियाले लेखेका छन् । व्यापार विश्लेषकहरुको अनुसार भारी वर्षा र अन्नको बर्बादी अलावा प्याजको नाटकीय मूल्य वृद्धिको पछाडी चाड पर्वको समय अघि प्याजजस्तो खाद्य बस्तुको अवैध होर्डिङ (कालान्तरमा बढि फाइदा लिनका लागि अभावजन्य बस्तुको भण्डारन गर्ने अवैधानिक प्रवृति) पनि एउटा कारण रहेको बताउँछन् ।
दक्षिण एशिया क्षेत्रको प्याज निर्यातकर्ता भारतले पनि गत हप्ता बढ्दो प्याज मूल्यलाई रोक्न १ लाख टन प्याज आयात गर्न लागेको घोषणा गरेको थियो । बंगलादेशले विमानबाटै इजिप्ट, चीन लगायत मुलुकबाट प्याज आयात गरिरहेको छ भने भारतले पनि चीन र पाकिस्तानबाट प्याज आयात गरिरहेको छ । नेपालमा भने भारतको इन्दौर, नासिकमा स्टक भएको पुरानो प्याज निर्यात भईरहेको छ ।
चीनबाट हुने निर्यातले केही मागलाई धानेको छ तर भारतबाट नयाँ प्याजको स्टक नआएसम्म मूल्य वृद्धि कायम नै रहने नेपालका तरकारी आयातकर्ताहरु बताउँछन् । देशकै प्रमुख प्याज उत्पादक राज्य महाराष्ट्रमा लगातारको वर्षाले प्याज ध्वस्त बनाए पनि राजधानी दिल्लीमा भने अहिले प्याजको अभाव् छैन । राजस्थान राज्यको प्याज दैनिक दिल्लीमा हजार टन आपूर्ति हुने गर्छ । तर मूल्य भने उस्तै महंगो छ ।
लासालगाउँ नासिकमा भारी वर्षाले नयाँ प्याज ध्वस्त बनाए पनि वितेको ५, ६ महिना अघि किसानहरुले भण्डारन गरेको पुरानो प्याज भने नयाँ प्याजभन्दा धेरै रहेको छ । कार्तिक महिनाको अन्तिम बिहीबार लासालगाउँमा औसत ४० रुपैयाँ प्रति किलो दरमा पुरानो प्याज १६० ट्रक र नयाँ प्याज ६ ट्रक आपूर्ति भएको थियो । १९८० मा भारतीय पूर्व प्रधानमन्त्री इंदिरा गान्धी प्याजको बढ्दो मूल्य सरकारको आर्थिक असफलताको संकेत रहेको मूद्दा उठाएर शक्तिमा आएकी थिइन् ।
त्यो मामिलाले १९९८ को राज्यको निर्वाचनमा पनि बर्चस्व जमाएको थियो र फेरी पछि २०१० मा पुन ः राजनीतिक संकटको एउटा कारण बनेको थियो । महाराष्ट्रका एक प्याज निर्यातकर्ता डेनिस शाह, उपभोक्ताले प्याजको सस्तो मूल्य प्राप्त गर्नका लागि नयाँ वर्षसम्म कुर्नु पर्ने बताउँछन् । २०१८ मा सबैभन्दा धेरै प्याज निर्यात गर्ने मुलुकहरुमा नेदरल्याण्ड पहिलो स्थानमा आएको थियो भने चीन दोस्रो यस्तै छिमेकी मुलुक भारत चौथो स्थानमा रहेको थयो ।
पाकिस्तान पनि दक्षिण एशियाली क्षेत्रबाट उदाउँदो प्याज निर्यातकर्ता मुलुकको सूचीमा परेको छ । भारत र बंगलादेश स्वयम् अहिले चीनको प्याजमा निर्भर रहेको स्थितिमा प्याजको मूल्य समायोजनका लागि चीनको रातो प्याज एउटा आधार बन्न सक्छ । चीन विश्वको दोस्रो ठूलो प्याज निर्यातकर्ता मुलुक हो । उसले आफ्नो पहेलोँ प्याज युरोप तथा रातो प्याज दक्षिण एशिया र मध्यपूर्वी क्षेत्रमा निर्यात गर्दै आएको छ ।
( क्यापिटल म्यागजिनबाट )