काठमाडौं। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि सेयर बजार निरन्तर ओरालो लागेको छ। आइतबार बढेको बजार सोमबारदेखि निरन्तर ओरालो लाग्दै आएको छ।
बिहीबार सेयर बजार २९.७१ अंक घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २१ सय २६.४८ अंकमा झरेको छ। बिहीबार २ सय ७१ कम्पनीहरुको २ अर्ब ४२ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
बिहीबार १६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ९३ वटाको घटेको छ। बाँकी ९ वटाको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
बजार निरन्तर ओरालो लागे पनि शिवम सिमेन्ट लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ।
शिवमको १० करोड ५७ लाख रुपैयाँभन्दा बढी सेयर किनबेच भएको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड र प्रोग्रेसिभ फाइनान्स लिमिटेडको कारोबार भएको छ।
बिहीबार एनआइसी एसिया फिक्सड क्याप,मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, इमर्जिङ नेपाल लिमिटेड र अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन्। सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
यस्तै किसान लघुवित्त वित्तीय संस्था, प्रोगेसिभ फाइनान्स, माइखोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले गुमाएका छन्। सेयर मूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।
बजारको अवस्था हेर्दा सेयर लगानी गर्ने लगानीकर्ता राष्ट्र बैंकको सर्कुलरको पर्खाइमा रहेको देखिएको छ। सर्कुलर आएपछि मात्र सेयर बजारले बाटो तय गर्ने लगानीकर्ताहरुको भनाई छ।
बिहीबार अन्तिम समयमा आएर सेयर बिक्रीको चाप बढेको देखिएको छ। बुधबारको कारोबार हेर्दा बजार केही सम्हालिन खोजेको देखिए पनि बिहीबार दोहोरो अंकले बजार घट्यो। लगानीकर्ताको मनोबल झनै कमजोर हुन पुगेको देखिन्छ।