काठमाडौं। बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडा समायोजन भएको छ।
पेट्रोलियम पदार्थको मूल्य घटेपछि सार्वजनिक सवारीसाधनको भाडा घटेको हो।
प्रदेशभित्र सञ्चालन हुने लामो दुरीका सवारीसाधनमा २.३०, मालवाहक सवारीसाधनमा ३.१८ र सहरी क्षेत्रमा चल्ने सवारीसाधनको भाडा ३.२६ प्रतिशत घटाइएको श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमतीका प्रवक्ता खगेन्द्र पौडेलले जानकारी दिए।
गत साउन १० गते मन्त्रालयले भाडा समायोजन गर्ने निणर्य गरेको थियो। मुख्यमन्त्री कार्यालयले स्वीकृत गरेपछि आजदेखि लागू हुने गरी भाडा घटेको हो।
अरू गाडीको भाडा घटे पनि ट्याक्सीको भने तत्काल कुनै निणर्य भएको छैन। ट्याक्सी भाडा समायोजन गर्न सरोकारवाला निकाय, व्यवसायीसँग छलफल गरिने मन्त्रालयले जनाएको छ।
भाडा समायोजनको कुरा वैज्ञानिक हुनुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाको बताउछन्।
‘भाडा घटाउने र बढाउने कुरा कसैले निणर्य गरेर हुनेभन्दा पनि स्वचालित हुनुपर्छ,’ उनले क्यापिटल नेपालसँग भने, ‘भाडा स्वचालित भए महंगीअनुसार आफैं बढ्ने घट्ने हुन्छ र कुनै झन्झट हुदैन।’
भाडा समायोजन गर्न इन्धनलाई मात्र आधार बनाउन नहुने उनको तर्क छ।
‘भाडा समायोजन गर्न इन्धनले ३५ प्रतिशत हिस्सा ओगट्छ भने ६५ प्रतिशत अन्य इकाई छन्। इन्धनले मात्र गाडी चल्छ र?। सरकारले महंगी हेरेर सबै इकाई अध्यन गरेर वर्षमा एकपटक समायोजन गर्नुको सट्टा सस्तो लोकप्रियताका लागि इन्धनको मूल्य घट्नासाथ भाडा घटाउन लागेको हो,’ उनले भने।
नेपाल आयल निगमले असारमा दुईपटक इन्धन भाडा घटाइसकेको छ। निगमले असार १८ र ३१ गते इन्धन मूल्य घटाएको थियो।
इन्धनको मूल्य घटेपछि यातायात व्यवस्था विभागले पनि अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा घटाएको थियो।
विभागले यात्रुवाहक सवारीसाधनमा २.१३ प्रतिशत, पहाडमा चल्ने मालवाहकमा २.७८ र तराइमा चल्ने मालवाहकको ३.०९ प्रतिशतले भाडा घटाएको थियो।
प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्ने अधिकार प्रदेशअन्तर्गतका मन्त्रालयलाई हुने भएकाले श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा समायोजन गरेको हो।