काठमाडौं। राष्ट्रिय किसान सञ्जालले मुलुकभरि पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग गरेको छ।
साथै, रोगको शीघ्र नियन्त्रण, पशुवस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र बिमाको भुक्तानी दिन पनि सञ्जालले माग गरेको छ।
सञ्जालले आज पत्रकार सममेलन गरी उक्त माग पूरा नभए किसानले चक्काजामलगायतका विरोधका कार्यक्रम गर्ने जनाएको छ।
सञ्जालका संयोजक एवं नेपाली कांग्रेस निकट नेपाल किसान महासंघका सभापति गणेशचन्द्र तिमिल्सिनाले लम्की स्किनका कारण देशभरिका किसान मारमा परेको बताए।
नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले हालसम्म उक्त रोगका कारण ५० हजार पशु मरिसकेका र करिब ४० अर्ब रुपैयाँको क्षति भइसकेको जनाउँदै नियन्त्रण नभएमा १ अर्ब रुपैयाँसम्म क्षति हुनसक्ने बताए।
सञ्जालले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका ‘स्टल’लाई प्रक्रियाबमोजिम प्रतिस्पर्धाका माध्यमबाट भाडामा लगाउन पनि माग गरेको छ।
सञ्जालले हरेक दिन समितिको परिसरमा धर्ना दिँदै आएको छ। सञ्चालले गत असार २४ गते कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाललाई भटेरे ती विषयमा ध्यानाकर्षण गराएको थियो।
यस्तै सञ्जालले किसानलाई आवश्यकपर्ने रासायनिक मलको सहज प्रबन्ध गर्न, कृषि बिमाबापतको रकम निकासामा भएको ढिलाइको छानबिन गर्नुपर्नेलगायत माग अघि सारेको छ। सञ्जालमा विभिन्न नौ किसान संगठन आबद्ध छन्।