काठमाडौं। व्यवसायिक घरना काब्रा ग्रुपले सञ्चालन गरेको क्वालिटी आयल रिफाइनरी प्रालिको तेल व्यापारमा उछाल आएको छ। एक वर्षमा उद्योगको तेल व्यापार १ सय ३२ प्रतिशत बढेर ६ अर्ब ५० करोड ८० लाख रुपैयाँ पुगेको छ।
२०२१ मा उद्योगको तेल व्यापार २ अर्ब ८० करोड ९० लाख रुपैयाँ थियो। एक वर्षको अवधिमा उद्योगको तेल व्यापार झण्डै ४ अर्ब रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ। क्वालिटीले २०२० मा १ अर्ब ८४ करोड ७० लाख रुपैयाँ व्यापार गरेको थियो।
११ महिनामा उद्योगले ४ अर्ब ८१ करोड ६० लाख रुपैयाँ तेल व्यापार गरेको छ। यसमा निर्यातको हिस्सा ५२ प्रतिशत छ। उद्योगले कच्चा सनफ्लावर, पामआयल र भटमास अर्जेन्टिना, ब्राजिल, मलेशिया र इन्डोनेसियाबाट आयात गर्दै आएको छ। कूल आम्दानीको ९२ प्रतिशत रकम कच्चा वस्तु आयातमा खर्च हुने गरेको क्वालिटीले जनाएको छ।
डलरको मूल्यमा आएको उतारचढावले गर्दा उद्योगको दायित्व बढेको छ। एक वर्षमा ३ करोड २० लाख रुपैयाँ डलरका कारण घाटा भएको उद्योगले जनाएको छ। २०२१ म ६० लाख रुपैयाँ डलरबाट घाटा भएको थियो।
उद्योगले २ अर्ब ७५ करोड ऋणको रेटिङ गराएको छ।
उद्योले प्रशोधित सूर्यमुखी, पामआयल, भटमास र फ्याट्टी एसिड आयल प्रशोधन तथा व्यापार गर्दै आएको छ। अधिकाँश तेल भारतमा निर्यात हुने गरेको क्वालिटीले जनाएको छ।
२०२२ को तुलनामा यो वर्ष भारतमा खाने तेल निर्यात कूल ६८ प्रतिशत घटेको निकासी घटेको भन्सार विभागको तथ्याँक छ।
सन् २००४ मा स्थापना भएको उद्योगको प्लान्ट मोरङको कटहरीमा छ। उद्योगले सनफ्लावर, पामआयल र भटमासको तेललगायत वनस्पति घिउ पनि उत्पादन गर्दै आएको छ। उद्योगको दैनिक उत्पादन क्षमता ३ सय २० टन छ।