काठमाडौं। राजस्व अनुसन्धान विभाग टोलीले साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद गर्यो।
क्याथे प्यासिफिक एयरमार्फत हङकङबाट चोरबाटो हुँदै नेपाल ल्याइएको सुन भन्सार कटेपछि राजस्व अनुसन्धान टोलीले नियन्त्रणमा लियो। रेडी ट्रेर्डस कम्पनीमार्फत तस्करले सुन ल्याउने गरेको अनुसन्धानबाट खुलेको छ।
उक्त कम्पनीका सञ्चालकहरूसमेत सरकारले नियन्त्रणमा लिइसकेको छ। राजस्वको टोलीले सुन बरामद गरेको भोलिपल्ट विभिन्न व्यवसायी संलग्न रहेको आशंकासहित समाचारहरू आए।
अनाहकमा आफ्नो नाम मुच्छिएको भन्दै व्यवसायी दीपक मल्होत्राले पत्रकारसम्मेल नै गरेर समाचारको खण्डन गरे। उनले आफू सुन तस्करीमा संलग्न रहेको प्रमाणित गर्नसमेत मिडियालाई चुनौती दिए।
त्यसको केही दिनपछि अर्को एक दैनिक पत्रिकाले राकेश अडुकिया सुन तस्करमा संग्लन छन् भन्ने आरोपसहित सामाचार लेखेको थियो। अघिल्लो बुधबार अवैध भित्रिएको सुन नियन्त्रणमा लिएपछि व्यवसायी मल्होत्राको नाम जोडियो।
बुधबार अडुकिया काठमाडौंमै थिए। गत आइतबार एक दैनिक पत्रिकाले अडुकियाको नाम जोडेर समाचार लेखेपछि उनी नेपालबाट भागेका भएका हुन्। मल्होत्राले आफ्नो नाम जोडिएपछि सार्वजनिक खण्डन गरेकै बेला अडुकिया नेपालबाट फरार भए।
अडुकियालाई भगाउन सरकारले नै असम्बन्धित व्यक्तिको नाम जोडेर विषयान्तर गर्यो। अडुकिया सहजै नेपालबाट भाग्न सफल भए। विमानस्थलबाट सुन नियन्त्रण लिएको एक सातापछि बुधबारमात्र अडुकियाको घरमा राजस्वको टोलीले छापा मार्यो। छापा मार्नु ५ दिन अघि अडुकिया नेपालबाट भागिसकेका थिए।
स्रोतका अनुसार उनलाई सरकारले नै भगाएर उनको घरमा छापा मारेको हो। ‘सरकारलाई अडुकियाका बारेमा राम्रोसँग थाहा थियो,’ एक अधिकारीले क्यापिटल नेपालसँग भने, ‘उनीलाई भगाइसकेपछि मात्रै उनको घरमा छापा मारेको हो।’
व्यापारी अडुकिया गत महिनामात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत–दुबई हुँदै हङकङ पुगेका थिए। अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार गत जुन २६ मा त्रिभुवन विमानस्थलबाट अडुकिया भारत गएको देखिन्छ।
त्यतैबाट दुबई पुगेका उनी हङकङबाट पुनः दुबई हुँदै जुलाई ५ मा त्रिभुवन विमानस्थल आएका थिए। हङकङ र दुबईबाट भित्रिएको तस्करीको सुन यसअघि पनि प्रहरी र भन्सारले पटक–पटक बरामद गर्दै आएको छ।
आठ कार्टुनमा ‘ब्रेक सु’ को आवरणमा भित्रिएको क्विन्टल सुन असार २९ मा बरामद हुनुअघि पनि दुई महिनाभित्र रेडी ट्रेडकै नाममा हङकङबाट १ हजार ९ सय ९७ केजी सामान (ब्रेक सु, सेभर र मेकानिकल मोटर) भित्रिएको थियो। जसमा २ हजार ७ सय थान सेभर (दाह्री काट्ने), एउटा मेकानिकल मोटर र १ हजार १ सय ८० थान ब्रेक सु थिए।
यसरी भित्रिएको केही सामान चिनियाँ र भारतीय गिरोह बस्दै आएको घरबाट बरामद हुनु र रेडी ट्रेड अवैध धन्दा चलाउनकै लागि खोलिएको देखिनुले सुन तस्करी संगठित र योजनाबद्धरूपमा भइरहेको सम्बद्ध अधिकारीको भनाइ छ।
सुन ल्याउन अडुकियाको दौडधुप
पछिल्लो समय सुन तस्करीको सुन बरामद हुनुभन्दा केही समय अघि उनले हङकङ, भारत र दुबईको शंकास्पद भ्रमण गरेको बताइएको छ। उनी नेपालमा जन्मेका भए पनि भारतीय नागरिकता र राहदानीवाहक हुन्।
उनले जेड ६३९६४२१ नम्बरको भारतीय राहदानी बोकेर विदेश आउजाउ गरेको देखिन्छ। राकेशले पछिल्लो ६ महिनामा हङकङ जान नयाँ दिल्ली, बैंकक र दुबई रुटसमेत प्रयोग गरेको पाइएको छ।
गत जनवरी १४ तारिखका दिन राति साढे १० बजे क्याथे प्यासिफिकको उडान नम्बर सिएक्स ०६४० बाट हङकङ गएका थिए। एक साता उता बसेर उनी जनवरी २१ तारिखका दिन क्याथे प्यासिफिककै उडान नम्बर सिएक्स ०६०३ मा राति साढे १० बजे काठमाडौं ओर्लिएका थिए।
अप्रिल १३ तारिखका दिन नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१७ बाट मध्यान्ह साढे १२ बजे नयाँ दिल्ली गएका थिए। त्यहाँबाट उतैउतै हङकङ पुगे र अप्रिल १९ तारिखका दिन बैंकक हुँदै थाई स्माइलको उडान नम्बर डब्लुई ०३१९ बाट दिउँसो पौने १ बजे काठमाडौं ओर्लिएका थिए।
अडुकिया सुन तस्करीको सेटिङ मिलाउनकै निम्ति मे २६ तारिखका दिन क्याथे प्यासिफिकको उडान नम्बर सिएक्स ०६४० मा काठमाडौंबाट हङकङ उडेको पाइएको छ। त्यसको पाँच दिनपछि उनी मे ३० तारिखका दिन राति सवा १० बजे सोही एअरलाइन्सको उडान नम्बर सिएक्स ०६०३ बाट काठमाडौं आएको देखिन्छ।
जुन २६ तारिखका दिन नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ०२१७ मा दिउँसो साढे १२ बजे नयाँ दिल्ली हुँदै फेरि हङकङ पुगे। १२ दिनको बसाईपछि जुलाई ५ तारिखका दिन हङकङबाट दुबई हुँदै फ्लाई दुबईको उडानमा मध्यरात काठमाडौं आइपुगे।
थप ११ सय ६२ थान ब्रेक सु बरामद
राजस्वले बुधबार काठमाडौंको सोह्रखुट्टेमा रहेको कम्पनीको गोदाममा छापा मार्दा ११ सय ६२ थान ब्रेक सु बरामद भएको छ। जसमध्ये प्रारम्भिक परीक्षणमा आधाभन्दा धेरै ब्रेक सु खुलेको पाइएको छ। तस्करले सुन झिकेर लगेको हुनसक्ने विभागको आशंका छ। विभागले बरामद भएको ब्रेक सुको परीक्षण गर्न भन्सार विभाग पठाइएको छ।
छापा मारिएको गोदामबाट ब्रेक सुबाट सुन पगाल्ने उपकरण एक थान र सुन तौलिने तुलोसमेत भेटिएको विभागले जनाएको छ। सोह्रखुट्टेको गोदामबाट ६६ वटा प्याकेटमा ११ सय ६२ किलो ब्रेक सु बरामद भएको थियो। रेडी २०७९ चैत १९ गते खुलेको हो।