काठमाडौं। हङकङबाट काठमाडौं भित्रिएको तस्करीको करिव एक क्विन्टल सुन विवादस्पद व्यापारी राकेशकुमार अडुकियाको संलग्नता देखिएको छ। उनीमाथि राजस्व अनुसन्धान विभागले अनुसन्धान अघि बढाएको छ ।
बुढानीलकण्ठस्थित रेडी ट्रेडले ब्रेक सुको आवरणमा क्याथे प्यासिफिकको जहाजमार्फत भित्र्याएको सुन बरामदपछि अनुसन्धान गर्ने क्रममा अडुकियाको संलग्नता देखिएपछि उनी शंकाको घेरामा परेका छन्। सोही आधारमा बुधबार राजस्व अनुसन्धानले उनको कमलपोखरीस्थित निवासमा छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ।
गोरखा डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा मुछिएका र सेयर कारोबारमा विवादास्पद पृष्ठभूमि भएका अडुकिया तस्करीको सुन भारतसम्म पुर्याउन सक्रिय रहेको आशंका राजस्व अनुसन्धानको छ। सुन बरामदपछि अडुकिया अहिले सम्पर्कविहीन छन् ।
विभागको टोलीले बुधबार नै चिनियाँ र भारतीय गिरोह बस्दै आएका ठमेल र लाजिम्पाटस्थित घरमा छापा मारेको छ । ठमेलको एक घरबाट ब्रेक सु उल्लेख गरिएका ६६ कार्टुन बरामद भएको छ।
क्विन्टल सुन भित्रिनुअघि बालुवाटार र लाजिम्पाटमा कोठा भाडामा लिएर बसेका दुई विदेशी एक साताअघि नै पक्राउ परेका छन्। भारतीय नागरिक थुप्तेन छिरिङ र एयर चाइनाबाट चीन भाग्न लागेका चिनियाँ नागरिक ३६ वर्षीय जेक्युयाङ लीनलाई विभागकै टोलीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
सुन ल्याउन अडुकियाको दौडधुप
पछिल्लो समय सुन तस्करीको सुन बरामद भन्दा केहीसमय अघि उनले हङकङ भारत र दुबईको शंकास्पद भ्रमण गरेको बताइएको छ।उनी नेपालमा जन्मेका भए पनि भारतीय नागरिकता र राहदानीवाहक हुन् ।
उनले जेड ६३९६४२१ नम्बरको भारतीय राहदानी बोकेर विदेश आउजाउ गरेको देखिन्छ। राकेशले पछिल्लो छ महिनामा हङकङ जान नयाँ दिल्ली,बैंकक र दुबई रुटसमेत प्रयोग गरेको पाइएको छ।
गत जनवरी १४ तारिखका दिन राति साढे १० बजे क्याथे प्यासिफिकको उडान नम्बर सीएक्स ०६४० बाट हङकङ गएका थिए। एक साता उता बसेर उनी जनवरी २१ तारिखका दिन क्याथे प्यासिफिककै उडान नम्बर सिएक्स ०६०३ मा राति साढे १० बजे काठमाडौं ओर्लिएका थिए।
अप्रिल १३ तारिखका दिन नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१७ बाट मध्यान्ह साढे १२ बजे नयाँ दिल्ली गएका थिए। त्यहाँबाट उतैउतै हङकङ पुगे र अप्रिल १९ तारिखका दिन बैंकक हुँदै थाई स्माइलको उडान नम्बर डब्लुई ०३१९ बाट दिउँसो पौने १ बजे काठमाडौं ओर्लिएका थिए।
अडुकिया सुन तस्करीको सेटिङ मिलाउनैको निम्ति मे २६ तारिखका दिन क्याथे प्यासिफिकको उडान नम्बर सिएक्स ०६४० मा काठमाडौंबाट हङकङ उडेको पाइएको छ। त्यसको पाँच दिनपछि उनी मे ३० तारिखका दिन राति सवा १० बजे सोही एअरलाइन्सको उडान नम्बर सिएक्स ०६०३ बाट काठमाडौं आएको देखिन्छ।
जुन २६ तारिखका दिन नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ०२१७ मा दिउँसो साढे १२ बजे नयाँ दिल्ली हुँदै फेरि हङकङ पुगे। १२ दिनको बसाईपछि जुलाई ५ तारिखका दिन हङकङबाट दुबई हुँदै फ्लाई दुबईको उडानमा मध्यरात काठमाडौं आइपुगे।