काठमाडौं। भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि मूख्यसचिव डा.वैकुण्ठ अर्यालले सरोकारवाला निकायलाई डाकेर भारतको भर नपरी आत्मनिर्भरताको बाटो खोज्न निर्देशन दिएका छन्।
भारतले साउन ४ गते सूचना प्रकाशन गर्दै तत्कालका लागि बासमती बाहेक अन्य चामल निर्यातमा प्रतिबन्ध लगाएपछि मूख्य सचिव डा.वैकुण्ठ अर्यालले सरोकारवाला निकायसँग छलफल गरी आत्मनिर्भरताको बाटो खोज्न निर्देशन दिएका हुन्।
मुख्यसचिव अर्यालले मंगलबार कृषि मन्त्रालय,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य विभाग र खाद्य संस्थानका प्रमुख एवंम प्रतिनिधिलाई चामल निर्यातमा प्रतिबन्ध लागेपछि नेपालमा उत्पन्न हुने समस्या र त्यसकाे समधानका विषयमा चासो व्यक्त गरेका थिए।
उद्योग मन्त्रालयका एक सचिवका अनुसार मुख्यसचिव अर्यालले भारतसँग चामल निर्यात खोल्न अनुरोध गर्नेभन्दा नेपालमै आत्मनिर्भर बनाउने खालका उपाय खोज्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन्। उनले नेपाली बजारमा चामलको मूल्य वृद्धि रोक्न सरकारी संयन्त्रबाट अनुगमनलाई तीव्रता दिनसमेत निर्देशन दिएको ती सचिवले जानकारी दिए।
कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार संजेलले नेपाललाई नै चामल निर्यातमा आत्मनिर्भर बन्नका लागि आवश्यक उपाय अपनाउन निर्देशन दिएको बताए। ‘मुख्यसचिव ज्यूले डाक्नुभएको छलफलमा चामल स्टकका विषयमा अहिलेको अवस्थाबारे जानकारी दिएका छौं,’ प्रवक्ता संजेलले भने, ‘उहाँले निर्यात खुलाउनेभन्दा नेपालीलाई नै आत्मनिर्भर हुने बाटोमा लाग्न निर्देशन दिनुभयो।’
अहिलेको यो निर्यात रोकलाई अवसरका रूपमा लिएर अगाडि बढ्ने तयारीमा जुट्नसमेत सम्बन्धित मन्त्रालयका अधिकारीलाई मुख्यसचिव अर्यालले निर्देशन दिएका हुन्।
पछिल्लो समय नेपालमा चामल खानेको संख्या बढेको छ। मुख्यसचिव अर्यालले चामलमा आत्मनिर्भर बनाउन चामल खाने बानी घटाउने उपायसमेत अपनाउने विषयमा छलफल गरेका थिए।
अहिले प्रतिवर्ष प्रतिव्यक्ति १ सय २१ केजी खानुपर्नेमा अहिले १ सय ३७ केजीसम्म पुगेकोले विस्तारै चामल खाने बानी छुटाएर कार्वोहाइटका लागि मकै, गहुँलगायतका रैथाने बालीको प्रयोग बढाउनुपर्ने स्थिति सिर्जना भएको उनको भनाइ छ।
जसका कारण चामलको माग घट्न सक्ने र नेपाली उत्पादनले धान्न सक्ने अवस्था आउन सक्ने उनले बताए।
उच्चस्तरीय छलफलमा चामलमा आत्मनिर्भर बनाउनका लागि स्थानीय तहसँगको समन्वयमा उच्च जातको धानको बिउ किसानलाई दिएर उत्पादनमा प्रोत्साहन गर्नेदेखि धान उत्पादन क्षेत्रफल बढाउने विषयमासमेत छलफल भएको छ।
अन्तर्राष्ट्रिय बजारले अहिलेको जस्तो समस्या बेलाबेलामा दिइरहने भएकाले दीर्घकालीन समस्या समधानका लागि आत्मनिभर नै प्रमुख आधार भएको निष्कर्ष निकाल्दै यसतर्फ आवश्यक कार्यक्रम बनाएर प्रोत्साहन दिने तयारीसमेत मन्त्रालयले गरिरहेको छ।
बासमती चामल भारतबाट १० प्रतिशत आयात भइरहेको छ। अहिलेकै अवस्थामा मूल्य वृद्धिमा बाहेक खाद्य सुरक्षामा तत्कालै असर गर्ने स्थिति नदेखिएको र नेपालमा पनि धान उत्पादन वृद्धि भइरहेको प्रवक्ता संजेलले जानकारी दिए।
भारतबाट अहिले वार्षिक ६ लाख मेट्रिकटन धान निर्यात भइरहेको छ। नेपालमा वार्षिक करिब १५ देखि २० लाख टन चामल खपत हुँदै आएको छ। त्योमध्ये करिब १० लाख टन उत्पादन हुन गर्छ।