काठमाडौं। त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भई बरामद भएको क्विन्टल सुन तस्करीको आशंकामा राजस्व अनुसन्धान विभागले व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मारेको छ।
पछिल्लो समय सुन तस्करीको सुन बरामद भन्दा केहीसमय अघि उनले हङकङ भारत र दुबईको शंकास्पद भ्रमण गरेको बताइएको छ।उनी नेपालमा जन्मेका भए पनि भारतीय नागरिकता र राहदानीवाहक हुन् ।
उनले जेड ६३९६४२१ नम्बरको भारतीय राहदानी बोकेर विदेश आउजाउ गरेको देखिन्छ। राकेशले पछिल्लो छ महिनामा हङकङ जान नयाँ दिल्ली,बैंकक र दुबई रुटसमेत प्रयोग गरेको पाइएको छ ।
उनको कमलपोखरीस्थित निवासमा विभागले छापा मारेको हो। बुधबार नै तस्करीका संलग्न रहेको आशंकामा सुरेन्द्र तामाङ पक्राउ परेका छन्। क्विन्टल सुन ल्याउने रेडी ट्रेडर्स नामको कम्पनी पनि अडुकियाकै योजनामा खोलिएको आशंका छ।
गत जनवरी १४ तारिखका दिन राति साढे १० बजे क्याथे प्यासिफिकको उडान नम्बर सीएक्स ०६४० बाट हङकङ गएका थिए। एक साता उता बसेर उनी जनवरी २१ तारिखका दिन क्याथे प्यासिफिककै उडान नम्बर सिएक्स ०६०३ मा राति साढे १० बजे काठमाडौं ओर्लिएका थिए।
अप्रिल १३ तारिखका दिन नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१७ बाट मध्यान्ह साढे १२ बजे नयाँ दिल्ली गएका थिए। त्यहाँबाट उतैउतै हङकङ पुगे र अप्रिल १९ तारिखका दिन बैंकक हुँदै थाई स्माइलको उडान नम्बर डब्लुई ०३१९ बाट दिउँसो पौने १ बजे काठमाडौं ओर्लिएका थिए।
अडुकिया सुन तस्करीको सेटिङ मिलाउनैको निम्ति मे २६ तारिखका दिन क्याथे प्यासिफिकको उडान नम्बर सिएक्स ०६४० मा काठमाडौंबाट हङकङ उडेको पाइएको छ। त्यसको पाँच दिनपछि उनी मे ३० तारिखका दिन राति सवा १० बजे सोही एअरलाइन्सको उडान नम्बर सिएक्स ०६०३ बाट काठमाडौं आएको देखिन्छ।
जुन २६ तारिखका दिन नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ०२१७ मा दिउँसो साढे १२ बजे नयाँ दिल्ली हुँदै फेरि हङकङ पुगे। १२ दिनको बसाईपछि जुलाई ५ तारिखका दिन हङकङबाट दुबई हुँदै फ्लाई दुबईको उडानमा मध्यरात काठमाडौं आइपुगे।
उनी आएपछि हङकङबाटै नेपालमा सुन भित्रिएको देखिएको विभागको दाबी छ। शंकाको घेरामा राखेर बुधबार उनको घरमा छापा मारेको हो।