काठमाडौं। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार संघीय राजधानी काठमाडौं सबैभन्दा धेरै जनसंख्या र जनघनत्व भएको जिल्ला हो।
देशका अरू जिल्लाको तुलनामा काठमाडौंमा सबैभन्दा धेरै २० लाख ४१ हजार पाँच सय ८७ जनसंख्या रहेको छ। सबैभन्दा कम जनसंख्या भएको जिल्ला भने मनाङ हो। मनाङको जनसंख्या ५ हजार ६ सय ५८ जना छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनघनत्व प्रतिवर्ग किलोमिटर १ सय ९८ जना छ। दश वर्षअघि अर्थात् २०६८ सालको जनगणनामा जनघनत्व प्रतिवर्ग किलोमिटर १ सय ८० जना थियो। अहिले तराई क्षेत्रमा प्रतिवर्ग किलोमिटर ४ सय ६० र हिमाली क्षेत्रमा प्रतिवर्ग किलोमिटर ३४ जना जनघनत्व रहेको छ।
जिल्लागत रूपमा भने सबैभन्दा धेरै जनघनत्व काठमाडौंमा रहेको छ। काठमाडौंमा प्रतिवर्ग किलोमिटर ५ हजार १ सय ६९ जना रहेका छन्। सबैभन्दा कम जनघनत्व मनाङमा छ।
मनाङमा प्रतिवर्ग किलोमिटर तीन जनामात्रै जनघनत्व रहेको छ। काठमाडौंको जनसंख्या हेर्दा १० लाख ३५ हजार ७ सय २६ जना पुरुष र १० लाख ५ हजार ८ सय ६१ जना महिला रहेका छन्।
काठमाडौंमा प्रतिघरधुरी औसत जनसंख्या तीन दशमलव ७५ जना छ। यहाँको जनसंख्यामा सबैभन्दा धेरै २० देखि २४ वर्ष उमेर समूहका व्यक्तिको संख्या २ लाख २६ हजार ६ सय ६० जना छ।
जुन काठमाडौं जिल्लाको कूल जनसंख्याको ११ दशमलव १० प्रतिशत बराबर हो। त्यस्तै, २५ वर्षदेखि २९ वर्ष उमेर समूहको जनसंख्या २ लाख १५ हजार १ सय २० जना छ। यो जिल्लामा ९० वर्ष माथिका ९ सय ८० जना छन्। काठमाडौं जिल्लामा मात्र ५ लाख ४२ हजार ८ सय ९२ परिवार बसोबास गर्छन्। जसमध्ये ३ लाख ६२ हजार १ सय ४७ परिवारको मूली पुरुष र एक लाख ८२ हजार ७ सय २० परिवारको घरमूली महिला रहेका छन्।
काठमाडौंमा कूल विवाहितको संख्या १७ लाख ८८ हजार ६२ जना छ। जसमध्ये विवाहित पुरुषको संख्या ८ लाख ९८ हजार ३ सय ५२ र विवाहित महिलाको संख्या ८ लाख ८९ हजार ७ सय १० जना रहेको छ।
यहाँ ४६ हजार ९६ विधवा र ९ हजार ७ सय ५५ विदुर रहेका छन्। १ हजार ३ सय ३८ जना पुरुष र २ हजार ८ सय ४४ जना महिलाले पारपाचुके गरेर बसेको तथ्यांकमा उल्लेख छ।
यो जिल्लामा पाँच वर्षभन्दामाथि उमेरका ५२ हजार ९ सय ५२ जना पुरुष र एक लाख ४४ हजार ३ सय ९५ जना महिला गरी कूल १ लाख ९७ हजार ३ सय ४७ जनाले लेख्न र पढ्न सक्दैनन्। १ लाख ४९ हजार ८ सय ६ जना पुरुष र १ लाख ३४ हजार ५६ जना महिलाले प्राथमिक तहको मात्रै शिक्षा लिएका छन्।
खाना पकाउनका लागि काठमाडौंका १० हजार २ सय ७५ परिवारले अहिले पनि दाउरा प्रयोग गर्ने गरेको देखिएको छ। त्यस्तै, ५ लाख २६ हजार ९ सय ३१ परिवारले खाना पकाउने ग्यास, ४ हजार ६ सय ९४ परिवारले बिजुली, ५ सय ६१ परिवारले बायो ग्यास, १ सय ५७ परिवारले मट्टितेल र २ सय ७४ परिवारले अन्य स्रोत प्रयोग गर्छन्।
काठमाडौंका ५ सय ७५ परिवारले शौचालय सुविधा पाउन सकेका छ्रैनन् भने १ हजार ३ सय ५ परिवारले सार्वजनिक शौचालय प्रयोग गर्छन्। काठमाडौं जिल्लामा १० वर्ष उमेर समूहभन्दा माथिका ३ लाख ४९ हजार २ सय ७४ जना पुरुष र ५ लाख ३ हजार २ सय ८१ जना महिला गरी ८ लाख ५२ हजार ५ सय ५५ जना कुनै पनि आर्थिक कार्यमा नजोडिएको राष्ट्रिय जनगणनाको तथ्यांकमा छ।
पछिल्लो एक वर्षमा कुनैपनि आर्थिक आर्जनको क्रियाकलापमा नजोडिएका व्यक्तिमध्ये ३ लाख ७६ हजार ९ सय ५४ जना विद्यार्थी, १ लाख ९८ हजार ६ सय ३० जना घरायसी काममा लागेका व्यक्ति, ६३ हजार १ सय ३ जना वृद्ध तथा १६ हजार ११ जना शाररिक रूपमा अशक्त छन्।
५ लाख १२ हजार ४ सय २७ जना जागिरमा रहेको, ३२ हजार ३ सय ८८ जनाले अरूलाई जागिर दिइरहेको, २ लाख ८२ हजार ५ सय ५२ जनाले आफ्नो व्यवसाय सञ्चालन गरिरहेको र १ लाख ८ हजार १३ जनाले पारिपारिव व्यवसायमा सघाइरहेको उल्लेख गरिएको छ।
१८ वर्षभन्दा मुनिका बालबालिकाको संख्या ५ लाख ८ हजार ३ सय ९९ जना रहेकोमा आमाबुबा दुवै अविभावकसँग बस्नेको संख्या ४ लाख २ हजार १ सय ७४, आमासँग मात्रै बस्नेको संख्या ५५ हजार ३ सय ६९, बुबासँग मात्रै बस्नेको संख्या ७ हजार २ सय, बुबा र सौतेनी आमासँग बस्नेको संख्या ८ सय ७७, आमा र सौतेनी बुबासँग बस्नेको संख्या २ सय २८, अन्य नातेदारसँग बस्नेको संख्या २८ हजार ३ सय ४३ र रोजगारदाताले पालनपोषण गरिरहेकाको संख्या ९ सय ७१ जना रहेको छ।
काठमाडौंमा २ लाख ५८ हजार १ सय ३८ आवासीय प्रयोजनका, २४ हजार ४ सय ७६ वटा व्यावसायिक तथा व्यापारिक प्रयोजनका, ३ हजार १ सय ७५ वटा सरकारी, ३ हजार १ सय २५ वटा शैक्षिक, ६ सय ६७ वटा स्वास्थ्य क्षेत्रका, ३ हजार ८ सय ९२ वटा उद्योग क्षेत्रका, ६ सय ६४ वटा बैंक तथा वित्तीय क्षेत्रका, ३ हजार २४ वटा होटल तथा लज, ४ हजार २ सय ७६ वटा भण्डारण तथा गोदाम रहेका भवन रहेका छन्।