काठमाडौं। लामो समयको तयारीपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ‘नेप्से–३० इन्डेक्स’ परीक्षण शुरु गरेको छ। नेप्से–३० इन्डेक्स सञ्चालनको सम्पूर्ण तयारी पुरा गरि नेप्सेले साउन ९ गतेदेखि परक्षण शुरु गरेको हो।
बजारमा तत्काल कारोबारयोग्य सेयरहरुलाई समावेश गरि बजार पुँजीकरणमा आधारित सूचांकको रुपमा नेप्से–३० इन्डेक्स सञ्चालनमा ल्याउन लागिएको हो। यसले दोस्रो बजारलाई सुदृढ बनाउन तथा सुचांकहरुको विकास, सञ्चालन तथा व्यवस्थापन गर्ने नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्कीले बताए।
लामो समयको तयारीपछि परीक्षणमा पठाइएको सो नेप्से–३० इन्डेक्स भदौको दोस्रो सातासम्म सञ्चालनमा आउने सिइओ कार्की बताउँछन्।
‘हिजादेखि टेस्टिङ शुरु गरेका छौं, केही समस्या नभए एक महिना भित्रै नेप्से–३० इन्डेक्स सञ्चालनमा आउँछ,’ नेप्सेका सिइओ कार्कीले क्यापिटल नेपालसँग भने, ‘प्रस्तावित मापदण्डअनुसार नै ३० वटा कम्पनीहरु छनौट गरेर टेस्टिङ शुरु गरेका हौं, समस्या नआए छनौट भएका यी कम्पनीहरुले कारोबार गराउन पाउने गरि नेप्से–३० इन्डेक्स सञ्चालनमा आउनेछ।’
नेप्सेले छनौट भएका कम्पनीहरुमार्फत् गरिएको परीक्षणको अवलोकन नेपाल धितोपत्र बोर्डमा पठाएको छ। बोर्डले परीक्षणको अवलोकन गरेर थप सुधारको सुझाव पठाएमा सुधार गरी भदौको दोस्रो सातादेखि पूर्ण सञ्चालनमा ल्याउने लक्ष्य नेप्सेको हो।
नेप्सेले उक्त इन्डेक्सको लागि बैंकिङ समुहका ८ वटा वाणिज्य बैंक, जलविद्युत समुहका ५ वटा हाइड्रोपावर कम्पनी, बिमा समुहका ५ वटा कम्पनी, उत्पादन तथा प्रसोधन समुहका २ वटा कम्पनी र अन्य समुहका ३ वटा कम्पनीहरु छनौट गरेर परीक्षण शुरु गरेको हो।
नेप्से ३०–इन्डेक्समा छनौट गर्ने कम्पनीहरुको लागि मापदण्ड तयार गरेको थियो सोहीअनुसार नै कम्पनीहरु छनौट गरि परीक्षण शुरु गरिएको नेप्सेका सिइओ कार्कीको भनाई छ।
यी हुन् नेप्से–३० इन्डेक्समा कम्पनी छनौट मापदण्ड
प्रति सेयर चुक्ता मूल्यभन्दा प्रति सेयर किताबी मूल्य बढी हुनुका साथै विगत ५ आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्षसहित कम्तिमा ३ वर्ष खुद नाफामा रहेको हुनुपर्ने।
अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी (इपिएस) चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रही सोही वर्षको वार्षिक मुद्रास्फीति दर भन्दा बढी रहेको हुनुपर्ने।
कम्पनीको कम्तिमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा कुल फ्रि–फ्लोट बजार पुँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि–फ्लोट बजार पुँजीकरण १ प्रतिशतभन्दा बढी रहेको हुनुपर्ने।
सेयरधनीको संख्या कम्तीमा २० हजार रहेको रहेको हुनुपर्न।
पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत २५ लाख रुपैयाँ वा सोभन्दा बढी रकमको कारोबार भई दैनिक औसत ५ हजार कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औसत ४० वा सो भन्दा बढी पटक कारोबार भएको हुनुपर्ने।
पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोबार दिनहरु मध्ये न्यूनतम ७५ प्रतिशत दिनहरुमा कारोबार भएको हुनुपर्ने।