काठमाडौं। केही दिनदेखि नेपाल टेलिकमको ‘सिडिएमए’ प्रविधिमा आधारित स्काई सिम सेवा ठप्प भएपछि प्रयोगकर्ता अलमलमा छन्।
लामो समयदेखि स्काई सिम प्रयोग गर्दै आएको सेवा एकाएक बन्द भएपछि प्रयोगकर्ता अलमलमा परेका हुन्। टावर वा विद्युत प्रसारणमा समस्या आएको हुन सक्ने शंका गर्दै एक/दुई दिनमै सेवा पुनः सञ्चालनमा आउने आशा प्रयोगकर्ताले गरेका थिए।
तर, करिब दुई सातादेखि नै सेवा ठप्प भएपछि हाल कम्पनीले नै सेवा बन्द गरेको हो वा के हो भन्ने विषयमा प्रयोगकर्ता अलमलमा परेका हुन्।
‘स्काईको सेवा र अन्य सिम नचल्ने ठाउँमा पनि चल्ने गरेको थियो। जहाँ पनि टावर दिने भएकाले लामो समयदेखि मैले स्काईको सिम नै प्रयोग गर्दै आएको छु,’ एक प्रयोगकर्ताले भने, ‘तर, करिब दुई साताअघि एकाएक फोन आउन/जान बन्द भयो। त्यसपछि मोबाइल बिग्रिएको हो कि सिम भनेर अन्य प्रयोगकर्तासँग बुझेँ। तर, एकसाथ सबैको सिम चल्न छाडेको रहेछ, जुन हालसम्म पनि ठप्प अवस्थामा छ।’
उनले आफूले प्रयोग गरिरहेको सिम सेवा बन्द हुने वा नहुनेबारे टेलिकमबाट पूर्वजानकारी प्राप्त नगरेको बताए।
‘मैले प्रयोग गरिरहेको सिममा केही ब्यालेन्स थियो भने एक महिने नाइट भ्वाइस प्याक पनि लिएको थिएँ। तर, एकाएक सिम बन्द भएपछि नयाँ सिम लिने वा के गर्ने भन्न अन्योल सिर्जना भएको छ,’ स्काई सिमका अर्का प्रयोगकर्ताले भने, ‘हाल चलाइरहेको मोबाइलमा पनि स्काई सिम मात्रै चल्ने भएकाले अर्को सिम खरिद गर्न मोबाइल पनि नयाँ किन्नुपर्ने बाध्यता छ।’
उनले टेलिकम र निजी दूरसञ्चार कम्पनी एनसेलको सेवा अवरुद्ध नभए पनि स्काईको भने सेवा बन्द भएको जानकारी दिए।
के भन्छ टेलिकम?
यसबारे टेलिकम भने जानकार नभएको पाइएको छ। तर, विश्वमा सिडिएमए प्रविधि विस्थापन हुने क्रममा रहेकाले यसबाट उपलब्ध गराइरहेको सेवा जिएसएमबाट उपलब्ध गराउने प्रयास भने लामो समयदेखि भइरहेको टेलिकमले जानकारी दिएको छ।
‘सिडिएमए प्रविधि विश्वबाट नै विस्थापित हुँदै गएकाले नेपाल टेलिकमले पनि यसलाई विस्थापित गर्दै वैकल्पिक प्रविधिबाट सेवा उपलब्ध गराउन लामो समयदेखि प्रयास गरिरहेको छ,’ टेलिकमका सहप्रवक्ता परमात्मा भट्टराईले क्यापिटल नेपालसँग भने, ‘केही समयअघि हामीले विशेष प्याकेज व्यवस्था गरेर सिडिएमएका प्रयोगकर्तालाई जिएसएममा आकर्षित गर्ने प्रयास गरेका थियौं।’
तर, टेलिकमले यस्तो प्याकेज व्यवस्था गरेको भए पनि सिडिएमएका प्रयोकर्ता जिएसएममा गएका थिएनन्।
टेलिकमले सिडिएमए विस्थापन प्रयास लामो समयदेखि गरे पनि सेवा नै बन्द भएको विषयबारे भने जानकार नभएको उनले बताए।
‘सिडिएमए सेवाकाे विकल्प उपलब्ध गराउँदै यसलाई विस्थापन गर्ने विषय लामो समयदेखि उठ्दै आएको छ,’ सहप्रवक्ता भट्टराईले भने, ‘यस विषयमा पछिल्लो अपडेट नभएकाले बन्द गरेको हो वा अन्य समस्याले हो भन्ने विषयमा मैले स्पष्ट भन्ने अवस्था छैन।’
उनले सिडिएमएलाई विस्थापन गर्दै जिएसएममा आकर्षित गर्ने प्रयास भए पनि त्यसका लागि बाध्य नपारिएको पनि उल्लेख गरे।
‘सिडिएमए सेवा बन्द गराउने ठाउँमा हामीले जिएसएम तथा वैकल्पिक प्रविधिबाट सेवा उपलब्ध गराउने गरेका छौं। अर्थात, सिडिएमए सेवा बन्द भएको ठाउँमा जिएसएम सेवा भने चल्छ,’ भट्टराईले भने, ‘हामीले उपभोक्तालाई सेवाबाट नै वञ्चित गराउने हिसाबमा यो प्रविधि विस्थापन गरेका छैनौं।’
उनले सिडिएम विस्थापन भए पनि त्यसको वैकल्पिक व्यवस्थाका कारण दूरसञ्चार सेवाबाटै ठप्प हुने अवस्था भने नबनेको जानकारी दिए। विश्वबाट नै सिडिएमए प्रविधि विस्थापित भएकाले सोहीअनुरूप अगाडि बढ्ने टेलिकमको योजना भए पनि हाल बन्द भएको वा गरेको विषयमा भने जानकार नभएको उनको भनाइ छ।
सिडिएमए प्रयोगकर्ता ३ लाख बढी
नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस रिपोर्टअनुसार २०७९ चैतसम्ममा सिडिएमए प्रयोगकर्ता ३ लाख बढी छन्। नेपाल टेलिकमका कूल ग्राहकमध्ये जिएसएम प्रयोगकर्ता १ करोड ९८ लाख ५२ हजार २ सय ३५ छन् भने सिडिएमए प्रयोगकर्ता ३ लाख १९ हजार ६ सय २६ छ।
टेलिकमले २०६२ सालदेखि सिडिएमए प्रविधिमा आधारित सेवा उपलब्ध गराउन सुरु गरेको थियो। सिडिएमए प्रविधिअन्तर्गत फिक्स्ड फोन, मोबाइल सेवा (स्काई फोन) र स्काई फोनअन्तर्गत स्काई डेटा सेवा सञ्चालनमा ल्याएको थियो।
टेलिकमले ९८४, ९८५, ९८६ नम्बर रेन्जमा जिएसएम मोबाइल सेवा र ९७४, ९७५ रेन्जमा सिडिएमए मोबाइल सेवा उपलब्ध गराउँदै आएको थियो। सिडिएमए मोबाइल सेवाको नयाँ बिक्री वितरण भने टेलिकमले यसअघि नै बन्द गरेको थियो।
त्यसपछि सिडिएमएका लागि प्रयोग भइरहेको ९७४ र ९७५ नम्बर रेन्जमा समेत टेलिकमले जिएसएम सेवा उपलब्ध गराउन थालेको थियो। तर, विश्वमा प्रविधिमा भएको परिवर्तनसँगै सिडिएमए प्रविधि विस्थापन हुने क्रममा रहेकाले नेपाल टेलिकमले सिडिएमए प्रविधिबाट भइरहेको सेवा उपलब्ध गराइरहेको स्थानमा जिएसएम प्रविधि सेवा उपलब्ध गराउने विषय विगतदेखि नै उल्लेख गर्दै आएको थियो।