काठमाडौं। मौद्रिक नीतिले ठूला लगानीकर्ता समेट्न नसक्दा ओरालो यात्रा शुरु गरेको सेयर बजारले बुधबार पनि निरन्तरता दिएको छ। साताको चौथो दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से ७.११ अंकले घटेर २ हजार १ सय ५६.२० विन्दुमा बन्द भएको छ।
गत आइतबार नेपाल राष्ट्र बैंकले सेयर कर्जाको जोखिम भार घटाउने घोषणा गरे लगत्तै ६३.२६ अंकले बजार बढेको थियो। तर, उक्त सुविधा साना लगानीकर्ताको लागि मात्रै भन्ने भएपछि ठुला लगानीकर्ताहरु निराश हुँदा सोमबारदेखि नेप्से ओरालो बाटोतर्फ लागेको हो।
सोमबार २७ अंक र मंगलबार २२ अंकले घटेको नेप्से बुधार पनि राताम्मे भएको छ। सो दिन कारोबारमा आएका २ सय ६० वटा कम्पनीको ७३ लाख ९९ हजार ४ सय ७४ कित्ता सेयर ४२ हजार ७ सय १४ पटक खरिद बिक्री हुँदा २ अर्ब ४३ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
सो दिन सबैभन्दा बढी ग्लोबल आइएइ बैंकको १५ करोड १२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। बुधबार किसान लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। कम्पनीको सेयर मूल्य ६.९६ प्रतिशतले बढेर १ हजार २५ रुपैयाँ कायम भएको छ।
यस्तै ग्रिन डेभलपमेन्ट बैंकको ६.५८ प्रतिशत, बराही हाइड्रो पावरको ३.४० प्रतिशत, बरुण हाइड्रो पावरको २.७९ प्रतिशत र विशाल बजार कम्पनीको २.६२ प्रतिशतले सेयर मूल्यमा वृद्धि भएको छ ।
यस्तै, बुधबार जाल्पा लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। सो दिन कम्पनीको सेयर मूल्य ६.४९ प्रतिशतले घटेर १ हजार ४ सय ९ रुपैयाँ कायम भएको छ ।
युनिलिभर नेपालको ६.३३ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड–१ को ५.४ प्रतिशत र सिर्जजनशील लघुवित्तको ५.३१ प्रतिशतले सेयर मूल्य घटेको छ।
अहिले प्यानिक सेल कम हुँदै गएसँगै सेयर बजारले विस्तारै सम्हालिने प्रयास गरेको देखिन्छ। प्यानिक सेल सकिन्दै गएकाले बजार पनि क्रमशः लयमा आउने संभावना बढेको छ। लगानीकर्ता आत्तिएर बिक्री गर्ने बढ्दा बजार घटेको थियो। बिक्री गर्नेहरु घट्दै गएका छन्।