काठमाडाैं। नापतौल यन्त्र तोकिएको समयमा नवीकरण नगराउने र तौलमा ठगी गर्ने १ हजार ४ सय ३६ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानलाई जरिवानासहित कारबाही गरिएको वीरगन्जस्थित गुणस्तर तथा नापतौल कार्यालयले जनाएको छ।
उक्त कारबाहीमा ठूला आद्यौगिक र व्यावसायिक प्रतिष्ठानदेखि साना व्यवसायीसमेत परेका छन्। बारा, पर्सा, रौतहट, मकवानपुर तथा चितवन कार्यक्षेत्र रहेको सो कार्यालयले आर्थिक वर्ष २०७९/८० मा गरेको विशेष अनुगमन तथा नियमित नापतौल जाँचको क्रममा अनियमितता गर्ने व्यावसायिक संस्था तथा व्यक्तिलाई कारबाही गरेको निमित्त कार्यालय प्रमुख सञ्जीवकुमार ठाकुरले जानकारी दिए।
कार्यालयले उक्त अवधिमा १ हजार ३ सय २४ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको नापतौल यन्त्रको जाँच र नवीकरण गरेको थियो।
कार्यालयबाट प्राप्त विवरणअनुसार गत आर्थिक वर्षमा ५ सय ६५ नयाँ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानलाई नापतौल यन्त्रको इजाजतपत्र दिइएको थियो। सो कार्यालयमा ३ हजार ३ सय २५ जना व्यवसायीले नापतौलसम्बन्धी इजाजतपत्र लिएर कार्य गरिरहेको उनले बताए।
गत आर्थिक वर्षमा नौ सय दुई पम्पको नोजल जाँच, ४ सय ३५ भेहिकलको ट्यांक जाँच गरिएको, नापतौलसम्बन्धी उपभोक्ता हकहित संरक्षणका लागि एकल अनुगमन ३२ पटक तथा संयुक्त अनुगमन २८ पटक गर्नाका साथै १९ व्यावसायिक प्रतिष्ठानविरुद्ध अभियोगपत्र दायर गरिएको जनाइएको थियो।
साथै कार्यालयले उक्त अवधिमा विभिन्न शीर्षकबाट १ करोड ४० लाख २३ हजार २ सय ६८ राजस्वसमेत संकलन गरेको पनि बताइएको थियो। कार्यालयले डिजिटल नागरिक वडापत्र तथा डिजिटल गुनासो सुनवाइको व्यवस्था गरेकामा उक्त कार्यको सेवाग्राहीले प्रशंसा थिए।