काठमाडौं। बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडा समायोजन गरिने भएको छ।
मंगलबार भाडा घटाउने विषयमा मन्त्रीस्तरीय निणर्य भएर मुख्यमन्त्री कार्यालय पठाइएको श्रम रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता खगेन्द्र पौडेलले जानकारी दिए।
‘भाडा समायोजनको निर्णय मुख्यमन्त्री कार्यालयमा गएको छ,’ उनले क्यापिटल नेपालसँग भने, ‘बिहीबार राजपत्रमा प्रकाशित भएपछि नयाँ भाडादर लागू हुन्छ।’
गाडी भाडा २.३० प्रतिशतदेखि ३.२० प्रतिशतसम्म घटाउने प्रस्ताव गरिएको उनले जानकारी दिए। अरू गाडीको भाडा घटे पनि ट्याक्सीको भने तत्काल कुनै निणर्य भएको छैन।
ट्याक्सी भाडा समायोजन गर्न सरोकारवाला निकाय र व्यवसायीसँग छलफल गरिने मन्त्रालयले जनाएको छ।
प्रदेश सरकारको भाडा समायोजन गर्ने कुरा ‘छेउ न टुप्पा’ को भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले आरोप लगाए।
‘इन्धनको भाउ घटेर यातायात व्यवस्था विभागले स्वचालित भाडा घटाएको यतिका दिन भइसक्यो। प्रदेश सरकार आजसम्म के हेरेर बसेको? कुन–कुन इन्डिकेटरलाई आधार मानेर भाडा समायोजन गरेको?,’ उनले प्रश्न गरे।
भाडा समायोजन गर्न इन्धनलाई मात्र आधार बनाउन नहुने उनको तर्क छ।
‘भाडा समायोजन गर्न इन्धनले ३५ प्रतिशत हिस्सा ओगट्छ भने ६५ प्रतिशत अन्य इकाई छन्। इन्धनले मात्र गाडी चल्छ र? सरकारले महँगी हेरेर सबै इकाईअध्ययन गरेर वर्षमा एकपटक समायोजन गर्नुको सट्टा सस्तो लोकप्रियताका लागि इन्धनको मूल्य घट्नासाथ भाडा घटाउन लागेको हो,’ उनले भने।
आयल निगमले असारमा दुईपटक इन्धन भाडा घटाइसकेको छ। निगमले असार १८ र ३१ गते इन्धन मूल्य घटाएको थियो। इन्धनको मूल्य घटेपछि यातायात व्यवस्था विभागले पनि अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा घटाएको थियो।
विभागले यात्रुवाहक सवारीसाधनमा २.१३ प्रतिशत, पहाडमा चल्ने मालवाहकमा २.७८ र तराईमा चल्ने मालवाहकको ३.०९ प्रतिशतले भाडा घटाएको थियो।
प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्ने अधिकार प्रदेशअन्तर्गतका मन्त्रालयलाई हुने भएकाले श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा समायोजन गर्न लागेको हो।