काठमाडौं। झापा धुलाबारीमा निर्माणाधीन पाँचतारेस्तरको होटल इस्टर्न नेपाल प्रालिको लागत दोब्बर बढेको छ।
होटलको लागत दोब्बरभन्दा बढेर २ अर्ब १ करोड ४० लाख रुपैयाँ पुगेको छ। यसअघि होटलको लागत ९३ करोड ४० लाख रुपैयाँ प्रारम्भिक अनुमान गरिएको थियो।
लागत बढेसँगै होटल दुई वर्षपछि धकेलिएको छ। इस्टर्न आगामी दुई वर्षभित्र सञ्चालनमा आउने भएको छ।
स्कोपलगायत विभिन्न कारण निर्माणमा भएको ढिलाइ र निर्माणजन्य सामग्रीको भाउ बढेकाले यसको असरले लागत दोब्बर बढेको होटलले स्पष्ट पारेको छ।
यसअघि होटल गत असारदेखि सञ्चालनमा ल्याउने तयारी भएको थियो। निर्माणमा भएको ढिलाइले होटल सञ्चालन दुई वर्ष पछाडि धकेलिएको छ। होटलले अझै ९० करोड ७० लाख रुपैयाँ लगानी जुटाउन बाँकी छ।
इस्टर्न होटलमा १ अर्ब ४० करोड रुपैयाँ बैंक ऋण र बाँकी ६१ करोड ४० लाख रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) लगानी हुनेछ।
७० प्रतिशत बैंक ऋण र ३० प्रतिशत संस्थापकको स्वामित्व हुने गरी होटलको लगानी संरचना परिमार्जन गरिएको छ।
होटल इस्टर्ले १ अर्ब ४३ करोड ४८ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ। होटल सन् २०२५ अक्टाेरबाट सञ्चालनमा ल्याउने तयारी छ।
गत जेठसम्म होटल ३५ प्रतिशत निर्माण भएको छ। आउँदो २ वर्षभित्र ६५ प्रतिशत काम सकेर इस्टर्नलाई सञ्चालनको अवस्थामा लैजान चुनौती देखिएको छ।
प्रस्तावित होटलमा स्विट र डिलक्स गरी ९८ कोठा हुनेछन। होटलमा फुड एन्ड बेभरेज सेवाका साथै क्यासिनो, स्विमिङ पुल, ब्यांक्वेट हल, रेस्टुरेन्ट, कन्फेरेन्स हल र स्पालगायत सुविधा रहने छ।
सामान्यतया होटल `रिकभर´ गर्न लामो समय चाहिन्छ। प्रिमियम होटललाई तीनदेखि चार वर्ष लाग्ने छ भने सञ्चालनमा स्थिरता आउन दुईदेखि तीन वर्ष लाग्न सक्छ।
नेपाली बैंकिङ क्षेत्रमा अस्थायी ब्याजदरको अवस्था छ। जहाँ त्रैमासिक आधार दरमा निश्चित प्रिमियम थपिन्छ। त्रैमासिक आधारमा ब्याजदर परिवर्तन हुने भएकाले लागत बढ्ने सम्भावना धेरै छ।
प्रस्तावित इस्टर्न होटल झापा चन्द्रगढी विमानस्थलबाट तीन किलोमिटर दुरीमा छ। भारत नजिक भएका कारण पश्चिम बंगालबाट बढी पर्यटक आउने अपेक्षा छ। भारतीय पर्यटक लक्ष्य गरी होटल सञ्चालन गर्न लागिएको हो। होटल र पश्चिम बंगाल राज्यको सीमाना ६ किलोमिटरमात्रै छ।
होटल १ लाख १ हजार वर्गफिट क्षेत्रफलमा फैलिने छ। यसबाहेक क्यासिनोको क्षेत्रफल १२ हजार वर्गफिट हुनेछ। होटल इस्टर्न सन् २०१८ मा स्थापना भएको थियाे।
नेपाल कांग्रेसका नेता तथा सांसद दीपक खड्काको लगानीमा निर्माण भइरहेको हो। खड्काले ३ अर्ब रुपैयाँ लगानीमा राजधानीको बूढानीलकण्ठमा निर्माणाधीन पाँचतारे होटल फरेस्ट इन आउँदो असोजदेखि सञ्चालनमा ल्याउने तयारीमा गरेका छन्।
दुई तारेस्तरको होटलमा व्यवसायी खड्काले ५ अर्ब रुपैयाँ लगानी गरेका छन्। सन् १९९८ देखि पर्यटन क्षेत्रमा लागेका खड्काले ट्राभल तथा ट्रेकिङ कम्पनीसहित विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन्।