काठमाडौं। बलात्कार अभियोग लागेका सडक विभागका वरिष्ठ इन्जिनियर हरिकुमार पोखरेल फरार भएका छन्। पोखरेलविरुद्ध जिल्ला प्रहरी परिसर काठामाडौंमा साउन ५ गते उजुरी परेको थियो।
पोखरेलले बलात्कार प्रयास गरेको उजुरी पीडितले दिएपछि प्रहरीले जिल्ला अदालत काठमाडौंमा बलात्कार अभियोगमा मुद्दा दर्ता गरेको छ। प्रहरी परिसर काठमाडौंका प्रहरी नयाब उपनिरिक्षक (डिएसपी) अनिल अधिकारीका अनुसार पीडितले उजुरी दिएसँगै प्रहरीले पोखरेलको खोजि गरिरहेको छ। तर, हालसम्म उनी फेला परेका छैनन्।
‘पीडितले उजुरी दर्ता गरेपछि हामीले खोजिरहेका छौं, कसले भनिदियो कि के भयो मान्छे भागिसकेछन्,’ डिएसपी अधिकारीले भने, ‘काठमाडौं बाहिरका प्रहरी कार्यालयमा पनि पत्राचार गरेर खोजि भइरहेको छ।’
इन्जियर पोखरेलले आफ्नै घरमा घरायसी कामदारका रूपमा कार्यरत २२ वर्षिया युवतीलाई बलात्कार प्रयास गरेको अरोप लागेको छ। पीडित युवतीले सामाजिक सञ्जालमा आफूमाथि भएको बलात्कार प्रयासको एक मिनेटको भिडियो नै सार्वजनिक गरेकी छन्।
पीडितका अनुसार पोखरेलले २०७९ को फागुनदेखि व्यक्तिगत अंगमा छुने तथा जिस्क्याएर दुव्र्यवहार गर्दै आएका थिए। यसअघि पीडितले उक्त घटना सार्वजनिक गर्न खोज्दा पोखरेलले माफी मागेर गल्ती नदोर्होयाउने बताएका थिए। तर, असार ८ गते काममा जाँदा केही समय ढिलो भएको र पोखरेलले फोन गरेर छिटो आउन आग्रह गरेको पिडीतले बताएकी छन्।
उक्त दिन पोखरेलको नियतमा शंका लागेपछि पीडितले घर बाहिरैबाट मोबाइलको क्यामेरा अन गरेर काममा गएको बताएकी छन्। सो दिन पोखरेलको घरमा परिवारका अन्य कोही सदस्य नभएकाले घरको भान्छा कोठामा ती युवतीमाथि बलात्कार प्रयास गरेको भिडियोमा देख्न सकिन्छ।
इन्जिनियर पोखरेल सडक विभागअन्तर्गत मध्यपहाडी (पुष्पलाल) राजमार्गका आयोजना निर्देशक हुन्। पोखरेलले असार अन्तिमबाटै घरायसी बिदा लिएर बसेको आयोजना कार्यालयले जनाएको छ।