काठमाडौं। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मी आर्थिक विवादमा मुछिएका छन्। रेग्मी गत आर्थिक वर्ष बोर्डले विनियोजन गरेको एक कार्यक्रमको रकम विवादमा मुछिएका हुन्।
गत आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रम शीर्षक ३.४.१.३ मा ‘इन्टरनेसनल सस्टेनेबल माउन्टेन डेभलपमेन्ट कन्फ्रेन्स’ मा २० लाख रुपैयाँ विनियोजन गरिएको थियो। उक्त कार्यक्रमबारे बजेटमा भएको प्रष्टीकरणमा पर्वतीय पर्यटनलाई प्राथमिकतामा राखी दिगो पर्वतीय विकाससम्बन्धी अन्तर्राष्ट्रिय विश्वविद्यालयहरू तथा अनुसन्धान संस्थासँगको सहकार्यमा कन्फ्रेन्स आयोजनामा सहकार्य गर्ने उल्लेख छ।
सम्मेलन २०७९ मंसिर १५ देखि १७ सम्म काठमाडौं चन्द्रागिरि हिल्समा आयोजना भएको थियो। सम्मेलनको को मुख्य आयोजक नै पर्यटन बोर्ड थियो। सिइओ रेग्मी बोर्डमा आबद्ध हुनुअघि यस्तै किसिमका कार्यक्रम आयोजना गर्थे।
सम्बद्ध स्रोतका अनुसार चन्द्रागिरिको सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नेलगायत व्यक्तिहरू सिइओ रेग्मीको निजी संस्था हिमालयन रिसर्च सेन्टर र हिमालयन रिसर्च एक्सपिडिसन्सबाट विगतमा आयोजित कार्यक्रममा सहभागिता जनाइसकेका, उनका व्वसायका ‘साझेदार हैसियत’ थिए। तीमध्ये मुख्य कार्यपत्र प्रस्तुत गरेका एल्टन बायर्सलाई रेग्मीको कम्पनीको वेबसाइटमा अन्तर्राष्ट्रिय वैज्ञानिकका रूपमा राखिएको छ।
सम्मेलनमा सहभागीबाट उठाइएको पैसा बोर्डको वेबसाइट प्रयोग गरी अर्कै वेबसाइटमा पठाइएको र खर्च पनि नबाँधिएको स्रोतले जानकारी दियो। आर्थिक वर्षको अन्तिमसम्म पनि ६ महिनाअघि सकिएको सम्मेलनको पर्यटन बोर्डले गर्नुपर्ने भुक्तानी नगरी दायित्व सिर्जना भएको छ।
स्रोतका अनुसार पर्यटन बोर्ड सिइओ रेग्मीको कम्पनी हिमालयन रिसर्च सेन्टरको वेत्रसाइटमा सम्पर्क नम्बरमा रेग्मीकै मोबाइल नम्बर उल्लेख छ। बोर्डमा रेग्मीको कार्यकार सकिन तीन महिनाजति बाँकी छ।
पर्यटन बोर्ड नियमावलीमा सिइओ नियुक्त हुने व्यक्ति कुनै सरकारी, गैरसरकारी वा अन्य कुनै व्यवसायमा संलग्न रहेको भए त्यस्तो सेवा वा व्यवसायवाट अवकास लिनुपर्ने, नलिए नियुक्ति स्वतः बदर हुने व्यवस्था छ। तर, रेग्मीले निजी कम्पनीको कार्यकारी भूमिकामा काम गरेको पत्ता लागेपछि विगतमा पनि पर्यटन मन्त्रालयले छानबिन गरेको थियो।
नयाँ बजेटमा चलखेल
नयाँ बजेट बोर्डको कार्यकारी समितिले स्वीकृत गर्न बाँकी छ। हाल बजेटका लागि तयारी र छलफल भइरहेको अवस्थामा सिइओ रेग्मीकै कार्यक्रमलाई बोर्डले आफ्नो वेबसाइटमा राखिसकेको छ। यसअघिको सम्मेलनकै दोस्रो संस्करणका रूपमा पोखरामा सन् २०२३ अक्टोबर ६ देखि ८ सम्म आयोजना हुने मिति तय भइसकेको छ।
‘आफूले वर्षौंदेखि गरिआएको कार्यक्रमलाई बोर्डको ब्यानर अनि खर्चमा गराउँदै पैसाजति आफ्नै कम्पनीमा पुग्ने बनाउन सिइओ रेग्मी सफल छन्,’ स्रोतले भन्यो, ‘यसबारे पर्यटन मन्त्रालय र सञ्चालक समितिले तुरुन्त एक्सन लिनुपर्ने भइसकेको छ।’