झापा। पूर्वी नाका काँकडभिट्टाबाट एक वर्षमा ६ अर्ब २९ करोड ९१ लाख ४९ हजार रुपैयाँको तरकारी र फलफूल आयात भएको छ।
काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/८० मा पूर्वी नाकबाट ३ अर्ब ३५ करोड ९ लाख ८१ हजार रुपैयाँबराबरको ताजा तरकारी र २ अर्ब ९४ करोड ८१ लाख ६८ हजार रुपैयाँबराबरको फलफूल आयात भएको हो।
स्वदेशमा उत्पादन भइरहेको र अझ बढी उत्पादनको सम्भावना रहेको तरकारी र फलफूल नै भारतबाट आयात भएको पाइएको छ। कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा पूर्वी नाका हुँदै ८० करोड ९९ लाख ८४ हजार बराबरको २५ हजार ३ सय १२ मेट्रिकटन प्याज, ६० करोड ८१ लाख ६० हजार मूल्य बराबरको ३८ हजार १० मेट्रिक टन गोलभेँडा र ३१ करोड ९८ लाख ८ हजार रुपैयाँबराबरको १९ हजार ९८८ मेट्रिकटन करेला भारतबाट आयात भएको छ।
प्याज, गोलभेँडा र करेला भारतबाट आयात हुने प्रमुख तरकारी हुन्। यसैगरी, सोही अवधिमा काँकडभिट्टाबाट ६८ करोड ५८ लाख मूल्य बराबरको ६ सय ७१ मेट्रिकटन स्याउ र ६२ करोड १२ लाख ४० हजार मूल्य बराबरको १५ हजार पाँच सय ३१ मेट्रिकटन भूइँकटहर नेपालले आयात गरेको छ।
भारतबाट आयात हुने प्रमुख फलफूलमा स्याउ, भूइँकटहर, सुन्तला, ड्रागन फ्रुट र काँचो नरिवल रहेका छन्। कार्यालयका सूचना अधिकारी ठाकुरका अनुसार विगत एक वर्षमा भारतबाट ३७ करोड ४ लाख ६४ हजार मूल्य बराबरको ७ हजार ७ सय १८ मेट्रिकटन सुन्तला १९ करोड ५६ लाख २४ हजार मूल्य बराबरको ५ सय ५२ मेट्रिक टन काँचो नरिवल आयात भएको थियो।
एक वर्षमा पूर्वी नाकाबाट १९ करोड ६६ लाख ८ हजार मूल्यको ३ हजार ७२ मेट्रिकटन अङ्गुर र २६ करोड ५२ लाख ४८ हजार मूल्य बराबरको २ हजार ७ सय ६३ मेट्रिकटन अनार आयात भएको थियो।
पछिल्लो समय पूर्वी नेपालको इलाम, पाँचथर, धनकुटा, तेह्रथुमलगायत जिल्लामा किबी र झापा, मोरङ, सुनसरीलगायत विभिन्न जिल्लामा ड्रागन फ्रुटको व्यावसायिक खेती हुन थाले पनि भारतबाट आउने ती फलफूलको आयात रोकिन सकेको छैन।