काठमाडौं। प्रस्तावित जगदुल्ला अर्धजलाशय जलविद्युत आयोजना अघि बढाउन वातावरणीय प्रभाव मूल्यांकन (इआइए) का लागि सुझाव मागिएको छ। जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले तयार पारेको इआइएमा सुझाव माग गरेको हो।
वन तथा वातावरण मन्त्रालयले सुझाव लिएपछि आयोजना अघि बढाउन विकासकर्ता कम्पनीलाई बाटो खुला हुने छ। आयोजनाको जडित क्षमता १ सय ६ मेगावाट छ। अर्धजलासय जगदुल्ला आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) पनि भइसकेको छ। नेपाल विद्युत प्राधिकरण र प्रवर्द्धक कम्पनी जगदुल्लाबीच गत वैशाखको अन्तिम साता पिपिए भएको हो।
प्राधिकरणले हिउँदको ६ महिनामा प्रतियुनिट ८.४० रुपैयाँमा र पिक आवरमा उत्पादित विद्युत प्रतियुनिट १०.५५ रुपैयाँमा खरिद गर्ने सम्झौता भएको छ। बर्खायामको विद्युत भने नदी प्रवाही आयोजना सरह प्रतियुनिट ४.८० रुपैयाँका दरले खरिद गर्ने कम्पनीले जनाएको छ।
आयोजना बनाउन २४ अर्ब १७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को अगुवाइमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टटमेन्ट एन्ड डेभपलमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल), कर्मचारी सञ्चय कोष र नबिल बैंकले ऋण लगानी गर्ने सहमति गरिसकेका छन्।
कूल लागतको ७० प्रतिशत हुन आउने १६ अर्ब ९२ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण जुटाइने लक्ष्य छ। ३० प्रतिशत स्वपुँजी (इक्विटी) बाट ७ अर्ब २५ करोड रुपैयाँ जुटाइने भएको छ।
आयोजनाको निर्माण २०८६ भित्र सम्पन्न गर्ने लक्ष्य छ। आयोजनाबाट वार्षिक ६२ करोड ५३ लाख २० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। बर्खामा ४२ करोड ३७ लाख ७० हजार र बाँकी सुक्खायाममा उत्पादन हुनेछ।
आयोजना प्रस्तावित डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पर्छ। आयोजनाको जलासयबाट हुने डुबान क्षेत्र तथा विभिन्न संरचनाहरुको निर्माणका लागि ५२.७६ हेक्टर जग्गा आवश्यक पर्छ। जसमा निजी स्वामित्वको १३.५७ र सार्वजनिक जग्गा ३९.२१ हेक्टर जग्गा रहेको छ।
आयोजना शे–फोक्सुण्डोको मध्यवर्ती क्षेत्रमा पर्छ। बाँधको उचाइ २३ मिटर बनाउने प्रस्ताव गरिएको छ। जलाधार क्षेत्र ६ सय ३३ वर्गकिलोमिटर पर्ने छ। जलाशयको भण्डारण क्षमता ४ लाख ५६ हजार ९ सय ७० घनमिटर हुने छ।
जलाशयको लम्बाइ ५ सय मिटर रहने र आयोजना २७ किलोमिटर जमिन डिवाटर जोनमा पर्ने छ। आयोजनास्थलमा पुग्न एक दर्जन बेलिब्रिज र आन्तरिक पहुँच सडक निर्माणको प्रस्ताव गरिएको छ। आयोजना कर्णाली प्रदेशको डोल्पा जिल्लामा पर्छ।