काठमाडौं। पछिल्लो समय युवायुवतीमाझ निकै लोकप्रिय बन्दै गएको ‘बबल टी’ हरेक चोक र गल्लीमा देख्न पाइन्छ।
युवायुवतीमात्र होइन, बालबच्चादेखि वृद्धवृद्धाको समेत रोजाइमा पर्दै गएको बबल टीले राम्रो व्यावसायिक सफलतासमेत हात पार्न थालेपछि त्यो क्षेत्रमा लगानी गर्नेको संख्या पनि बिस्तारै बढ्न थालेको छ।
अहिले त चिया, कफीसँगै बबल टी पनि होटल तथा रेस्टुरेन्टको मुख्य मेनुभित्रै पर्न थालेको छ। त्यही बबल टीको भीडमा अन्तर्राष्ट्रिय स्वाद चखाउने उद्देश्य राखेर तीन युवतीले नेपालमै पहिलोपटक ताइवानको अन्तर्राष्ट्रिय प्रख्यात ब्रान्ड ‘चाटाइम’ सञ्चालनमा आएको छ।
ठमेल चाक्सीबारीस्थित काठमाडौं गेस्ट हाउस अगाडि रहेको कर्नरमा पहिलोपटक ताइवानी ब्रान्ड चाटाइम सुरु भएको हो। बबल टीको अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याउने तीन युवती हुन् यशु श्रेष्ठ, बिलाशा श्रेष्ठ र आकृति राणा हुन्।
उनीहरू तीनैजना स्थापित व्यापारिक घरानाका छोरीहरू हुन्। तर, उनीहरूले आफ्नो पारिवारिक व्यापार थाती राख्दै आफ्नै स्वामित्वमा नयाँ काम सुरु गर्ने सोचसाथ बबल टी चाटाइम भित्र्याएका हुन्।
स्थापित पारिवारिक व्यापार भएकाले पनि उनीहरूलाई व्यापार गर्दा ब्रान्डेड नै गर्नुपर्ने बाध्यता थियो। जसका कारण उनीहरूले आफ्नो रुचिको बबल टी व्यापारलाई ब्रान्डसँग जोडेर सञ्चालनमा ल्याएका हुन्। यशु मनकामना केबुलकार, बिलाशा ¥याडिसन होटलसँग आबद्ध छन् भने आकृतिको परिवार हेल्भेटासको विकास कम्पनीसँग आबद्ध छ।
तीनैजना स्कलुदेखिका साथी
व्यावसायिक साझेदारीमा होमिएका तीनैजना स्कुले साथी हुन्। काठमाडौंमै जन्मेहुर्केका उनीहरू स्कुलमा सँगै अध्ययन गरे पनि उच्च शिक्षा भने छुट्टाछुट्टै देशमा सकेका थिए। यशु र बिलाशाले बेलायतको विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गरेकी हुन् भने आकृतिले अस्ट्रेलियाबाट।
तर, उनीहरू विदेश रहँदा पनि बेलाबेलामा भेट गर्ने गर्थे। भेट्दा पनि उनीहरूले सबैभन्दा बढी खाने भनेकै बबल टी थियो। यशु र बिलाशा बेलायतमै रहेकाले बाक्लो भेट हुन्थ्यो भने आकृति बिदाका बेला आउने गर्थिन्।
त्यहीबेला उनीहरूले बबल टी नेपालमा पनि राम्रो हुन सक्छ भन्ने सोचे, तर व्यवसाय नै गर्ने भनेर तीनैजनाले मुख भने खोल्न सकेनन्।
जब तीनैजना अध्ययन सकेर नेपाल फर्किए, तीनैजनाको चिया गफमा आफ्नै स्वामित्वमा केही नयाँ काम गर्नुपर्छ भन्ने विषय चल्यो। तब, उनीहरूले गर्ने व्यावसायिक सम्भाव्यताबारे लिस्टिङ गर्दा तीनैजनाको सुरुवाती व्यापार नै बबल टी प¥यो। उनीहरूले अन्तर्राष्ट्रिय ब्रान्ड नै ल्याउने निष्कर्षमा पुगे। र, आफूहरूले बेलायत र अस्ट्रेलियामा रहँदा खाएको बबल टी ब्रान्ड चाटाइम नेपाल ल्याउन सफल भए।
काठमाडौंमा तीनवटा आउटलेटको तयारी
चाक्सीबारीबाट सुरु भएको चाटाइम यही वर्ष काठमाडौं उपत्यकाभित्र तीनवटा आउटलेट सञ्चालन गर्ने तयारी भइरहेको यशुले बताइन्। सुरुमा काठमाडौंभित्र सञ्चालन गरिसकेपछि बिस्तारै उपत्यका बाहिरका ठूला सहरमा समेत फ्रेन्चाइजी विस्तार गर्ने योजना उनले सुनाइन्।
ब्रान्ड ल्याउँदा विदेशको गुणस्तर कायम गर्न सकिने भएकाले पनि चाटाइम रोजाइमा परेको उनको भनाइ छ। अहिले चाटाइममा ६० भन्दा बढी स्वादमा बबल टी पाइन्छ। चिसो र तातो दुवै स्वादमा पाइने भएकाले वर्षैभरि यसको माग बढ्ने उनको भनाइ छ। अहिले न्यूनतम १ सय ९० देखि अधिकतम ४ सय ४० रुपैयाँसम्मको बबल टी उपलब्ध छ। बबल टीमा प्रयोग गरिने सम्पूर्ण कच्चापदार्थ ताइवानबाट ल्याइन्छ।
व्यापार गर्न कति दुःख गर्नुभएको रहेछ भन्ने बुझ्यौं
व्यावसायिक घरानामा जन्मिएर हुर्किएका कारण आफ्नो परिवारले व्यापार गर्दा कति दुःख भोगेको थियो भन्ने राम्रो अनुभव लिन पाएको उनीहरूको भनाइ छ।
‘काम गर्नेदेखि सहयोग गर्ने धेरै भएकाका कारण परिवारले कति दुःख पायो भन्ने थाहा भएन। जब, आफैं नयाँ काम सुरु गरियो, त्यसबेला भने कम्पनी दर्ता, सञ्चालन र लगानी जुटाउन कति समस्या हुँदारहेछ भन्ने ज्ञान राम्रोसँग लिएका छौं,’ बिलाशाले भनिन्।