काठमाडौं। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि लिएको कर्जा विस्तार लक्ष्य पूरा गर्न बैंकहरू असमर्थ हुने बैंकरहरूले संकेत गरेका छन्।
सोमबार वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन नेपाल (एनबिए) ले पत्रकार सम्मेलन गर्दै कर्जा विस्तार लक्ष्य पूरा गर्न चुनौती रहेको बताएको हो।
‘विगतका तथ्यांक हेर्दा कर्जा वृद्धिमा राखिएको लक्ष्य पूरा भएका छैनन्, अहिले ५ सय ६५ अर्बको लक्ष्य राखिएको छ,’ कार्यक्रममा एनबिएका अध्यक्ष सुनिल केसीले भने, ‘यो आफैंमा च्यालेन्जिङ ग्रोथको टार्गेट राखिएको छ। राष्ट्र बैंकले राखेको कर्जा लक्ष्य उत्पादनमूलक क्षेत्रमा विस्तार गर्ने गरी सकुर्लर ल्याउन सक्छ।’
यसअघि १२.५ प्रतिशत कर्जा वृद्धिको लक्ष्य राखिएकोमा ३ प्रतिशतमात्रै लक्ष्य हासिल भएको छ। राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि ५ खर्ब ६४ अर्ब अर्थात करिब ११ प्रतिशत कर्जा वृद्धि लक्ष्य राखेको छ। तर, उक्त लक्ष्य पूरा गर्ने गरी बैंकहरूसँग पर्याप्त पुँजी नभएको उनको भनाइ छ।
‘कतिपय बैंकहरूमा पुँजीको चाप भइरहँदा मौद्रिक नीतिले बोलेको छैन,' उनले भने, 'कर्जा वृद्धि लक्ष्य पूरा गर्नकै लागि पनि पुँजीमा सहजता आवश्यक छ। राष्ट्र बैंकले सर्कुलर वा अन्य कुनै माध्यममार्फत सम्बोधन गर्छ भन्ने अपेक्षा गरेका छौं।’
राष्ट्र बैंकले सेयर, सवारी र घर कर्जा धितो कर्जामा दिएको सहुलियतले अन्य क्षेत्र चलायमान हुँदा बैंकहरूको समेत व्यवसाय बढ्ने उनको अनुमान छ । साथै, मौद्रिक नीतिकाे बैंकिङ कसुर ऐन संसोधन गर्ने घोषणाले बैंकरहरूको आत्मविश्वास बढेको उनले बताए। समग्रमा राष्ट्र बैंकले सन्तुलित मौद्रिक नीति ल्याएको एनबिएको भनाइ छ।