पोखरा। पोखरा प्राकृतिक सुन्दरतासँगै धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदताले पनि उत्तिकै परिचित छ। आफ्नै विशेषता र मौलिकताले सजिएको पोखरामा एक सय वर्षको इतिहास बोकेका बालधाराको पुरातात्विक महत्व रहे पनि ती सबैको संरक्षण हुन नसक्दा लोप हुने अवस्थामा पुगेका छन्।
बालधाराको इतिहास हेर्दा सन् १९७७ मा तत्कालीन चिफ इन कमान्डर बबर शमशेरले आफ्ना नाबालक छोरा बाल शमशेरको स्मृतिमा बनाएको पाइन्छ। बाल शमशेरको १४ वर्षको उमेरमा निधन भएको थियो। तत्कालीन समयमा पोखरामा पानीको निकै हाहाकार थियो। बबर शमशेरले आफ्नो छोराको वार्षिक स्मृतिमा पोखरेलीको तिर्खा मेट्न पोखराका विभिन्न स्थानमा १४ वटा धारा निर्माण गरेकाे सम्पदाप्रेमी एवं पोखराका पुराना फोटो संकलक सुनिल उलक बताउँछन्।
'त्यसताका पोखरामा पानीको निकै दुःख थियो, खोलानाला तालतलैयाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता थियो। बबर शमशेरले १४ वर्षीय छोराको निधन भएपछि उनको सम्झनामा १४ वटा बालधारा बनाएर धेरैको तिर्खा मेटाउने काम गर्नुभएको थियो। सबै धारामा एउटै शिलालेख देख्न सकिने भएकाले यसबाट पनि त्यो इतिहास झल्कन्छ,' उलकले भने।
उनका अनुसार अहिले केही संरक्षण भएका छन् भने केही अतिक्रमणको चपेटामा परेर लोप भइसकेका छन्। बालधाराकै पानी खाएर हुर्केको अनुभव सुनाउँदै उलक भन्छन्, 'बालधाराको पुरातात्विक महत्व छ त्यसैले यसको संरक्षण र सम्वर्द्धन गर्नुपर्छ भनेर बालधारा संरक्षण समिति गठन गरेर पहल गरेका हौँ।'
आफैँ समितिको संयोजकसमेत रहनुभएका उलकले बालधाराले तत्कालीन समयमा पोखराको इतिहासलाई बुझ्न पनि मद्दत पुग्ने बताए। जुन जुन वडामा बालधारा रहेका छन्, ती ठाउँमा स्थानीय र वडा जनप्रतिनिधि मार्फत संरक्षणका लागि पहल गरिएको उनको भनाइ छ। उनका अनुसार भैरवटोल, मोहरियाटोल, नालामुख, पालिखेचोक, बागबजार, भीमसेन टोल, रामकृष्णटोल, सिद्धार्थचोक, सिमलचौर, तेर्सापट्टि, रानीपौवाको शोभा भगवती मन्दिर र दूरसञ्चारअघि, माटेपानीको (पुछारको धारा) साँघुमुखमा बालधारा निर्माण गरिएको थियो।
हाल भैरवटोल, नालामुख, रामकृष्णटोल, सिमलचौर, तेर्सापट्टि र माटेपानीको पुरानोधाराको संरक्षण भएको छ भने बाँकी धाराहरु सम्बन्धित वडामार्फत संरक्षणका लागि पहल भएको उनले जानकारी दिए। साँघुमुखको र दूरसञ्चार अगाडि भने धारा भएको ठाउँ नै मानवीय अतिक्रमणमा परेको छ। योसँगै सिद्धार्थचोकमा धाराका केही सामग्री भेटिए पनि त्यही ठाउँमा भवन बनिसकेकाले त्यहाँ पनि बालधारा पुननिर्माण गर्न सम्भावना कम देखिएको छ।
पोखरा महानगरपालिका–५ पर्स्याङ बालधारामा आउने पानीको मुहान थियो। त्यस ठाउँलाई धारापानी भनिन्छ। आज पनि त्यो ठाउँ धारापानीले नै परिचित छ। इतिहासको दृश्य बोकेको, तत्कालीन समयको अवस्थालाई अध्ययन गर्न सकिने पुरातात्विक महत्व बोकेका यस्ता सम्पदाको संरक्षणमा सम्बन्धित निकायले चासो दिन नसक्दा केही बालधारा भएका स्थानमा घर र पर्खालहरू बनेर इतिहास मेटिएको उनको भनाइ छ।
विसं २०२२ मा पोखरेलीले भोटीखोला योजना आएपछि पानीको सहजता हुन थाल्यो। बालधाराको पानी पनि अन्यत्र लगिएपछि धारामा पानी सुक्न थालेको उनको बुझाइ छ। ऐतिहासिक र पुरातात्विक संरचनाको संरक्षण आवश्यक रहेकाले आफूहरूले चासो दिएको उलकले बताए।
पोखराको सुन्दरतामा पुरातात्विक महत्व बोकेको धाराको उस्तै शैलीमा संरक्षण सम्वर्द्ध हुनुपर्नेमा त्यसो हुन नसकेको बताउँछन् संस्कृतिकर्मी तीर्थ श्रेष्ठ। 'बालधाराको पुरातात्विक महत्व छ, यस धाराले तत्कालीन समयमा पोखरामा खानेपानीको अभावको अवस्था रहेको पुष्टि गर्छ भने अर्कोतर्फ पानी खुवाउने पुण्य कार्यलाई पनि जोड दिएको बुझ्न सकिन्छ।' बेलायती शैलीका ती धाराहरू निकै आकर्षक थिए भने मान्छेलाई मात्र नभएर गाईवस्तुलाई पनि पानी खान मिल्ने गरी बनाइएको उनी स्मरण गर्छन्।
पोखरी खनेर, कुवा बनाएर, वरपीपल चौतारो छेउछाउमा मूलको पानी ल्याएर हाम्रा अग्रजहरूले पुण्य कर्म गरे जस्तै बबर शमशेरले पनि आफ्नो छोराको स्मृतिमा पोखरेलीको प्यास मेटाउन धारामार्फत पोखरेलीलाई पानी खुवाएर पुण्य कमाएको बताए। बालधारा निर्माणले पोखरामा आधुनिक धाराको विकास पनि सुरुआत गरेको थियो । यो धारा बनेपछि खोलानालामा पुगेर पानी बोकेर ल्याउनुपर्ने बाध्यता पनि हटेको थियो।
श्रेष्ठले आफ्नो स्मरणमा भएसम्म १४ वटामात्र नभएर अझै बढी भएको अनुमान गरे। 'मलाई अझै बढी भए जस्तो लाग्छ यसका बारेमा थप अनुसन्धान गर्न सकिन्छ।' खानेपानी संस्थानले यी धारामा आउने मुहानलाई लिएर सार्वजनिक स्थानमा पानी वितरण गरे पनि बालाधाराको संरक्षणमा चासो नदेखाएको उनको भनाइ छ। ‘बालधारा संरक्षण अभियान समिति’ का सदस्य एवं राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिका निर्वतमान अध्यक्ष विष्णुहरि अधिकारी बढ्दो सहरीकरणले घरघरमा पानीको धारा आएर सार्वजनिक धाराको महत्व घटे पनि बालधारा पुरातात्विक महत्व भएकाले संरक्षण आवश्यक रहेको बताए।
साँघुमुखमा रहेको धाराको पानि खाएर हुर्केको स्मरण गर्दै अग्रज फोटो पत्रकार विश्व शाक्य तत्कालीन समयमा पोखरेलीको तिर्खा मेटाएको बालधारा एउटा इतिहासको चित्र भएकाले यसको संरक्षणमा स्थानीय र सरोकारवालाहरुले पहल गर्नुपर्ने बताउँछन्।
'हामीले पानी खाएर हुर्केको साँघुमुखको त्यो बालधारा खोइ कता छ? अहिले त साँघुमुख भन्ने नाम पनि उच्चारण भएको सुनिँदैन, इतिहास बोकेका ठाउँका नाम र संरचनालाई सम्पदा संरक्षणकर्मीले विशेष चासो दिएर जोगाउनुपर्ने हो,' उनले भने।