चितवन। लामो समयपछि अन्डा उत्पादक किसानले लागत मूल्य पाउने भएका छन्। उनीहरू लामो समयदेखि लागतभन्दा कम मूल्यमा अन्डा बिक्री गर्न बाध्य थिए।
पछिल्लो समय अन्डाको मूल्य बढेसँगै किसानले लागत मूल्य पाउन थालेका हुन्। विगतमा भएको नोक्सान र बैंक ऋण घटाउन भने यो मूल्यले अझै नधान्ने किसानको भनाइ छ।
पछिल्लो समय अन्डाको मूल्य प्रतिक्रेट ४ सय ५० रुपैयाँ तोकिएको छ। नेपाल लेयर्स कुखुरा पालक संघका महासचिव शोभाकान्त ढकालका अनुसार सबै खर्च जोड्दा अहिले अन्डाको मूल्य प्रतिगोटा १७ रुपैयाँ हुन आउँछ।
किसानले हाल १५ रुपैयाँ पाएका छन्। उनको भनाइमा अहिले चल्लाको मूल्य १ सय ५० रुपैयाँ पर्दछ। २० हप्तामा कुखुराले अण्डा दिन थाल्छ। सामान्यतया यो दानाको मूल्य प्रतिकिलो ७० रुपैयाँ पर्छ।
कुखुराले ८० हप्तासम्म अन्डा दिने गरेको उल्लेख गर्दै महासचिव ढकालले दानाको मूल्य प्रतिकिलो ६५ रुपैयाँसम्म पर्ने बताए। सामान्यतया एउटा कुखुराका लागि औषधि, खोप र अन्य उपचारमा १ सय ६५ रुपैयाँ खर्च हुने उनको भनाइ छ।
एउटा अन्डाको उत्पादन लागत १४ रुपैयाँ ८० पैसा पर्ने ढकालको दाबी छ। उनले भने, ‘बैंकको लगानीको किस्ता तिर्दै एउटा अन्डाको लागत मूल्य १७ रुपैयाँ पर्न आउँछ।’ अबको समयमा केही हदसम्म अन्डाको मूल्य बढेमा किसानले लागत मूल्य पाएर विगतको नोक्सानलाई पूर्ति गर्न सक्ने उनको भनाइ छ।
संघका अध्यक्ष विनोद पोखरेलले ३० प्रतिशत हाराहारी किसान विस्थापित भइसकेको बताए। उनले भने, ‘लागत मूल्य पाउन नसके पोल्ट्री व्यवसाय धरासायी हुने अवस्था छ।’
झन्डै एक वर्ष यता स्वयं व्यवसायीहरूको अग्रसरतामा गरिएको बजारीकरण पछि अन्डाले मूल्य पाएको भन्दै उनले सरकारले लागत मूल्य निर्धारण गरेर सहजीकरण गर्नुपर्ने बताए। धेरै किसान ऋण तिर्न सक्ने अवस्थामा नरहेको उल्लेख गर्दै उनले केही ऋण थपेर उनीहरूलाई पुनः पेसामा फर्किन राज्यले सहयोग गर्नुपर्ने बताए।
नेपाल अन्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले कोभिडको समयपछि एकाएक अण्डाको मूल्य घटेसँगै किसान धरासायी हुँदै गएको बताए। पोल्ट्री क्षेत्रमा दुई खर्बभन्दा बढी लगानी भएको भन्दै उनले यसको ४० प्रतिशत हाराहारी लेयर्स कुखुरा पालनमा खर्च भएको बताए। उनले गुनासो गरे, ‘कुखुरा बेचेर बाँकीलाई दाना खुवाएर बचाउनुपर्ने अवस्थामा हामी छौँ।’
नेपाल लेयर्स कुखुरापालक संघका सचिव मदन पोखरेलले १० वर्ष पहिले एउटा क्रेट अन्डाको मूल्य ३ सयमा बिक्री हुँदै आएको भन्दै अहिलेको मूल्यले लागत धान्न नसक्ने बताए। उनले भने, ‘पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो ३० हुँदा अन्डा प्रतिक्रेट ३ सयमा बिक्री हुन्थ्यो। अहिले दाना प्रतिकिलो ७० पर्दा अन्डाको मूल्य उस्तैउस्तै छ।’
दैनिक ५० लाख हाराहारी अण्डा उत्पादन हुने गरेकोमा अहिले एकीन तथ्यांक नभएपनि ३५ लाख हाराहारी मात्रै उत्पादन हुने गरेको छ। दाना, औषधि, मजदुर, बैंक ब्याज लगायतको खर्च अत्याधिक बढ्दासमेत अन्डाको मूल्य सोही अनुपातमा बढ्न नसकेपछि किसान विस्थापित हुने चरणमा पुगेका छन्।