काठमाडौं। मौद्रिक नीति सार्वजनिक भएको दोस्रो दिन सेयर बजार ओरालो लागेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिले केही सम्बोधन गर्ने अपेक्षा सेयर लगानीकर्तामा थियो।
तर, सम्बोधन नभएपछि लगानीकर्ताको मनोबल खस्किन पुग्यो र सोमबार सेयर बजारमा गिरावट आएको हो। आइतबार सार्वजनिक चालू आर्थिक वर्षको मौद्रिक नीतिले ठूला लगानीकर्तालाई उपेक्षा गरेसँगै सोमबार बजार २६.६६ अंकले घटेको हो।
आज २ सय ६५ कम्पनीको २ करोड ९ लाख ७९ हजार ८ सय ८७ कित्ता सेयर कूल ४ अर्ब ७३ करोड ७६ लाख रुपैयाँ बढीमा कारोबार भएको छ। सोमबार बजारमा सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार भएको छ।
आज उक्त कम्पनीको २५ करोड ५६ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ। यस्तै, आज किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन्। संस्थाको सेयर मूल्य १० प्रतिशत बढेर ८ सय ७१ रुपैयाँ २० पैसासम्म पुगेको छ।
सोमबार एनआइबिएल ग्रोथ फन्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। आज कम्पनीको सेयर मूल्य ६.९३ प्रतिशतले घटेको छ। आइतबार राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको जोखिम भार पुनरावलोकन गर्ने घोषणा गर्दा बजार ६३.२६ अंकले बढेको थियो।
सार्वजनिक मौद्रिक नीतिमाथि छलफल गर्न आयोजित पत्रकार सम्मेलनमा राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीले यस्तो पुनरावलोकन ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाका लागिमात्रै भनेर प्रष्ट्याएका थिए। आइतबार बजार बन्द नहुँदै मौद्रिक नीति सार्वजनिक भएको थियो।
जसमा घोषणा गरिएको सेयर कर्जाको जोखिम भार घटाउने विषयले लगानीकर्ता उत्साहित भएर कारोबार बढाउँदा बजारमा उछाल आएको थियो। तर, बजार बन्द भइसकेपछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीको भनाइले सोमबारको बजारलाई ओरालो बाटोमा लगेको हो।
राष्ट्र बैंकले साढे २ वर्षअघि १ सय प्रतिशतमै रहेको सेयर बजार जोखिम भार बढाएर २५ लाख रुपैयाँभन्दा माथि १ सय ५० प्रतिशत कायम गरेको थियो।
सोही २५ लाख रुपैयाँको सीमालाई मात्रै ५० लाख रुपैयाँ बनाइएकाे हाे। याे व्यवस्थाले ५० लाख रुपैयाँभन्दा बढी सेयर धितो लिने ठूला लगानीकर्ता निराश छन्।