काठमाडौं। निजी लगानीमा ललितपुरको जावलाखेलमा बुटिक अस्पताल सञ्चालनमा आउने भएको छ। ५६ करोड रुपैयाँ लगानीमा होलियोस अस्पताल अहिले निर्माण भइरहेको छ।
होलियोस आउँदो सन् २०२४ को मध्य जुलाइमा सञ्चालनमा आउन लागेको अस्पतालकाे अहिलेसम्म १६ प्रतिशत निर्माण भएको छ। अझै ८४ प्रतिशत काम सक्न बाँकी छ। अस्पतालमा ३९ करोड २० लाख रुपैयाँ बैंकको ऋण लगानी छ। बाँकी १६ करोड ८० लाख रुपैयाँ संस्थापकको स्वपुँजी लगानी भएको अस्पतालले जनाएको छ।
७० प्रतिशत ऋण र ३० प्रतिशत संस्थापकको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ। यसबीचमा संस्थापकले १५ करोड ९६ लाख रुपैयाँ लगानी गरिसकेका छन्।
होलियसले पहिलो चरणमा २५ बेडको बुटिक अस्पताल सञ्चालनमा ल्याउन लागेको हो। अस्पतालको अध्यक्षमा डा. मिमी गिरी छन्। यस्तै प्रबन्ध निर्देशकमा निरज सिंह रहेका छन्। सिंह चिफ नेफ्रोलोजिस्ट कन्सल्टेन्ट फिजिसियन हुन्। उनी बयोधा अस्पतालमा कार्यरत छन्। अस्पताल सन् २०२० मा स्थापना भएको हो। बुटिक अस्पताल ३८ हजार वर्गमिटरमा फैलिने छ।
अस्पतालको जेस्टियसन पिरियड लामो हुने गरेको छ। निर्माण, ग्राहकलाई आकर्षित गर्न, व्यवसायस्तर कायम राख्न, आफ्नो ब्रान्ड स्थापना गर्न र लाभ प्राप्त गर्न, कम्पनी क्षमता बढाउन थप दुईदेखि तीन वर्ष लाग्न सक्छ। बजारमा विभिन्न किसिमका खेलाडी भएकाले सञ्चालनपछि खरो प्रतिस्पर्धामा उत्रिनुपर्ने हुन्छ।
यसले यस क्षेत्रका अन्य अस्पताल र निजी क्लिनिकहरूबाट कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने छ। यसमा भिन्नता कारक जस्तैः प्रदान गरिएका सेवाको दायरा, सेवाको गुणस्तर, डाक्टर, जटिल केसको उपचारमा सफलता दर, रोगीलाई आकर्षित गर्न र अकुपेन्सीस्तर बढाउनु आदि महत्वपूर्ण छन्।
स्वास्थ्य सेवा आम्दानी र रोजगारीका हिसाबले नेपालको सबैभन्दा ठूलो क्षेत्र बनेको छ। अस्पताल, चिकित्सा उपकरण, क्लिनिकल परीक्षण, आउटसोर्सिङ, टेलिमेडिसिन, चिकित्सा पर्यटन, स्वास्थ्य बिमा र चिकित्सा उपकरण नेपालको स्वास्थ्य सेवा क्षेत्रमा राम्रो गतिमा अगाडि बढिरहेको छ।