दमौली। सेवा र सुविधाको खोजीमा ग्रामीण भेगका सर्वसाधारण सहर केन्द्रित हुने क्रम बढेको छ। स्वास्थ्य, शिक्षा, रोजगारीलगायतका सेवासुविधा खोज्दै तनहुँका ग्रामीण भेगबाट राजमार्ग केन्द्रित स्थानीय तहमा सर्वसाधारणको बसाइँसराइ बढ्दो छ।
पछिल्लो दश वर्षको अवधिमा जिल्लाका ग्रामीण भेगबाट सहरी क्षेत्रमा बसाइँसराइ बढेपछि ६ पालिकाको जनसंख्या ऋणात्मक देखिएको छ। १० पालिकामध्ये चार पालिकाको जनसंख्या बढेको छ भने ६ पालिकाको जनसंख्या घटेको छ। बन्दीपुर गाउँपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिका, घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकाको जनसंख्या पछिल्लो १० वर्षको अवधिमा घटेको छ।
राजमार्ग आसपास रहेका आँबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाको जनसंख्या भने बढेको छ। बन्दीपुरको ०.७४, भानुको ०.६५, भिमादको ०.६७, देवघाटको ०.९७, घिरिङको ०.८६ र ऋषिङको ०.५२ ले ऋणत्मकमा जनसंख्या घटेको तथ्यांक कार्यालयले जनाएको छ।
आँबुखैरेनीमा ०.६६, व्यासमा १.११, म्याग्देमा ०.४५ र शुक्लागण्डकीमा १.३२ ले जनसंख्या बढेको छ। बन्दीपुर गाउँपालिकाको जनसंख्या विसं २०६८ मा २० हजार १३ रहेकामा विसं २०७८ को जनगणना अनुसार घटेर १८ हजार ५ सय ३२ छ। भानु नगरपालिकाको जनसंख्या विसं २०६८ मा ४५ हजार ७ सय ९२ रहेकामा विसं २०७८ मा ४२ हजार ७ सय ९४ पुगेको छ।
भिमाद नगरपालिकाको जनसंख्या विसं २०६८ मा ३१ हजार ३ सय ६२ रहेकामा विसं २०७८ मा २९ हजार २ सय ४८, देवघाट गाउँपालिकाको जनसंख्या विसं २०६८ मा १६ हजार १ सय ३१ रहेकामा विसं २०७८ मा १४ हजार ५ सय ४८ पुगेको छ।
त्यस्तै घिरिङ गाउँपालिकाको जनसंख्या विसं २०६८ मा १९ हजार ३ सय १८ रहेकामा विसं २०७८ मा १४ हजार ५ सय ८४ र ऋषिङ गाउँपालिकाको जनसंख्या विसं २०६८ मा २५ हजार ८ सय ७० रहेकामा विसं २०७८ मा घटेर १७ हजार नौ सय १८ पुगेको छ।
आँबुखैरेनी गाउँपालिकाको जनसंख्या विसं २०६८ मा २० हजार ७ सय ६८ रहेकामा विसं २०७८ मा बढेर २२ हजार २ सय ५२ पुगेको छ। व्यास नगरपालिकाको जनसंख्या विसं २०६८ मा ७० हजार ३ सय ३५ रहेकामा विसं २०७८ मा बढेर ७८ हजार ९ सय ३९ पुगेको छ। म्याग्दे गाउँपालिकाको जनसंख्या विसं २०६८ मा २२ हजार ५ सय २ रहेकामा विसं २०७८ मा बढेर २३ हजार पाँच सय ७८ पुगेको छ।
शुक्लागण्डकी नगरपालिकाको जनसंख्या विसं २०६८ मा ४८ हजार ४ सय ५६ रहेकामा विसं २०७८ मा बढेर ५५ हजार ६ सय २० पुगेको छ। सेवा सुविधाका कारण गाउँ छाडेर सर्वसाधारण सहर झर्न थालेपछि ग्रामीण भेगका स्थानीय तहमा जनसंख्या घट्दो क्रममा रहेको तथ्यांक कार्यालयका निर्देशक जगुलाल बस्याल बताउँछन्।
‘ग्रामीण भेगबाट राजमार्ग आसपासका स्थानीय तहमा बसाइँसराइ बढेपछि ग्रामीण भेगमा जनसंख्या ऋणात्मक अवस्थामा पुगेको हो,’ उनले भने। गाउँमा किन जनसंख्या घट्दैछ त्यसतर्फ पालिकाले सोच्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले बताउँछन्।
उनले भने, ‘स्थानीय तह योजना बनाएर बसाइँसराइ गर्ने क्रम रोक्नेतर्फ लाग्नुपर्छ।’ पछिल्लो समय ग्रामीण भेगमा पनि सेवा सुविधाको पहुँच पुगिसकेकाले गाउँका जनतालाई गाउँमै रोक्ने योजना ल्याउनेतर्फ स्थानीय तह अग्रसर हुनुपर्ने उनको भनाइ छ।