काठमाडौं। व्यावसायिक घराना पञ्चकन्या ग्रुपले प्रवर्द्धन गरेको पञ्चकन्या स्टिल प्रालिको व्यापार १७ प्रतिशत बढेको छ। एक वर्षमा पञ्चकन्याले १० अर्ब १० करोड ९० लाख रुपैयाँको स्टिल व्यापार गरेको हाे।
सन् २०२१ मा उद्योगले ८ अर्ब ६३ करोड ३५ लाख रुपैयाँको स्टिल व्यापार गरेको थियो। एक वर्षमा पञ्चकन्याको स्टिल व्यापार १ अर्ब ४७ करोड ६० लाख रुपैयाँ बढेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ। उद्योगको मार्जिन ५.८७ प्रतिशत थियो।
२०२० मा पञ्चकन्याले ५ अर्ब ८४ करोड रुपैयाँको व्यापार गरेको थियो। उद्योगले ५ अर्ब १४ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।
गत वर्ष डन्डी व्यापार बढे पनि यो वर्ष नाै महिनामा २९.८६ प्रतिशत व्यापार खुम्चिएको छ। उक्त अविधमा उद्योगले ३ अर्ब ७४ करोड रुपैयाँको मात्र स्टिल व्यापार गरेको छ।
डन्डी माग घटेपछि उद्योगले उत्पादन बढाउन सकेको छैन। त्यसैले व्यापारमा गिरावट आएको हो। यो वर्ष उद्योगको व्यापार कोभिडकालको स्तरमा पुगेको छ। यस्तै भारतमा बिलेटको मूल्य बढेकाले उत्पादन लागत बढेको छ।
उद्योगले डन्डी उत्पादनका लागि आवश्यक कच्चा वस्तु बिलेट भारतबाट आयात गर्दै आएको छ। कच्चा वस्तुमा हुने मूल्य अस्थिरता समस्या रहेको छ। कूल सञ्चालन आम्दानीको ९२ प्रतिशत रकम कच्चा वस्तु आयातमा लगानी हुने गरेको देखिन्छ।
कच्चा वस्तुको भाउ र अमेरिकी डलरमा आउने उतारचढावले उद्योगको नाफामा असर गर्दै आएको छ। नेपालमा आइरन एन्ड स्टिल उद्योगबीच कडा प्रतिस्पर्धा छ। अझ बिलेट आफैंले उत्पादन गर्ने ठूला मल्टिप्लान्ट उद्योग सञ्चालनमा छन्।
१९९५ मा स्थापना भएको पञ्चकन्याले लुम्बिनी प्रदेशको भैरहवामा टिएमटी स्टिल बार उत्पादन गर्दै आएको छ। उद्योगको उत्पादन क्षमता बढेर वार्षिक १ लाख ५० हजार टन पुगेको छ।
ग्रुपकाे अध्यक्ष प्रेमबहादुर श्रेष्ठ छन्। सन् १९७० मा श्रेष्ठले स्थापना गरेको ग्रुपले उत्पादनमूलक, ऊर्जा, व्यापार र अटोमोबाइल क्षेत्रमा लगानी विविधिकरण गरेको छ।
यस्तै ग्रुपअन्तर्गत पञ्चकन्या रोटमोल्ड, पञ्चकन्या प्लास्टिकलगायत उद्योगसाथै माई जलविद्युत आयोजना सञ्चालनमा छ।