काठमाडौं। चालू आर्थिक वर्ष नेपाल राष्ट्र बैंकले कर्जा विस्तार प्रक्षेपण घटाएको छ।
राष्ट्र बैंकले गत आर्थिक वर्षको तुलनामा चालू वर्ष कर्जा विस्तार १.६ प्रतिशत बिन्दु घटाएर ११.५ प्रतिशतमा झारेको छ।
गत वर्ष कर्जा विस्तार १२.६ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको थियो। गत वर्ष ५ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा विस्तार हुने अनुमान गरिएकोमा असार मसान्तसम्म १ खर्ब ४१ अर्ब रुपैयाँमात्र निजी क्षेत्रतर्फ कर्जा गएको छ।
चालू आर्थिक वर्ष राष्ट्र बैंकले ५ खर्ब ६२ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरेको छ। यो वर्ष पनि अनुमान गरिएको जस्तै कर्जा विस्तार हुने सम्भावना कम छ।
आर्थिक गतिविधि विस्तार भए कर्जा माग बढ्ने छ। यता सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तय गरेको छ।
विप्रेषण आप्रवाह प्रवृत्ति, तरलतामा आएको सुधार एवं ब्याजदरको घट्दो क्रम तथा बजेट वक्तव्यमा प्रस्तावित सुधार कार्ययोजना र संघ तथा प्रदेश सरकारको विनियोजनबमोजिम हुने पुँजीगत खर्चका कारण आर्थिक गतिविधि चलायमान भई निजी क्षेत्रबाट हुन सक्ने कर्जा बढ्ने अनुमान केन्द्रीय बैंकको छ।
यस्तै माग र बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह गर्न सक्ने क्षमता दृष्टिगत गर्दा चालू आर्थिक वर्ष निजी क्षेत्रतर्फ जाने कर्जा विस्तार अनुमान गरिएको राष्ट्र बैंकले जनाएको छ।
सरकारले चालू आर्थिक वर्ष १७ खर्ब ५१ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ। यस्तै ३ खर्ब २ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेको छ।
यो वर्ष कर्जा विस्तार हुने संभावना रहेको नेपाल बैंकर्स एसोसिसनका पूर्वअध्यक्ष भुवन दाहाल बताउँछन्।
‘गत वर्ष बैंकसँग लगानीयोग्य पुँजी (तरलता) थिएन् र राष्ट्र बैंकले अनुमान गरेको भन्दा धेरै कम कर्जा प्रवाह भयो। यो वर्ष बैंकसँग ४ खर्ब रुपैयाँ बढी लगानी गर्ने पुँजी भएकाले बढ्ने देखिन्छ छ’ उनले भने। अर्थतन्त्र चलायमान भएपछि विस्तारै कर्जाको माग बढ्ने उनको भनाई छ।