काठमाडौं। नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको जोखिमभार सय प्रतिशतमात्रै बनाएकाे छ।
चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार सय प्रतिशत बनाइएकाे बताएका हुन्।
यसअघि २५ लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १ सय प्रतिशत र २५ लाखमाथि १ सय ५० प्रतिशत थियो।
केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको जोखिम भार पुनरावलोकन गर्ने घोषणा गरेको थियो। तर, उक्त पुनरावलोकन ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाका लागिमात्रै हुने गभर्नर अधिकारीले बताए।
सार्वजनिक मौद्रिक नीतिमाथि छलफल गर्न आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले हाल २५ लाख रुपैयाँभन्दा माथिको सेयर धितो कर्जाको जोखिम भार १ सय ५० प्रतिशत छ। त्यसभन्दा तलको कर्जाको भने १ सय प्रतिशत तोकिएको छ।
सेयर कर्जाको जोखिम भार घटाउनुपर्ने माग सेयर लगानीकर्ताले राख्दै आएका थिए। ‘सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने छ,’ चालू आर्थिक वर्षको मौद्रिक नीतिमा छ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको उक्त घोषणाले सेयर बजारका ठूला लगानीकर्ता हर्षित भएका थिए। तर, पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले उक्त घोषणा साना सेयर लगानीकर्ताका लागिमात्रै भएको प्रष्ट पारे।
‘आज भन्दा दुई वर्षअघि हामीले २५ लाख रुपैयाँभन्दा साना कर्जाको हकमा सय प्रतिशतमात्रै जोखिम भार लागू हुने र त्यसभन्दा माथिको कर्जाको हकमा १ सय ५० प्रतिशत लागू हुने व्यवस्था गरेका थियौं,’ गभर्नर अधिकारीले भने, ‘अहिले २५ लाख रुपैयाँको सीमा बढाएर ५० लाख रुपैयाँ पुर्याएका हौं।’
त्यससम्बन्धी व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले चाँडोभन्दा चाँडो एकीकृत निर्देशन ल्याउने उनले जानकारी दिए। साथै, सबै सेयर धितो कर्जाको जोखिमभार घटाएर सय प्रतिशत कायम नगरिने पनि उनले प्रष्ट पारे।
‘कन्फ्युजन भएर सबै सेयर कर्जाको १ सय ५० प्रतिशतबाट १ सय प्रतिशतमा ल्याउन वा १ सय २५ प्रतिशतमा ल्याउन खोजिएको हो कि भन्ने बुझिएको हो भने, त्यस्तो होइन,’ उनले भने, ‘यसमा हामीले बोर्डमा पनि छलफल गरिसकेका छौं, पोलिसीमा नलेखौं भनेरमात्रै पुनरावलोकन गरिने भनिएको हो।’
गभर्नर अधिकारीका अनुसार अब केही दिनमै राष्ट्र बैंक नियमन विभागले सेयर धितो कर्जासम्बन्धी सर्कुलर ल्याएर ५० लाख रुपैयाँसम्म कर्जा लिनेका हकमा १ सय प्रतिशत जोखिम भार कायम गर्ने छ।
गत आर्थिक वर्ष जेठ मसान्तसम्म बैंक तथा वित्त कम्पनीले सेयर धितो राखेर कूल ७४ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। जसमा २५ लाख रुपैयाँभन्दा कम ७ अर्ब १६ करोड, २५ लाखदेखि ५० लाख रुपैयाँसम्म १२ अर्ब ५६ करोड, ५० लाखदेखि १ करोड रुपैयाँसम्म ११ अर्ब ४० करोड रुपैयाँ र १ करोड रुपैयाँभन्दा माथि ४३ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ।
बैंक तथा वित्तीय संस्थाले २५ लाख रुपैयाँसम्मको कर्जामा १ सय प्रतिशत जोखिम भार राखेर कर्जा प्रवाह गरेका थिए भने ६५ अर्ब ५३ करोड रुपैयाँ सेयर धितो कर्जा १ सय ५० प्रतिशत जोखिम भार कायम गरी कर्जा प्रवाह गरेका हुन्।