काठमाडौं। सडक विभागका वरिष्ठ इन्जिनियर हरिकुमार पोखरेलविरुद्ध जल्ला अदालत काठमाडौंमा बलात्कार अभियोगमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीका अनुसार पोखरेलविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो।
‘कानुनी प्रक्रियाअनुसार काम हुँदैछ, जिल्ला अदालतमा मुद्दा पुगेको छ,’ एसएसपी कार्कीले क्यापिटल नेपालसँग भने। तर, इन्जिनियर पोखरेल पक्राउ गर्ने विषयमा भने उनले प्रष्ट पारेका छैनन्।
‘रेप केसमा धेरै बोल्न मिल्दैन, कानुन बमोजिम काम हुन्छ,’ एसएसपी कार्कीले भने। इन्जियर पोखरेलले आफ्नै घरमा घरायसी कामदारका रूपमा कार्यरत २२ वर्षिया युवतीलाई बलात्कार प्रयास गरेको अरोप लागेको छ। पीडित युवतीले सामाजिक सञ्जालमा आफूमाथि भएको बलात्कार प्रयासको एक मिनेटको भिडियो नै सार्वजनिक गरेकी छन्।
पीडितका अनुसार पोखरेलले २०७९ को फागुनदेखि व्यक्तिगत अंगमा छुने तथा जिस्क्याएर दुर्व्यवहार गर्दै आएका थिए। यसअघि पीडितले उक्त घटना सार्वजनिक गर्न खोज्दा पोखरेलले माफी मागेर गल्ती नदोहोर्याउने बताएका थिए। तर, असार ८ गते काममा जाँदा केही समय ढिलो भएको र पोखरेलले फोन गरेर छिटो आउन आग्रह गरेको पिडीतले बताएकी छन्।
पोखरेलको नियतमा शंका लागेपछि पीडितले घर बाहिरैबाट मोबाइलको क्यामेरा अन गरेर काममा गएको बताएकी छन्। सो दिन पोखरेलको घरमा परिवारका अन्य कोही सदस्य नभएकाले घरको भान्छा कोठामा ती युवतीमाथि बलात्कार प्रयास गरेको भिडियोमा देख्न सकिन्छ।
साउन ५ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडितले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। इन्जिनियर पोखरेल सडक विभागअन्तर्गत मध्यपहाडी (पुष्पलाल) राजमार्गका आयोजना निर्देशक हुन्। उता विभागले भने आफ्नो कार्यालयभन्दा बाहिरको घटना भएकाले तत्काल केही गर्न नसक्ने जनाएको छ। पोखरेल एक सातादेखि घरायसी बिदा लिएर कार्यालय नगएको आयोजना कार्यालयले जनाएको छ।