काठमाडौं। बागमती प्रदेशभित्र सञ्चालन हुने सवारीसाधनको भाडा घट्ने भएको छ।
श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यतायातको भाडा समायोजन प्रस्ताव आइतबार मुख्यमन्त्री कार्यालयमा पठाउन लागेको मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिए।
‘हामीले अध्यन गरेर भाडादर प्रस्ताव गरेका छौं। मन्त्रीज्यूबाट सहमति गराएर आजै मुख्यमन्त्री कार्यालयमा पठाउने योजना छ,’ उनले भने।
मुख्यमन्त्री कार्यालयबाट प्रस्ताव स्वीकृत भएपछि भोल नै नयाँ भाडा दर राजपत्रमा प्रकाशित हुने उनले जानकारी दिए।
गाडी भाडा २.३० प्रतिशतदेखि ३.२० प्रतिशतसम्म घटाउने प्रस्ताव गरिएको उनले जानकारी दिए। अरू गाडीको भाडा घटे पनि ट्याक्सीको भने तत्काल कुनै निणर्य भएको छैन।
ट्याक्सी भाडा समायोजन गर्न सरोकारवाला निकाय, व्यवसायीसँग छलफल गरिने मन्त्रालयले जनाएको छ।
नेपाल आयल निगमले असारमा दुईपटक इन्धन भाडा घटाइसकेको छ। निगमले असार १८ र ३१ गते इन्धन मूल्य घटाएको थियो।
इन्धनको मूल्य घटेपछि यातायात व्यवस्था विभागले पनि अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा घटाएको थियो।
विभागले यात्रुवाहक सवारीसाधनमा २.१३ प्रतिशत, पहाडमा चल्ने मालवाहकमा २.७८ र तराइमा चल्ने मालवाहकको ३.०९ प्रतिशतले भाडा घटाएको थियो।
प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्ने अधिकार प्रदेशअन्तर्गतका मन्त्रालयलाई हुने भएकाले श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा समायोजन गर्न लागेको हो।