काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काममा अपेक्षाकृत गति पैदा हुन नसकेपछि सरकारले चासो व्यक्त गरेको छ । भारत भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कम्पनी टेक्सम्याकोकामा उच्च अधिकारीसँग छलफल गरेका छन।
राष्ट्रिय गौरवका रुपमा रहेको आयोजनाको निर्माण प्रक्रियाले अपेक्षाकृत रुपमा गति लिन नसकेपछि उच्च सरकारी नेतृत्वले नै निर्माण व्यवसायीको प्रधान कार्यालय कोलकाता पुगेर छलफल गरेको हो । आयोजनाको सबैभन्दा जटिल मानिएका दुई वटा ठूला सुरुङको काम हाल जारी छ । तर अपेक्षाकृत रुपमा काम हुन सकेको छैन ।
अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोले जिम्मा लिएको तल्लो ठाडो सुरुङमा फलामका पाइप राख्ने कामले गति लिएको भए पनि माथिल्लो ठाडो सुरुङमा पाइप राख्ने काममा अपेक्षाकृत प्रगति हुन सकेको छैन ।
आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार अष्ट्रियन कम्पनीले जिम्मा लिएको तल्लो सुरुङमा हालसम्म १४० मिटर फलामको पाइप जडान गरिसकिएको छ । अष्ट्रियन कम्पनीले अब २३२ मिटर पाइप जडान गर्न बाँकी छ । तल्लो ठाडो सुरुङको कूल लम्बाइ ३७२ मिटर छ । कूल पाँच मिटर लम्बाइ र २७ टन तौल भएका फलामका पाइप जडान भइरहेको छ ।
“ठाडो सुरुङमा काम गाह्रो छ तर राष्ट्रिय आवश्यकताका आधारमा शीघ्र अगाडि बढोस् भन्ने सरकारको अपेक्षा छ, हाम्रो पनि त्यही अपेक्षा छ”, प्रवक्ता न्यौपानेले भने ।
भारतीय कम्पनी टेक्सम्याकोले जिम्मा लिएको माथिल्लो ठाडो सुरुङमा हालसम्म मात्रै ५२.५मिटर फलामको पाइप जडान भएको छ । सो सुरुङको कूल लम्बाइ ३१० मिटर छ । अझै २५७ मिटरमा फलामको पाइप जडान गर्न बाँकी छ । आगामी चैतसम्म आयोजना सम्पन्न गर्नुपर्ने सीमा निर्धारण गरिएको छ ।
कामको गति हेर्दा तोकिएको समयमा काम पूरा हुन कठिनाइ हुने देखिएपछि सचिव घिमिरे र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले टेक्सम्याकोका अध्यक्ष एसके पोद्दार र व्यावसायिक सल्लाहकार आर महेश्वरीसँग संवाद गरेको भेटमा सहभागी आयोजनाका प्रतिनिधि विमल गुरुङले जानकारी दिए ।
“आयोजनाको कामलाई गति दिने विषयमा भएको छलफल असाध्यै महत्वपूर्ण रह्यो । माथिल्लो ठाडो सुरुङको कामलाई थप गति दिन निर्माण व्यवसायीको अध्यक्ष र सल्लाहकारले प्रतिबद्धता जनाउनुभएको छ”, गुरुङले भने । भारतीय कम्पनी टेक्सम्याकोले आगामी तीन हप्ताभित्र थप जनशक्ति उपलब्ध गराएर काम गर्ने प्रतिबद्धता जनाएको छ ।
लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत असार १ र माथिल्लोमा ९ असारबाट पेनस्टक पाइप जडान शुरु गरिएको थियो । स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाको हाल भौतिक प्रगति ९८.५ प्रतिशत पुगेको छ ।
आयोजनालाई गति दिन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई विशेष जिम्मेवारी दिएका छन । सोही निर्देशनअनुसार नै हरेक महिना आयोजनास्थल पुगेर कार्यकारी निर्देशक घिसिङले समस्या समाधानमा सहजीकरण गर्दै आएका छन ।
पछिल्लो पटक तय गरिएको समयतालिकाभित्रै र गुणस्तरमा निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीहरुलाई प्राधिकरणले ताकेता गरिरहेको छ । सरकारको योजनाअनुसार आगामी चैतको दोस्रो साताभित्रमा पहिलो युनिटबाट ७६ मेगावाट र त्यसपछि बाँकी पाँच युनिटबाट आगामी असार भित्रमा विद्युत् उत्पादन गरी आयोजनाको निर्माण सम्पन्न गर्नुपर्नेछ ।