काठमाडाैं। पछिल्लो वर्षको मौद्रिक नीतिलाई धेरैले घरजग्गा र सेयर बजार नियन्त्रण गर्ने नीतिका रूपमा बुुझेका छन् र बुुझाइएको छ। ब्याजदरपछि सबैभन्दा बढी ध्यान गएको क्षेत्रका रूपमा घरजग्गा र सेयर बजार परेको छ। घरजग्गा र सेयर बजारमा जाने ऋण पनि सहज र सरल हुनुपर्छ भन्ने मान्यता बलियो छ। निजी क्षेत्रले प्रधानमन्त्री, अर्थमन्त्री, विपक्षी सबैलाई अर्थतन्त्रको मेरुदण्ड घरजग्गा र सेयर बजार हो भनेर विश्वास दिलाउन (कन्भिन्स गराउन) हरसम्भव कोसिस गरिरेहका छन्।
त्यसैले त प्रधानमन्त्रीदेखि सबैको चासो सेयर बजार र घरजग्गा बढ्नुपर्छ भन्नेमा छ। प्रणालीलाई प्रभावित बनाएर सीमित समूहले वित्तीय सुशासनलाई जग्गाको मूल्यसँग जोडेका छन्। त्यसैले सरकार पनि अर्थतन्त्रको संरचनात्मक सुधारभन्दा क्षणिक लाभहानीलाई अगाडि राखेर काम गरिरहेको छ। कुनै व्यक्तिको आम्दानी बढेर जग्गाको मूल्य बढ्नु स्वाभाविक हो। तर, नेपालमा व्यक्तिको आम्दानीमा सुधार भएको छ, सहज कर्जाका कारण घरजग्गा मूल्य आकासिएको छ। घरजग्गा र सेयर बजारमा जाने अधिक कर्जा समस्याको जड हो भन्ने नीति निर्माताले बुझेका दिन समाधान पहिल्याउन सजिलो हुन्छ।
सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउनुपर्ने, सेयर धितोमा राखिएको जोखिमभार घटाउनुपर्ने, जग्गा धितोमा राखिएको जोखिम भार मूल्यांकन भार घटाउनुपर्ने आवाज चर्कोरूपमा उठेको छ। गत वर्ष घरजग्गामा जाने कर्जालाई अनुत्पादक मानेर काठमाडौं उपत्यकाभित्र मूल्यांकनको ३० प्रतिशत र उपत्यकाबाहिर ४० प्रतिशत कर्जा दिने व्यवस्थाले घरजग्गा कारोबार खुम्चिएर समग्र अर्थतन्त्रमै संकट निम्तिएको धेरैको ठम्याइ छ।
वैश्विक र आन्तरिक परिवेश हेर्दा अनुत्पादक क्षेत्रमा आक्रमक लगानी गर्ने बेला भइसकेको छैन। सेयर धितोमा १२ करोड रुपैयाँको सीमा हटाउने वा बढाउने होइन, बरु वित्तीय संस्थाबाट सेयर धितोमा ऋण लिएर सेयरमा खेल्ने प्रवृत्ति रोक्नेतर्फ दीर्घकालीन नीति तय गर्नुपर्छ। अन्तर्राष्ट्रिय अभ्यास अनुरूप पुँजीबजारलाई दीर्घकालीनरूपमा चलायमान बनाउन सेयर दलालमार्फत नै लगानीकर्ताले सेयर किन्ने ‘कर्जा मार्जिन ट्रेडिङ’ सहज कार्यान्वयनमा लैजानुुपर्छ।
निश्चित रकम राखेर छुुट्टै कोष खडा गर्ने वा स्थायीरूपमा मार्जिन ट्रेडिङ सुविधाका लागि वित्तीय स्रोत उपलब्ध गराउन सक्ने खालको गैरबैंकिङ वित्तीय संस्था स्थापना गरी स्थायी ब्याजदरको मार्जिन ट्रेडिङ कर्जा प्रवाह हुने व्यवस्था मिलाएर तरलता अभाव र ब्याजदर घटबढको चक्रबाट सेयर बजार मुक्त राख्नुुपर्छ।
चालू मौद्रिक नीतिबाट सेयर धितो (मार्जिन प्रकृति) र घरजग्गामा जाने कर्जाको जोखिम भार १ सय ५० बाट घटाएर १ सय २५ कायम गर्दा सकारात्मक प्रभाव पर्न सक्छ। त्यस्तै घरजग्गा कर्जा दिँदा गरिने धितो मूूल्यांकन ५ देखि १० प्रतिशत बिन्दुुले बढाउनुपर्छ। विगतमा गरिएको कडाईले घरजग्गा कारोबार खस्किएको र त्यसको असर सहकारीमा देखिएको छ। सहकारीका समस्याले समग्र अर्थतन्त्र धर्मराउने स्थिति छ। केही समय यस्तै अवस्था रहे सहकारीका कारण बैंक तथा वित्तीय संस्थामा पनि आउने देखिन्छ।
घरजग्गा कारोबार चलायमान बनाउँदा सहकारीको घरजग्गामा फसेको पैसा उठ्ने वातावरण बन्छ र सहकारी समस्या पनि एक हदसम्म समाधान हुन्छ। तर, सहकारीको नियमन र सुपरीवेक्षणका लागि विशिष्टिकृत नियामक संस्था नबनाएसम्म उत्ताउलोपन रोकिने छैन। त्यसका लागि राष्ट्र बैंकभन्दा पनि सरकार गम्भीर बन्नुपर्छ।