काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको एक्स–रे मेसिनले हङकङबाट 'ब्रेक सु' भनेर ल्याइएको सामान पुन: परीक्षणको जनाउ दिँदादिँदै भन्सारले छाडेको पाइएको छ।
एक्से–रे मेसिनले सामानमा ‘रि–चेक’ संकेत गर्दागर्दै भन्सारका अधिकारीले सामान पुन: परीक्षण नगरी भन्सार पास गराएको खुलेको हो। भन्सार विभागका अधिकारीले ब्रेक सु भनेर छिराइएको सामान हेर्दा एक्स–रे मेसिनले रि-चेक लेखेको भेटिएको हो।
भन्सारको एक्स–रे मेसिनले ब्रेक सुको पुन: परीक्षण गर्न आदेश दिएपछि भन्सारका केही कर्मचारीले उक्त कार्टुनलाई बाहिर ल्याए। कार्टुन खोलेर हेर्दा ब्रेक सु देखियो। ब्रेक सुलाई खोलेर भन्सारका केही कर्मचारीले हेरेको सिसी टिभी फुटेजमा प्रष्ट देखिन्छ।
एक्स–रे मेसिनले सामानमाथि शंका गरेगलत्तै ड्युटीमा खटिएका केही कर्मचारीले त्यो सामानलाई बाहिर ल्याएर सामान्य चेकजाँच गरेका थिए। सामान परीक्षणमा खटिएका कर्मचारीले एक्स–रे मेसिनले पुन परीक्षणको जनाउ दिएको सन्देश ड्युटी अफिसरलाई गराएका थिए। त्यति हुँदा पनि ड्युटी अफिसर उक्त सामान पुन परीक्षणका लागि तयार नहुनुले सुन तस्करसँग ड्युटी अफिसरदेखि केही कर्मचारीको संग्लनता रहेको अनुसन्धानमा संग्लन अधिकारीहरुको भनाइ छ।
एक्स–रे मेसिनले सामानलाई शंकास्पद भनेपछि ड्युटीमा खटिएका कर्मचारीले सामान खोले र हालमा लिने वित्तिकै सामान्य ब्रेक सुको तौलभन्दा त्यसको तौल बढी भएको समेत ड्युटी अफिसरलाई जानकारी गराएका थिए। त्यसको समेत ड्युटी अफिसरले कुनै प्रवाह नगर्दा सामान छुटेको देखिन्छ।
कतिपयले भन्सारको एक्स–रे मेसिन पुरानो भएको र रिड गर्न नसक्ने प्रतिक्रिया दिइरहेका बेला मेसिनले उक्त सामान रि चेक गर्न भनेको थियो। त्यहाँ रहेका कर्मचारीले पुन परीक्षण नगर्दा भन्सार कार्यालयबाट सुन भित्र छिरेको अनुसन्धानमा संग्लन ती अधिकारीको भनाइ छ।
सिसी टिभी फूटेज, हङकङबाट ब्रेक सु भनेर ल्याइएको सामानलाई बिना शंका छाड्नु, एक्स–रे मेसिनले रिचकको संकेतलाई बेवास्ता गर्नुले कर्मचारीको मिलेमतो प्रष्ट रहेको देखिन्छ।
अनुसन्धानमा संग्लन ती अधिकारीका अनुसार तस्करले सुनकै ब्रेक सु बनाएर ल्याएका हुन्। ब्रेक सुभित्र सुन राखेर प्याक गरेर ल्याएका होइनन्। जसरी एउटा ब्रेक सु बन्न विभिन्न सामान चाहिन्छ, त्यसमध्ये एउटा भाग सुनको बनाएको र बाँकी भाग मेटललगायत राखिएको हो। त्यही भएर भन्सारको एक्स–रे मेसिनले पहेँलो धातु पत्ता लगाउन नसकेर रिचेक लेखेको हुन सक्ने देखिन्छ।
ब्रेक सु भित्र सुन ल्याउने वित्तिकै मेसिनलाई पत्ता लगाइहाल्छ। तर, यहाँ ब्रेक सु बनाउने कम्पनीसँगै तस्करले सेटिङ गरेर ब्रेक सुको एउटा भागमा सुन लेपन गरेर बाँकी भाग ब्रेक सुलाई चाहिन वस्तु नै राखेको भेटिएको हो।
यो सबै घटना हेर्दा तस्करले कसरी भन्सार कार्यालयको मेसिनले रिड गर्दैन भनेर काफी जुक्ति लगाएको देखिन्छ। यदि रिड गरिहाल्यो भने पनि कर्मचारीलाई पहिल्यै मिलाएको पनि आंशका गर्न सकिन्छ।
यदि कर्मचारी नमिलेको भए मेसिनले रिचेक गर भन्दा पुन परीक्षण गरिएको छैन। पुन परीक्षण किन गरिएन छ? भन्ने प्रश्न गम्भीर भएको अनुसन्धान अधिकृतको भनाइ छ। तस्करीको सुन पास गराउनकै लागि रेडी ट्रेड फर्म खोलिएको र गत शुक्रबारमात्रै ३६ वटा कार्टुन आएको हो।
सामान स्क्यानरमा हाल्दा कैफियत देखिएको थियो। स्क्यानरले कालो चित्र देखिएपछि खोलेर पूर्ण जाँच गर्नुपर्नेमा भन्सारका अधिकारीहरुले कार्टुनलाई हातमा लिएर ओल्टाइपल्टाइ हेरेर पुन कार्टुनमै राखेर भन्सार पास गराएका थिए।