एजेन्सी। खाडी राष्ट्र साउदी अरबले विश्वकै सबैभन्दा ठूलो सहर (मेगासिटी) बनाउन थालेको छ। साउदी अरब प्रस्तावित विवादाष्पद निओम क्षेत्र विकास गर्न १० अर्ब रियाल ऋण जुटाउन प्रयासरत छ। जसमा १ सय ७० माइल लामो सहर द लाइन समावेश छ।
मिडिया कम्पनी ब्लुमबर्गका अनुसार २ अर्ब ७० करोड अमेरिकी डलरबराबरको ऋण परियोजनाको प्रारम्भिक चरणमा कोष प्रयोग गरिने छ। यस विषयमा निओमले समाचारमा टिप्पणी गर्न अस्वीकार गरेको छ।
साउदीले उत्तरपश्चिममा विकास गर्न सेट गरिएको निओमले १० हजार २ सय बर्गमाइल क्षेत्र ओगटेको छ। विश्वकै १ सय ७० माइल लामो सहरसहित १० परियोजना समावेश गरिने छ। द लाइन नामको सहरका साथै बन्दरगाह सहर ओक्सागन, स्कि रेस्ट ट्रोजेना र आइल्यान्ड रिसोर्ट सिन्डलाह गरी तीन क्षेत्र घोषणा गरिएको छ।
द लाइनमा निर्माण पहिले नै चलिरहेको छ, जुन हालैको वृत्तचित्रको विषय थियो। ऋण अब केही महिनामा पूरा हुन सक्छ। ऋण जुटाउन भइरहेको प्रयासका विषयसँग परिचित व्यक्तिहरूबाट ब्लुमबर्गलाई रिपोर्ट प्राप्त भएको छ। नाम नखुलाइएका ती सूचनादाताले स्थानीय ऋणदाताले ठूलो मात्रामा कर्जा उपलब्ध गराउने बताएका छन्।
‘बैंकहरूले निओमसँग वार्ता गरिरहेका छन्। यदि सहमत भए आगामी केही महिनामा ऋणको लक्ष्य पूरा हुन सक्छ,’ ब्लुमबर्गले भनेको छ।
ब्लुमबर्गले १० अर्ब रियाल ऋणसँगै सुशाह टापु विकासका लागि स्थानीय बैंकहरूबाट थप ३ अर्ब रियाल (८० करोड डलर) पनि माग गरिरहेको बताएको छ।
लक्जरी गन्तव्य सुशाह टापु सिन्दलाह रिसोर्ट टापुको हिस्सा हुनेछ। यसमा विश्वको सबैभन्दा ठूलो कोरल बगैंचा समावेश हुनेछ।
निओम साउदी युवराज मोहम्मद बिन सलमानको पहलमा बनेको कम्पनी हो। तेलमा निर्भरता कम गर्न देशको अर्थतन्त्रलाई विविधिकरण गर्न साउदी भिजन २०३० योजनाको एक हिस्सा निओम हो। देशको सार्वजनिक लगानी कोषद्वारा ठूलो मात्रामा बैंकको ऋण लगानी गरिएको छ। जसले सरकारका तर्फबाट कोष लगानी गर्छ।
निओम वृहत परियोजनामा ९५ हजार मानिसका लागि अस्थायी आवास र सुविधा विकास स्थानीय लगानीकर्ताको समूहबाट २१ अर्ब रियालभन्दा बढी रकम समावेश छ।
यसैबीच, रियाद बैंकले इटालियन स्टुडियो लुका डिनी डिजाइन एन्ड आर्किटेक्चरले डिजाइन गरेको सिन्दलाहका लागि ३ अर्ब रियाल ऋण उपलब्ध गराएको छ।
यस्तो हुनेछ निओन मेगासिटी
निर्माणाधीन मेगासिटीमा उड्ने कार, नक्कली चन्द्रमा र रोबोट कर्मचारी हुनेछन्। सहरको लागत ५ खर्ब डलर हुने अनुमान छ।
अत्याधुनिक महानगर मिश्र र जोर्डनको सीमानजिक हुनेछ। यसले सन् २०२५ देखि आवास एवं व्यवसाय सुचारु गर्ने लक्ष्य छ। यसको निर्माण ‘शून्य’ बाट हुँदैछ। लन्डनभन्दा करिब १९ गुणा ठूलो हुने निओम सहर सौर्य र वायु ऊर्जाद्वारा सञ्चालित हुनेछ।
निओमका अध्यक्ष तथा साउदी राजकुमार सलमानका अनुसार निओम भविष्यमा ड्रोन र रोबोटिक्स विकासको मुख्य केन्द्र हुनेछ। विवरणअनुसार अहिलेसम्म साइन्स फिल्ममा मात्रै हेरिँदै आइएका उड्ने ट्याक्सी पनि सहरमा हुनेछन्।
यो प्रक्रियाका लागि ड्रोन र प्लेनको प्रयोग गरिने छ। साथै, मनोरञ्जनका लागि डाइनोसर रोबोट र मार्सल आर्ट रोबोट पनि बनाइने छ। यी दुई एकापसमा लड्नेछन्।
साउदीले प्रत्येक रात प्रकाश दिने एउटा विशाल कृत्रिम चन्द्रमा पनि बनाउने छ। साउदीले राजधानी रियाधमा सन् २०१७ मा फ्युचर इनिसिएटिभ सम्मेलनमा निओम निर्माणको घोषणा गरेको थियो।