काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय मुद्रा कोष नेपाल मिसन टोलीबीच शुक्रबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ।
भेटवार्तामा अध्यक्ष ढकालले विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्र सुधारका लागि कोषले सहयोग गर्नुपर्ने बताए।
बजारमा माग सिर्जना गर्न आगामी मौद्रिक नीतिले ब्याजदर घटाउने, चालू पुँजी कर्जा मार्गदर्शन परिमार्जन एवं कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण पुनर्कर्जा सुविधा दिनुपर्नेमा महासंघले राष्ट्र बैंकसँग आग्रह गरिरहेको बताउँदै अध्यक्ष ढकालले यसमा अन्तर्राष्टिय मुद्रा कोषको पनि सहयोग आवश्यक रहेको बताए।
बजारमा उद्यमी-व्यवसायी र उपभोक्ता दुवैको आत्मविश्वास बढाउनु अहिले सबैभन्दा महत्वपूर्ण विषय रहेकोमा अध्यक्ष ढकालले जोड दिए।
कोषको मिसन टोली प्रमुख टिएडन टिन्डाले अहिलेको अवस्थामा निजी क्षेत्रको धारणा बुझ्न आवश्यक भएकाले आफू महासंघ आएको बताएका थिए।
उनले बजारमा माग घटनुको कारण र पछिल्लो बजेटको प्रभावबारे जिज्ञासा राखेका थिए।
महासंघ अध्यक्ष ढकालले श्रीलंकाको अर्थतन्त्रजस्तो हुने शंकामा बजारमा माग संकुचन गर्न ल्याइएका कार्यक्रमले बजारमा समस्या भएको बताए।
महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अधिकांश उद्योग न्यून क्षमतामा सञ्चालित रहेकाले बजार चलायमान बनाउन आवश्यक रहेको बताए।
महासंघ लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले लगानी विस्तारबारे नीतिगत सुधार आवश्यक रहेको बताए।
मिसन टोली प्रमुख टिन्डाले महासंघ अध्यक्षले राखेका विषयलाई आफूले महत्वसाथ लिएको बताए।
यस विषयमा थप छलफल गर्ने र आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने बताए।