काठमाडौं। दक्षिणी छिमेकी भारतबाट वार्षिक ५ लाख टन चामल आयात हुँदै आएकोमा बिहीबारबाट रोकियो।
भारतले चामल निर्यात रोकेपछि नेपालमा के हुन्छ र कसरी चामल व्यवस्थापन हुन्छ भन्ने चासो र चिन्ता बढ्न थालेको छ।
भारतले नै केही समय अघिदेखि गहुँ निर्यातमा समेत प्रतिबन्ध लगाएको थियो। तर, अहिले आएर चामल पनि रोकेपछि भने नेपाली बजारमा चामल व्यवस्थापन कसरी हुन्छ भन्ने विषय पेचिलो बनेको छ।
धन्य, छिमेकी भारतले धान निर्यातमा भने रोक लगाएको छैन। हाल भारतबाट वार्षिक ६ लाख टन धान आयात भइरहेको छ।
भारतले नेपालतर्फको चामल निर्यात रोकेको विषयमा भने हालसम्म सरकारी निकायले प्रतिक्रिया जनाएका छैनन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने भारतले चामल निर्यातमा रोक लगाएको विषयमा आधिकारिक जानकारी नआएको भन्दै पन्छिरहेको छ।
मन्त्रालयका एक उच्च अधिकारीका अनुसार हालसम्म आधिकारिक पत्र नपाएका कारण समाचारकै आधारमा सामान्य छलफलमात्र भइरहेको छ।
तर, मन्त्रालयका सहप्रवक्ता विष्णुप्रसाद भुसाल भने द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाले चामल निर्यातमा रोक लगाएको विषयमा थप अध्ययन भइरहेको बताए।
भारतको विदेश व्यापार महानिर्देशनालयले सूचना जारी गरी बासमतीबाहेक सबै प्रकारका चामल निर्यातमा रोक लगाएको हो। हाल भारतबाट धान, चामल र गहुँ आयात हुँदै आएको छ।
भारतले चामल आयात रोकेपछि नेपालका व्यवसायी भने खुसी छन्। नेपाल चामल, तेल, दाल उद्योग संघ अध्यक्ष सुबोधकुमार गुप्ताले चामल आयात गर्नुभन्दा धान आयात गर्दा धेरै फाइदा हुने भएकाले धानको कोटा बढाउन सरकारले ‘लबिङ’ गर्नुपर्ने बताए।
‘अहिलेकै अवस्थामा चामल आयात रोकिँदा मूल्यवृद्धि हुने अवस्था छैन,’ गुप्ताले क्यापिटल नेपालसँग भने, ‘सरकारले भारतसँग धानको कोटा बढाउनेतर्फ छलफल गर्नुपर्छ।’
धान आयात हुँदा नेपालमा रहेका चामल मिल पूर्णरूपमा सञ्चालनमा आउने र त्यसले रोजगारीसमेत बढ्ने उनको भनाइ छ।
भारतले तोकेको वार्षिक ६ लाख टन धानको कोटा साउनभित्र सकिने र कात्तिकमा मात्र नयाँ सम्झौताअनुसार धान आउने उनले बताए। यो संख्या बढाएर ११ लाख टन बनाउन सके नेपालमा चामल अभाव नहुने उनजका भनाइ छ।
व्यावसायिक घराना केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुदकुमार दुगडले धान आयातमा रोक नलगाएकाले तत्कालै नेपाली बजारमा कुनै प्रभाव नपर्ने बताए।
भारतले चामल आयात रोके पनि नेपालमा रहेको चामल उद्योगमा तत्कालका लागि पुग्ने उत्पादन रहेको उनको भनाइ छ।
संघले अहिले नेपालमा कति धान र चामल ‘स्टक’ छ भन्ने विषयमा तथ्यांक लिइरहेको छ। धान आयात परिमाण बढाउने विषयमा मन्त्रालयसँग छलफलका लागि प्रक्रिया अगाडि बढाइरहेको दुगडले बताए। चामलभन्दा धान आयात गर्दा धेरै फाइदा हुने भएका कारण सरकारले अब धान आयात कोटा बढाउनेतर्फ लाग्नुपर्ने उनको भनाइ छ।
नेपालमा वार्षिक करिब १५ देखि २० लाख टन चामल खपत हुँदै आएको छ। त्योमध्ये करिब १० लाख टन उत्पादन हुन गर्छ।