काठमाडाैं। चित्रकार केदार दाहाल केही वर्षअघि एउटा कार्यक्रममा थिए। त्यहाँ उनी कलिला बालबालिकाको मुहारमा विभिन्न चित्र (फेस पेन्टिङ) बनाउन मग्न थिए। उनी त्यसमा यतिविघ्न मग्न भएछन्, दायाँबायाँ को आए भन्ने पनि ध्यान दिएका थिएनन्।
उनी त्यही काममा व्यस्त भइरहेका थिए, नजिकै एक शालिन महिला उनको काम हेरिरेहकी थिइन्। ‘सिम्पल सारी’ मा सजिएकी ती महिलातिर केदारको ध्यान गएको थिएन। उनी बच्चाहरूको मुहारमा फूल, पुतली, नेपालको झण्डालगायत चित्र कोरिरहेका थिए।
जब उनले एक बच्चाको मुहारमा चित्र बनाएर सके, उनको ध्यान बल्ल आफ्नो काम हेरिरेहकी तिनै महिलातिर मोडियो। उनी एकछिन अक्क न बक्क भए। साँच्चै भन्नुपर्दा उनको मुख नै सुक्यो। केही बोल्न सकेनन्। ‘ला! अब के गर्ने होला?’ उनको दिमागले यतिमात्र सोच्न सक्यो।
अनि, जुरुक्क उठेर उनले दुवै हात जोड्दै ती शालिन महिलालाई नमस्कार गरे। ती महिला पनि मुसुक्क मुस्काइन् र नमस्ते फर्काइन्। बल्ल, केदारलाई सास आयो।
अनि, ती महिलाले केदारलाई आग्रहपूर्ण लवजमा प्रश्न गरिन्, ‘मेरो हातमा पनि एउटा चित्र बनाइदिनुहुन्छ?’
केदारले मसिनो स्वरमा जवाफ दिए,? ‘हुन्छ हजुर, बनाइदिन्छु!’
केदारले कलिला बच्चाको मुहारमा पेन्टिङ गरिरहेको उनी नजिकै आएर हेरिरहने ती शालिन महिला थिइन्– पूर्वयुवराज्ञी हिमानी शाह।
त्यसपछि केदारले हिमानीको दाहिने हातमा तारा (स्टार) को चित्र बनाइदिए। हिमानी खुसीले गदगद भइन्। हिमानीभन्दा बढी सायद केदार खुसी भए। यस्तो घटना जीवनमा आइपर्ला भन्ने केदारले सपनामा पनि सोचेका थिएनन्।
‘पूर्वयुवराज्ञी हिमानी शाहको दाहिने हातमा चित्र बनाइदिएको क्षण मेरो जीवनको कहिल्यै बिर्सन नसकिने क्षण हो,’ मुस्काउँदै केदार भन्छन्, ‘एउटा कार्यक्रममा मैले केटाकेटीको गालामा पेन्टिङ बनाइरहेको थिएँ। त्यो देखेर हिमानीले आफ्नो हातमा पेन्टिङ बनाइदिन आग्रह गर्नुभयो। मैले उनको हातमा रङ पोतेर ताराको चित्र बनाइदिएँ।’
.....
कोरोना महामारी सुरु हुनुभन्दा पहिले विभिन्न मेला, महोत्सवमा फेस पेन्टिङ गर्थे केदार। त्यो समय गुजारा चलाउनकै लागि फेस पेन्टिङ गरेका दाहाललाई अहिले भने मुहार चित्र (पोट्र्रेट) बनाउन भ्याइनभ्याइ छ। बिहान उठेदेखि साँझ नसुतेसम्म उनी चित्र बनाउनमै व्यस्त हुन्छन्।
आधुनिक चित्रकलाका ‘बादशाह’ भनेर चिनिने स्वर्गीय चित्रकार उत्तम नेपालीका ‘वास पेन्टिङ’ देखि आलंकारिक र ‘ड्रइङ’ (रेखाचित्र) देखि अमूर्त कलासम्मका भिन्नाभिन्नै विधाका काम नजिकैबाट नियालेका केदारको विशेष रुचि मुहार चित्रमा रह्यो। चित्रकार नेपाली उनलाई धेरै नै मनपर्ने कलाकार थिए।
‘अहिलेकाे कुरा गर्नुपर्दा मलाई कलाकार के के कर्माचार्य सरले बनाएका मुहार चित्र असाध्यै मन पर्छन्,’ केदार भन्छन्, ‘कोरोना महामारी फैलिएपछि देशभरि लकडाउन भयो। त्यतिबेला मैले आफूले गरिरहेकाे कामलाई अझै निखार्ने मौका पाएँ। आफूले गरेका काम सामाजिक सञ्जालमा राख्दै जाँदा काम मन पराउनेले मुहार चित्र बनाउन अर्डर दिन थाले। त्यो समय मैले काम र आम्दानी राम्रै गरेँ। मेरा लागि त्यो समय प्लस प्वाइन्ट भयो भनौं।’
भक्तपुर पलाँसेमा जन्मिएका केदारको बाल्यकाल भने एसोएस बालग्राम भक्तपुरमा बित्यो। सानैमा बुबाआमाको निधन भएपछि उनी दिदीसँगै बालग्राममा हुर्किए। उनको पढाइ यात्रा एसोएस हर्मन माइनर विद्यालय सानोठिमीबाट सुरु भयो।
एकान्तमा बस्न रुचाउने, एक्लै घुमफिर गर्न रुचाउने उनी भक्तपुर दरबार स्क्वायरतिर दिनहुँजसो टहलिँदै पुग्थे। उनी बस्ने ठाउँ र भक्तपुर दरबार स्क्वायरको खासै धेरै दुरी थिएन। त्यहाँ उनलाई ग्यालरीमा सजाएर राखिएका विभिन्न आकृतिले तान्थे।
ग्यालरीमा नेपाली हिमशृंखला, जातजातिका संस्कृति र परम्परा झल्काउने चित्र राखिएका हुन्थे। हिमाल, चौंरीगाई, गाउँघरका दृश्यले दाहाललाई अझै मोहित पार्थे। ‘ती चित्र देख्दा मलाई कसरी कोरिएका होलान्, कसले कोरेको होला भनेर उत्सुकता जागिरहन्थ्यो,’ उनी भन्छन्, ‘मैले पनि यस्तै चित्र कोर्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो। त्यहाँ देखेका सबै आकृतिलाई दिमागमा क्लिक गर्थें, त्यही सम्झेर कोर्न कोसिस पनि गर्थें।’
६ कक्षामा पढ्ने दाहाललाई दरबार स्क्वायरका ग्यालरीमा राखिएका रङ्गिबिरङ्गी कलाकृतिले यति मोहित पा¥यो कि दिनहुँको प्रयासले उनलाई चित्र कोर्न जान्ने बनाइ छाड्यो। उसो त उनको परिवारको चित्रकलासँग कुनै टाढाको सम्बन्ध पनि थिएन। न उनका दाजु चित्र कोर्थे, न दिदी। उनले आफ्ना वरिपरिका दृश्य हेरेरै आफूलाई चित्रकला क्षेत्रमा ढालेका थिए। त्यसपछि उनले पनि नेपाली परिवेश, हिमाल र दरबार स्क्वायरकै चित्र कोर्न थाले।
विद्यालयमा अतिरिक्त क्रियाकलापका कार्यक्रम भइरहन्थे। ‘त्यसमा पनि चित्रकला प्रतियोगिता भयो भने त म कहिल्यै पनि छुटाउँदिन थिएँ,’ उनी सम्झिन्छन्, ‘त्यसमा पनि मैले कोरेका चित्रले पुरस्कार पाउन थाले। त्यसले मलाई चित्र कोरिरहन थप हौसला प्रदान गर्याे।’
केदारले ९/१० कक्षा पढ्दा त पेन्टिङ नै बनाउन सुरु गरिसकेका थिए। उनले बनाएका ती पेन्टिङ विद्यालयमा शिक्षकशिक्षिकाले नै किनिदिन्थे।
‘मैले हिमाल, गाउँका दृश्य, बुढी आमाको मुहारको पेन्टिङ बनाउँथेँ,’ उनी अहिले रमाइलो मान्दै भन्छन्, ‘त्यतिबेला द्वन्द्वकालीन समय भएकाले शान्ति झल्काउने शीर्षकका चित्रमा बढी ध्यान दिइन्थ्यो।’
विद्यालयमा पेन्टिङ बेचेर पहिलोपटक १ हजार रुपैयाँ कमाएको केदाको मानसपटलमा अझै ताजा छ। विद्यालयमा पनि सानोतिनो ग्यालरी थियो। त्यहाँ विद्यार्थीहरूले बनाएका पेन्टिङ प्रदर्शनीमा विद्यालयले नै राख्ने गथ्र्यो। कहिलेकाहीँ विदेशीहरू घुम्दै आउँदा उनीहरूलाई मनपर्याे भने प्रदर्शनीबाट किनेर लैजाने गरेको उनको सम्झना छ।
यसबाट पनि थप प्रोत्साहन मिलेको उनी बताउँछन्। उनको चित्रप्रतिको लगाव देखेर विद्यालयमा शिक्षकले ‘राम्रो गरेका छौ, अझै राम्रो गर्नू’ भनेर प्रोत्साहित गरिरहन्थे। ‘त्यो समय सबैले चित्रकलाको महत्व पनि बुझिसकेका थिएनन्,’ उनी भन्छन्, ‘चित्रकलामा खासै कसैले ध्यान दिँदैनथे। मलाई चाहिँ विशेष रुचि भएकाले ललितकला पढ्छु भनेर सोचेको थिएँ।’
केदारले सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गरे। त्यसपछि उनी काठमाडौं लाजिम्पाटस्थित सिर्जना कलेज अफ फाइन आर्ट्समा भर्ना भए।
सिर्जनामा पढ्दा उनले सबै विधाका चित्र कोरे। कलेजमा उनका सातजना साथीको समूह थियो। त्यसमा पनि रमाइलो के थियो भने साथीहरू फरक–फरक विधामा चित्र कोर्थे। कसैले मिथिला चित्र बनाउँथे भने कसैले आफ्नो दिमागमा जे आउँछ त्यही बनाउँथे। केही साथीले समाजका कथा बोल्ने चित्र कोर्थे। तर, केदार भने मुहार चित्रमै धेरै ‘फोकस’ गर्थे।
‘ब्याचलर इन फाइन आर्ट्स’ (बिएफए) पूरा गरिसकेपछि केदार मास्टर्स पढ्न ललितकला क्याम्पसमा भर्ना भए। मास्टर्स (स्नातकोत्तर) मा उनले पोट्रेट (मुहार चित्र) विधा रोजे।
‘मुहार चित्रले समाजका कुनै पनि विषयवस्तु वा कथा बोल्दैन,’ उनी भन्छन्, ‘मुहारले भावमात्र देखाउन खोज्ने हो। तर, मलाई मान्छेको मुहार कोर्दा नै विशेष रमाइलो लाग्ने भएकाले यही रोजेँ।’
.....
पछिल्लो समय केदार व्यावसायिक चित्रकलामा होमिएका छन्। उनले रोजेको यो चित्रकला क्षेत्र पहिला रुचिको क्षेत्र थियो भने अहिले व्यावसायिक। उनले मुहार चित्रमात्रै कोर्छु भनेर लागेको लगभग आठ वर्ष भयो। यहाँसम्म आइपुग्दा उनले ३ सयभन्दा बढी पोट्र्रेट बनाइसकेका छन्। ‘पहिलोपटक मैले आफ्नै सानिमा र उहाँको छोराको पोट्र्रेट बनाएको थिएँ,’ उनी सम्झिन्छन्।
केदारले एउटा पोट्र्रेट बनाएको २५ हजार रुपैयाँ लिने गरेका छन्। जोडी बनाए भने ५० हजार लिन्छन्। उनले एउटा मुहार चित्र तयार गर्न चार दिन लगाउँछन्। तर, कुनै कुनै पूरा गर्न भने महिना दिन पनि लाग्ने उनी बताउँछन्।
‘अर्डरअनुसार काम गर्ने भएकाले उहाँहरूले जति समय दिनुहुन्छ, त्यति नै समयमा तयार गरेर दिनुपर्छ,’ उनी भन्छन्, ‘कसैले मलाई दुई दिनमै चाहिन्छ भन्नुभयो भने पनि दुई दिनमै दिन सक्छु। त्यसरी नै मेरो मेन्टालिटी बसिसकेको छ।’
पहिला–पहिला चित्र बनाएर जीवन धान्न सकिँदैन कि भन्ने लाग्थ्यो उनलाई। ‘अहिले त काम पनि भ्याइनभ्याइ छ। यसबाट जीविकोपार्जन गर्न सकिने रहेछ भन्ने लागेको छ,’ उनी थप्छन्,’ ‘चित्र बनाएर बेचेर एकजनाको परिवार सजिलैसँग चलाउन सकिन्छ।’
केदारले ‘लाइभ स्केच’ पनि बनाउँछन्। उनले लाइभ स्केच पनि १०/१५ वटा बनाइसकेका छन्। चर्चित चित्रकार मनुजबाबु मिश्र, किरण मानन्धर, विभिन्न मोडेललगायका लाइभ स्केच कोरेका छन्। उनले स्वर्गीय कलाकार उत्तम नेपालीको लाइभ चित्र कोरेका थिए। त्यो भने आफूले कहिल्यै नबिर्सिने काम गरेको उनको अनुभव छ।
लाइभ चित्र कोर्दा र फोटो हेरेर कोर्दाको अनुभव भने फरक छ केदारको। ‘लाइभ चित्र कोर्दा अलि गाह्रो हुन्छ, मान्छे चल्ने चलमलाउने हुन्छ। त्यसमा पनि क्याप्चर गर्न सक्नु ठूलो कुरा हो,’ उनी भन्छन्, ‘फोटो हेरेर त आफूले समय लिएर बनाउन पाइन्छ। कलर, लाइट केही परिवर्तन नहुने भएकाले सजिलो हुन्छ।’
....
नेपाली समाजले चित्रकलाबारे बुझ्न थालेको धेरै समय नभएको केदार बताउँछन्। कलाकै महत्व बुझेर पेन्टिङ किन्ने मान्छे कमै भएको उनको बुझाइ छ। ‘अहिले फेसनका रूपमा जन्मदिन, वैवाहिक वर्षगाँठजस्ता अवसरमा उपहार दिने चलन बढेको छ,’ उनी भन्छन्, ‘तर, एउटा पेन्टिङ बनाउन कलाकारले कति मिहिनेत र समय खर्चिन्छ भन्ने बुझ्न र सोहीअनुसार पारिश्रमिक पाउन त अझै केही समय पर्खिनु नै पर्ला। हाम्रो समाजमा बार्गेनिङ त राम्रैसँग गरिन्छ।’
उनले अमेरिकी राजदूतको आमाबुबाको पनि चित्र कोरेका छन्। त्यस चित्रको उनले १ लाख रुपैयाँ लिएका थिए। उनले आफ्ना विदेशमा भएका साथी वा उनका आमाबुबाका पनि मुहार चित्र कोरेका छन्। उनीहरूको चित्र बनाउँदा उनको काम देखेर मन पराउनेले विदेशबाटै पनि अर्डर दिन्छन्।
विदेशीले भने राम्रो पैसा दिएर मुहार चित्र कोर्न लगाउँछन्। विदेशीको मुहारचित्र बनाएवापत केदारले एकदेखि डेढ लाखसम्म लिने गरेका छन्।
चित्रको पनि साइजअनुसार पैसा लाग्ने उनी बताउँछन्। त्यसमा रङ कस्तो प्रयोग गरिएको छ भन्ने कुराले अर्थ राख्छ। उनले सबैभन्दा बढी प्रयोग गर्ने रङ एक्रेलिक हो। छिटो सुक्ने भएकाले उनलाई यो रङ प्रयोग सजिलो लाग्छ। तेल रङ पनि प्रयोगका लागि धेरै सजिलो हुने उनी बताउँछन्। तर, सुक्न पनि समय लाग्ने र मान्छेले काम पनि छिटो माग्ने हुँदा त्यसको प्रयोग कमै गर्छन्।
चित्रकलामा लाग्नेको सबैभन्दा ठूलो लगानी भनेको पढाइ र सिकाइका लागि खर्चने समय भएको केदार बताउँछन्।
....
केदारले एकल चित्रकला प्रदर्शनी भने गरेका छैनन्। २०७२ सालको भूकम्पको समयमा भूकम्पपीडित बालबालिकाका लागि ललितकलामा भएको सामूहिक प्रदर्शनीमा भाग लिएका थिए। उनले सामुहिक प्रदर्शनी भने धेरै गरेका छन्।
उनले बालकथाका लागि पनि चित्रहरू कोर्ने गरेका छन्। ‘रुम टु रिड’ संस्थासँग आबद्ध भएर उनले काम गरेका छन्।
व्यावसायिक चित्रकलामा लागेका केदारले सबैखाले पेन्टिङ बनाउँछन्। तर, उनको रुचि मुहारचित्रमा छ। कसैले उनलाई पाटन दरबारको पेन्टिङ चाहियो भनेर अर्डर गरे भने उनले त्यो बनाएर दिन्छन्। त्यस्तो पेन्टिङ बनाएको भने ७० देखि ८० हजार रुपैयाँ लिने गर्छन्। त्यस्ता चित्रमा अलि धेरै समय लिएर काम गर्नुपर्ने हुँदा समय र मिहिनेत धेरै लाग्ने उनको भनाइ छ। ऐतिहासिक पेन्टिङहरू आलिसान घर बनाएका, व्यापारिक घरानाबाट र विदेशमा बस्ने नेपालीले अर्डर दिने उनी बताउँछन्।
पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारबाट केदारलाई जन्मदिन वा अन्य विशेष अवसरमा ‘आर्ट एन्ड क्राफ्ट डिपार्टमेन्ट’ भनेर कामहरू आउँछ।
.....
उनको विचारमा कला भनेको आफ्नो मनको अभिव्यक्ति क्यानभासमा उतार्नु हो। मान्छेले निर्वाधरूपमा आफ्ना मनका अभिव्यक्ति प्रस्तुत गर्न सक्नु नै कला हो। उनलाई चित्र कोर्न कहिल्यै झन्झटिलो लाग्दैन। उनी आफ्नो कामबाट एकदमै सन्तुष्ट छन्। कलाक्षेत्रबाट बाहिर निस्किएर अरू कुनै पेसा अँगाल्ने उनको कुनै योजना छैन। सकुन्जेल चित्र नै कोरेर बाँच्ने उनी बताउँछन्।
‘कला, भनेको कहिल्यै नटुंगिने यात्रा हो जस्तो लाग्छ मलाई। एउटा कलाकार आफ्नो कला नदेखाइ बस्नै सक्दैन,’ उनी भन्छन्, ‘कला र कलाकारको कुनै आयु हुँदैन। सास चल्दासम्म हात पनि चलिरहन्छ।’