मेरो जन्म नै हिमालको काखमा भएको हो। हिमालमुनिको गाउँ सोलुखुम्बुमा हुर्किएर सन् १९९८ देखि हिमालकै पेसामा काम सुरु गरेर आफ्नो परिवारलाई समेत यसैमा समावेश गरेको हुँ। हिमाली क्षेत्रलाई आधार मानेर ३५ वर्षदेखि पारिवारिक व्यापार गर्दै आएको छु। विदेशीलाई हिमाल चढाएर देशका लागि डलर ल्याउने काम गरिरहेको छु। हिमाली पर्यटनलाई विश्वमा चिनाउन यती ग्रुपको ठूलो योगदान छ भन्ने दाबी गर्दा फरक पर्दैन। हिमाललाई मैले मेरो दोस्रो घरको रूपमा लिएको छु।
हिमालमै हुर्किएको हुनाले कम्पनी चलाउनुभन्दा पहिला गाइडको काम गर्दै हिमाल चढिसकेको थिए।ँ पुख्र्यौली सम्पत्तिबाट नभई शून्यबाट व्यवसाय सुरु गरेको व्यक्ति भएकाले कम्पनी चलाउन सुरु गरेपछि हिमाल चढ्ने रहर थाँति राख्दै आएको थिएँ।
हिमालसँगै सान्दर्भिक व्यवसाय गरिरहेको र हिमालकै काखमा जन्मिएकाले हिमाल मेरो मुटुमा छ। हिमालबिना बाँच्नै सकिँदैन। त्यसैले मेरो जीवनमा जति पीडा, बाधा अडचन आए पनि हिमाली क्षेत्रमै लगानी गर्ने र विकासका लागि सहयोग गर्ने चाहना कहिल्यै पनि मरेको छैन।
भूकम्पले पहिलो ‘सेभेन समिटर नेपाली’ बनायो
उमेर ढल्दै गएका कारण हिमाल चढ्ने सपना र रहर बिस्तारै मरिसकेको थियो। २०७२ सालमा भूकम्प आउँदा गैरीधारामा रहेको कार्यालयमा रहेका बेला झ्यालबाट हाम फाल्दा ढुंगामाथि बज्रिन पुगेँ र मेरो ढाडमा समस्या आयो।
६ महिनासम्म आराम गर्दा पनि ठिक नभएपछि हिमाल आरोहण गर्ने साथीहरूले हिमाल चढ्यो भने ठिक हुन्छ भन्ने सुझाव दिए। त्यही सुझावका आधारमा अफ्रिकाको तान्जानियामा रहेको हिमाल आरोहण गर्न सफल भएँ।
आरोहण गरेर फर्किएपछि साँच्चिकै मेरो ढाडको समस्या समाधान भएपछि एकपछि अर्को आरोहण गरिरहँदा ६ वटा अग्ला हिमाल आरोहण गरिसकेपछि सगरमाथा किन बाँकी राख्ने भन्ने कुरा आयो। यही वर्ष सगरमाथा आरोहण सुरु भएको ७० वर्ष भएकाले पनि योपटक चढेको हुँ।
पासाङल्हामुले आरोहण गरेको ३० वर्ष पुग्दा चढ्नु संयोग भयो
२०८० सालमा पासाङल्हामुले सगरमाथा आरोहण गरेको ३० वर्षमात्र पुगेन, हामीलाई छाडेको पनि त्यति नै वर्ष भयो। यही बेला मैले पनि सगरमाथा चढेँ। तर, यो संयोग हो। कुनै योजनाअनुसार आरोहण नगरेको भए पनि संयोग राम्रो भयो। २०५० सालमा सगरमाथा आरोहणका लागि क्याम्प–२ सम्म पुगेर दुईजनाको सल्लाहअनुसार नै म फर्किएको हुँ।
पासाङल्हामुलाई सगरमाथामा गुमाएपछि पनि हिमाल चढ्ने रहर भने मरेको थिएन। तर, कार्य व्यस्तताका कारण समय मिलाउन पाइरहेको थिइनँ। अहिले पनि भूकम्पले मेरो ढाडमा समस्या नआएको र साथीहरूले सुझाव नदिएको भए आरोहण गर्दिनँ थिएँ होला।
खुम्बु क्षेत्रको जीवनस्तर शेर्पाकै कारण वृद्धि भएको हो
खुम्बु क्षेत्रका मानिसको जीवनस्तर सुधार्न शेर्पाहरूको कम्पनीको ठूलो भूमिका छ। राज्यले हिजो पनि हेरेको थिएन र अहिलेसम्म पनि हेरेको छैन। तर, हामी आफ्नै खुट्टामा उभिएर सगरमाथा क्षेत्रमा हजारौं पर्यटक ल्याएर राज्यको ढुकुटीमा अर्बौं रुपैयाँ पठाइरहेका छौं।
यसको प्रमुख भूमिका शेर्पाहरूकै छ। शेर्पाको सहयोगबिना सगरमाथा चढ्नै सक्दैन। तै पनि सरकारले शेर्पाहरूलाई हेर्ने दृष्टिकोण कहिल्यै पनि परिवर्तन हुन सकेको छैन।
अहिले जति खुम्बु क्षेत्रमा जति विकास भएको छ, शेर्पाकै माध्यमबाट विदेशीले सहयोग गरिरहेका छन्। सरकारले कहिल्यै पनि खुम्बु क्षेत्रको विकास गर्न लागेको देखिँदैन।
‘रिटायर’ को स्थितिमा छु
अहिलेसम्म जति गरेको छु, हिमालकै लागि गरेको हुँ। मेरो परिवारको अधिकांश सदस्य हिमाली क्षेत्रमै गुमाएँ। दाइ, श्रीमती र दुईजना भाइ हिमालमै गुमाएको छु। तै पनि हिमाली क्षेत्रमा लगानी गर्ने र त्यो क्षेत्रको विकासका लागि टेवा पु¥याउन एक कदम पनि पाइला पछाडि धकेलेको थिइन। तर, जति गरे पनि सरकारले शेर्पा र त्यसभित्र पनि यती ग्रुपलाई हेर्ने दृष्टिकोण राम्रो भएको पाइँदैन।
सरकारले वर्षेनि दिने तक्मामा समेत शेर्पाहरूलाई वञ्चित गरिरहेको पाइन्छ। कृषि, उद्योगसहित हरेक क्षेत्रमा रहेका व्यक्तिलाई तक्मा दिइरहँदा पर्वतारोहणजस्तो पर्यटनमा मुख्य भूमिका निर्वाह गर्ने क्षेत्रलाई एउटा तक्मासमेत दिन हिच्किचाउने मुलुकमा नयाँ लगानी गर्ने जोसजाँगर आउादैन। अब बिस्तारै नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्दै ‘रिटायर’ हुने सोच बनाएको छु।
२५ सयभन्दा बढीलाई रोजगारी
यती ग्रुपले हाल आधा दर्जनभन्दा बढी क्षेत्रमा लगानी विस्तार गरिरहेको छ। ती क्षेत्रमा २ हजार ५ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।
हिमाली क्षेत्रमा मात्र १७ वटा होटल तथा रिसोर्ट सञ्चालन गरेका छाैं। यती ग्रुपअन्तर्गत यती एयरलाइन्स र तारा एयर सञ्चालनमा छन्।
(शेर्पा यती ग्रुपका कार्यकारी अध्यक्ष हुन्।)