काठमाडौं। केही दिनअघि काठमाडौं महानरपालिकाले पार्किङ शुल्क निर्धारण गर्याे।
जनगुनासो सम्बोधन गर्ने भन्दै महानगरले पार्किङ शुल्क निर्धारण गरेको महानगरकी उपमेयर सुनिता डंगोलले जानकारी दिइन्।
डंगोलका अनुसार महानगरभित्र दुई पाङग्रे सवारीसाधनले आधा घन्टाको पार्किङ शुल्क भने १५ रुपैयाँ तिर्नुपर्ने हुन्छ।
त्यस्तै एक घन्टाको २५ रुपैयाँ र एक घन्टाभन्दा बढी समय पार्किङ गर्दा हरेक १५ मिनेटमा ५÷५ रुपैयाँ थप हुने महानगरले जनाएको छ।
त्यसैगरी महानगरले चार पाङग्रे गाडीका लागि आधा घन्टाको ४० रुपैयाँ र एक घन्टाको ७५ रुपैयाँ लाग्छ। त्यसपछि पनि थप हुँदै गयो भने हरेक १५ मिनेटको १५ रुपैयाँ लाग्ने शुल्क निर्धारण भएको हो।
महानगरले पार्किङ व्यवस्थापन गर्ने प्रयास गरिरहँदा वर्षौंदेखि पार्किङ ठेक्का लिएको ‘ह्विल्स ट्रुली योर्स’ कम्पनीले भने सम्झौताअनुसार पैसा उठाउनेबाहेक अरू कुनै पनि काम गरेको छैन।
करिब पाँच वर्षअघि २०७५ माघ ८ गते ह्विल्स ट्रुली योर्स कम्पनी र काठमाडौं महानगरपालिकाबीच स्मार्ट पार्किङ सम्झौता भएको थियो।
कम्पनीले सम्झौताअनुसार सेवाग्राहीबाट पैसा उठाए पनि सम्झौताका अन्य बुँदा भने वर्षांैदेखि बेवास्ता गरिरहेको छ।
सम्झौताको ५औं बुँदामा दोस्रो पक्ष (ठेकेदार कम्पनी) ले पार्किङ कार्य, पार्किङ क्षेत्रको अग्रिम बुकिङ तथा पार्किङ शुल्क भुक्तानीका लागि प्रविधिको प्रयोग गरी आधुनिक पार्किङ प्रणाली अवलम्बन गरी व्यवस्थापन गर्नुपर्ने छ।
कम्पनीले अग्रिम बुकिङका लागि एप बनाए पनि त्यसबाट स्वचालित पार्किङ बुकिङ गर्न मिल्दैन। बुकिङका लागि एपमा दिइएको नम्बरमा फोन गर्नुपर्ने बाध्यता छ भने सामान्यतया फोन उठ्दैन।
त्यस्तै पार्किङमा खाली ठाउँ भए वा नभएको देखाउने डिजिटल होर्डिङ सबै बिग्रिएका छन्।
त्यस्तै सम्झौताको १३औं बुँदामा टुटफुट, तोडफोड, चोरी भए ठेकेदारले नै बेहोर्नुपर्ने भनिएको छ भने कम्पनीले त्यसको ठाडो उल्लंघन गर्दै बोर्ड नै राखेर ‘पार्क एट योर औन रिस्क’ लेखेर राखेको छ।
त्यस्तै सबैभन्दा महत्वपूर्ण १६औं बुँदा पनि महानगरले उल्लंघन गरेको छ।
‘दोस्रो पक्ष (ठेकेदार कम्पनी) ले पार्किङ क्षेत्रमा भइरहेका गतिविधिलाई प्रथम पक्ष (महानगर) ले समेत जानकारी पाउन सक्ने गरी प्रविधिमार्फत महानगरसँग लिंक गर्नुपर्ने छ,’ उक्त बुँदामा छ।
यो सम्झौता पनि ठेकेदारले लत्याएको छ। महानगरले रियलटाइममा कति पार्किङ भयो र कति शुल्क संकलन भयो भन्ने थाहा पाउने कुनै आधार छैन।
तीन वर्षसम्म संकलन भएको रकमको २० प्रतिशत र त्यसपछि ३० प्रतिशत महानगरले पाउने सम्झौता भए पनि ठेकेदारले जति दियो महानगर त्यति नै हात थाप्न बाध्य छ।
ठेकेदार कम्पनीले अधिकांश सम्झौता उल्लंघन गरे पनि महानगर भने मौन छ। सम्झौताका सर्तबमोजिम कार्य नभए उचित समय दिई दोस्रो पक्षलाई सम्झौताको सर्त पालना गर्न लगाउन सक्ने र त्यसो नभए प्रथम पक्षले करारनामा भंग गर्न सक्ने भए पनि यसबारे महानगरले हालसम्म कुनै कदम चालेको छैन।
कम्पनीले सम्झौताअनुसार नै काम गरिरहेको पार्किङ ठेकेदार कम्पनी ह्विल्स ट्रुली योर्सका सञ्चालक शैलेन्द्र कुँवरको दाबी छ।
‘होडिङ बोर्ड महानगरले इन्टरनेटको तार काट्दा बिग्रिएको हो। पार्किङको रियलटाइम स्थिति हेर्ने डिभाइस पनि जोडेका छौं,’ कुँवरले क्यापिटल नेपालसँग भने, ‘महानगरका कार्यालयहरू स्थानान्तरण गर्दा समस्या आयो होला।’
त्यस्तै ती पार्किङमा सर्वसाधारणका सवारीसाधन धेरै आउने–जाने हुनाले एपबाट बुकिङ गर्ने व्यवस्था मिलाउन नसकिएको उनले बताए।
पार्किङको रियलटाइम स्थिति हेर्न मिल्ने डिभाइस केही समयअघि जडान भएको तर हाल सञ्चालनमा नरहेको काठमाडौं महानगरपालिका सार्वजनिक–निजी साझेदारी इकाई प्रमुख महेश काफ्लेले जानकारी दिए।
‘हामीले डिभाइस जडान गर्न भनिसकेका छौं। छिट्टै जडान हुन्छ होला,’ उनले भने।
पार्किङ ठेकदारले सम्झौताअनुसार नै काम गरिरहेको महानगरका प्रवक्ता नवीन मानन्धर बताउँछन्।
‘हामीले बुझ्दा सम्झौताअनुसार नै काम गरिरहेको भनेका छन्। यदि भएको छैन भने सम्झौताअनुसार नै काम लगाउँछौं,’ उनले भने।