काठमाडौं। निर्माण व्यवसायीको साथमा चेम्बर पनि रहेको नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ पूर्वउपाध्यक्ष कमलेश अग्रवालले बताएका छन्। साथै, सरकारले पनि व्यवसायीको माग सम्बोधन गर्नुपर्ने बताएका छन्।
नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष एवं निर्माण व्यवसायी महासंघका सल्लाहकार वीरेन्द्रराज पाण्डेले निर्माण क्षेत्रमा आवश्यकताअनुसार खर्च नभएको बताएका छ्न्।
निर्माण क्षेत्रले करिब १ कराेड ७० लाख अमेरिकी डलर खर्च गर्नुपर्नेमा २० देखि ४० लाख डलरमात्रै निर्माण क्षेत्रमा खर्च भएको उनको भनाइ छ। साथै, कच्चापदार्थको मूल्यवृद्धिले निर्माण क्षेत्रमा समस्या भएको उनको भनाइ छ।
महासंघका पूर्वअध्यक्ष विष्णु भाइले भूकम्प, नाकाबन्दी, कोरोनालगायत समयमा भएका समस्या निर्माण व्यवसायीका लागि क्यान्सरजस्तो भएर बसेको बताएका छन्। सरकारले एकपटक एकमुष्ट म्याद थप गरेर देश बनाउने अवसर निर्माण व्यवसायीलाई दिनुपर्ने उनको भनाइ छ।
पूर्वअध्यक्ष एवं महासंघका सल्लाहकार यक्षराज कार्कीले तीन प्रकारका व्यवसायी रहेको बताए। एकथरीलाई समस्याले छुँदै नछोएको, अर्कोलाई समस्याले पिरोलिरहेको र अर्कोलाई समस्या भएकोमा वास्तै नभएको उनले बताए।
हाल ४ सय ५२ व्यवसायी कालोसूचीमा छन्। ‘ती आयोजना ठेक्का दिने कति कर्मचारीलाई स्पष्टीकरण सोधियो? गल्ती ठेक्का लिने हाम्रो होइन, ठेक्का दिने सरकारको हो। उनीहरूको जवाफदेहिता चाहिँदैन?,’ उनले भने, ‘निर्माण व्यवसाय गरेर अहिले माननीय भएकाहरूले व्यवसायीका लागि केही बोल्दैनन्, तर फेरि महासंघमा सल्लाहकार किन राख्ने?’
आन्दोलनबिना व्यवसायीको माग सम्बोधन नहुने उनको तर्क छ। त्यसका लागि तयारी गर्न महासंघलाई उनले आग्रह गरेका छन्।