वीरगन्ज। पर्सामा आर्थिक वर्ष २०७९/८० मा नयाँ उद्योग दर्तामा कमी आएको छ।
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा १ हजार ८९ नयाँ उद्योग दर्ता भएको छ। जबकि, आर्थिक वर्ष २०७८/८९ मा १ हजार ४ सय ८० उद्योग दर्ता भएको थियो।
आर्थिक वर्ष २०७९/८० मा नयाँ उद्योग दर्तामा कमी आउँदा उद्योगको लगतकट्टा गराउनेको संख्या भने बढेको छ। सो कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा १ सय ७७ वटा उद्योगको लगतकट्टा गरिएको छ भने अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा एक सय ५२ उद्योगको लगतकट्टा भएको थियो।
विश्वव्यापीरूपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायतका कारणले नयाँ उद्योग दर्तामा कमी आएको घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख धनञ्जयकुमार सिंहले बताए।
आर्थिक वर्ष २०७९/८० मा १ हजार २ सय ७५ उद्योग नवीकरण, १ सय ६५ वटाको पुँजी वृद्धि, ३३ को ठाउँसारी, ८४ को नामसारी गरिएको सो कार्यालय जनाएको छ।
ती शीर्षकबाट आर्थिक वर्ष २०७९/८० मा १ करोड ६ लाख ३९ हजार दुई सय ५० रुपैयाँ राजस्व संकलन भएको प्रमुख सिंहले जानकारी दिए।
उक्त आवमा ६ सय ५४ पुरुष र ४ सय ५० महिला गरी १ हजार १ सय ४ उद्यमी थपिएका छन् भने ३ हजार २ सय ४७ पुरुष र १ हजार २ सय १३ महिला गरी ४ हजार ४ सय ६० जनाले रोजगारी पाएको प्रमुख सिंहको भनाइ छ।
आर्थिक वर्ष २०७९/८० मा उद्यमी सिर्जना तथा सीप विकास, स्केलअप र भगत सर्वजित तालिम कार्यक्रमअन्तर्गत ३ सय ६२ पुरुष र ९८ महिला गरी ४ सय ६० जनालाई सीपमूलक तालिम दिइएको प्रमुख सिंहले बताए।
यससँगै पर्सा जिल्लामा पछिल्लो छ वर्षको अवधिमा सात हजार दुई नयाँ उद्योग थपिएका छन्। गत आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७९/८० सम्ममा सेवामूलक उद्योग, कृषि तथा वन्यजन्य, उत्पादन उद्योग र पर्यटन गरी ७ हजार दुई नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय वीरगन्ज पर्साले जनाएको छ।
गत आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७९/८० सम्मको अवधिमा नयाँ उद्योग दर्ता, उद्योगको नवीरकण र उद्योगको लगतकट्टालगायतका शीर्षकबाट ६ करोड ९७ लाख ९२ हजार ७ सय ८० रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख सिंहले बताए।